कुटोकोदालोका भरमा पहिरो पन्छ्याइँदै, घण्टौंदेखि यात्रु अलपत्र

पाल्पा — अविरल वर्षाले माथिल्लो भागबाट लेदो खस्न रोकिएको छैन । घण्टौंदेखि यात्रु अलपत्र छन् । सवारी साधनको लाइन लागेको छ । तर राजमार्ग खुलाउन सडक डिभिजनको एक्स्काभेटर भने आएको छैन ।

सिद्धार्थ राजमार्गअन्तर्गत आर्यभन्ज्याङ्–राम्दी सडकको माथागढी गाउँपालिका–१, चिदीपानी धेरैनीमा खसेको पहिरो पन्छाउन एक्स्काभेटर नआउँदा यात्रुहरूको पर्खाइ लम्बिएको छ । प्रहरी र सशस्त्र प्रहरी बलले कुटोकोदालोले राजमार्गको पहिरो सफा गर्ने प्रयास गर्दैछन् । पानी पर्न रोकिएको छैन । माथिल्लो भागबाट गेग्रान आउन रोकिने कुरै भएन । स्थानीय तहले जथाभावी खन्ने सडकले धेरैस्थानमा राजमार्गमा क्षति पुगेको छ । वातावरणीय अध्ययन, परीक्षणबिना नै खनिएका सडकका कारण गेग्रान, लेदो खसेर समस्या आएको हो ।

‘हातले फाल्न नसकिने नत्र हामी पनि जाने थियौं,’ तीन घण्टादेखि अलपत्र यात्रु कपिल न्यौपानेले भने, ‘यसरी फालेर त दिनभर पनि सडक खुल्दैन ।’ राजमार्ग शनिबार बिहानैदेखि बन्द भएको छ । शुक्रबार पनि पानी परेर सडक बन्द थियो । यात्रुले सडक डिभिजनले एक्स्काभेटर पठाउन ढिलाइ गर्दा समस्या खेप्नु परेको जानकारी दिए ।

स्याङ्जाबाट बुटवल हिँडेका दीपक बस्याल चार घण्टादेखि सडकमै रोकिएको बताए । ‘बिहानैदेखि सवारी साधन चल्न सकेन,’ उनले भने, ‘अहिलेसम्म अलपत्र परियो ।’ वर्षायाममा सवारी साधन सुरु गर्न विपद् व्यवस्थापन समितिको बैठक बस्छ । स्थानीय तहले पनि सतर्कता अपनाउन बैठकमा निर्णय हुन्छ । तर विपद् हुन्छ त्यसबेलामा कोही तात्दैन । सडक डिभिजनले डोजर पठाएपछि मात्र सडक खुलाउने प्रयास हुन्छ ।

सडक डिभिजन प्रमुख प्रदीप निरौलाले तीन वटा एक्स्काभेटर तीनतिर काम गर्दै गरेकाले राजमार्गमा पुग्न ढिलाइ भएको बताए । ‘जतासुकै पहिरो खसेको छ,’ उनले भने, ‘सबैतिर खुलाउन हिँड्न पर्यो । स्थानीय तहले कुनै सहयोग गरेका छैनन् ।’ उनका अनुसार आर्यभन्ज्याङमा रहेको एक्स्काभेटर भित्री सडकमा पन्छाउन शुक्रबार गएको फर्किने क्रममा छ ।

अर्को एक्स्काभेटर तानसेन–तम्घास सडकको ढुंगाखानीमा सडक खुलाउन काम गरिरहेको छ । सानो भएकाले एक्स्काभेटरले काम गर्न नसकेको सडक डिभिजन कार्यालयले जनाएको छ । दोभानदेखि सिद्धबाबासम्मको क्षेत्र सुरुङमार्गको काम लिएको चाइनिज कम्पनीले हेर्दै आएको छ । दोभानदेखि बर्तुङसम्मका क्षेत्रमा अर्को एक्स्काभेटर खटाइएको निरौलाले बताए ।





error: Content is protected !!