असारे विकासको चटारो, अनुमगनको धपेडी

रुकुम पश्चिम — असार महिना खासगरी किसानले मानो रोपेर मुरी फलाउने मास । तर यहाँ चाप किसानलाई मात्रै छैन, चालु आर्थिक वर्षका लागि विनियोजित बजेट सक्ने चटारो धान रोप्न खेत पसेका रोपारलाई भन्दा धेरै छ । एकातिर निर्माणका काम तारन्तार भइरहेका छन् भने अर्कोतिर विभिन्न बहानामा ती योजना र आयोजना अनुगमन गर्नेहरुलाई पनि यतिबेला भ्याईनभ्याई छ ।
गत बिहिबार प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन ईकाई सल्यान–रुकुम पश्चिमको आयोजनामा यस परियोजना अन्तरगत चौरजहारी र मुसिकोट नगरपालिका तथा सानीभेरी र त्रिवेणी गाउापालिकाका विभिन्न स्थानमा रहेका कृषि सम्बन्धी योजनाहरुको अनुमगन सम्पन्न भयो । यसमा जिल्ला समन्वय समिति र प्रमुख जिल्ला अधिकारी त पुगे नै सँगसँगै अरु सरोकारवालासमेतको सहभागिता रह्यो ।
अच्चम्म त के भयो भने कृषिसँग सम्बन्धित अनुमगनमा प्रजिअसँग जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरीका प्रमुख र अनुसन्धानका प्रमुखहरु दलबल सहित किसानका खेत र गराहरुमा पसे । करिब ३५ जनाको रंगीविरंगी डप्फा किसानको खेतबारीमा पसेपछि आफूहरु अलमल परेको सानीभेरी–९ हासिबाङका किसान तिलक डाँगीले बताए । ‘कृषिमा हामीले पाएको सहयोग र त्यसको नतिजाको अनुगमन गर्न सरहरु आउने कुरा त थाहा थियो । तर यति धेरैजना आउदाँ भने अच्चम्म लाग्योु उनले भने ।
यसरी दलबलसहित अनुगमन गर्ने आफ्नो तयारी नभएको भएपनि अनपेक्षित रुपमा संख्या बढेको परियोजनाका प्रमुख श्रीकृष्ण न्यौपानेले बताए । उनले भने, ‘हामीले सरोकारवालालाई मात्रै सहभागिता गराएर चुस्त अनुगमन गर्ने भनेका थियौ ।ु
यसरी अनुगमनमा गएकाले आफ्नो तरिकाले हेर्ने र फर्किने गरेका कारण को, कहाँबाट कसरी सहभागी भयो र अनुमगनको कार्यक्रममा उसको भूमिका के रह्यो भन्ने विषयलाई पनि ध्यान दिईन्न । धेरैले अनुमगनमा जाने र आउने मात्रै गरेको पाईन्छ ।
यो त एउटा प्रतिनिधि घटना हो । यतिबेला एकातिर चालू आर्थिक वर्षभित्र जसरी पनि काम सकेर भुक्तानी लिने भनेर विकासका काम भैरहेका छन् भने, अर्कोतर्फ ती योजना र आयोजनाको अनुगमन पनि जोडतोडले भैरहेको छ । मुसीकोट नगरपालिकाका ईन्जिनियर पहल पुनले नगरपलिकाले तय गरेका योजना तथा कार्यक्रम समयमै सम्पन्न गर्ने प्रयास भैरहेको भएपनि पछि थपिने बजेटका कारण असारे विकास बढेको बताए । उनले भने, ‘विभिन्न शक्ति र पहुँचका आधारमा आर्थिक बर्षको अन्त्यमा बजेट आउँछ र हामीलाई नापजाँच, अनुगमन र भुक्तानी गर्ने हतारो हुन्छ ।
असार मसान्तमा सक्नैपर्ने हतारोका कारण काममा जुटेका स्थानीय उपभोक्ता र मजदुर । तस्बिर स् महेश केसीरकान्तिपुर
ईन्जिनियर पुनका अनुसार गत जेठ २७ गते मात्रै नगरपालिकालाई प्रदेशबाट ४३ लाख बजेट असार मसान्तमा सक्नेगरी आयो । यो बजेटबाट नगरपालिकाको १, ७, ११ र १४ वडाका सडकमा खाल्डा पुर्ने काम भैरहेको उनको भनाई छ । यस्ता आयोजनाहरुको एकातिर काम हुँदै गरेको र अर्कोतिर सम्झौता र भुक्तानीको प्रक्रिया समेत पनि अघि बढ्छ । यसले बजेट परिचालन गरेर परिणाम निकाल्ने भन्दा पनि फगत बजेट सक्नेमा ध्यान जाने गरेको छ । बजेट आईहालेपछि जसरी पनि सक्नुपर्छ भन्ने मानसिकताका कारण असारे विकास मौलाउने गरेको छ ।
उता चौरजहारी नगरपालिकामा पनि प्रदेश सरकारले जेठको अन्तिमतिर मात्रै १ करोड ८० लाख पैसा पठाएपछि यतिबेला कामको चटारो बढेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालकाअनुसार बजेट अभावमा रोकिएका कामहरु यो रकमबाट सुचारु भएको भएपनि यस वर्षको अन्त्यमा बजेट आउने कुरा राम्रो नभएको बताए ।
यसबाहेक जिल्लाका ६ वटै स्थानीय तहका विभिन्न स्थानमा अहिले धमाधम विकासका कामहरु भैरहेका छन् । असारे झरी माझ पनि काम गरिरहेका दृश्य यत्रतत्र देख्निछन् ।
अहिले स्थानीय तहका कार्यालयमा पुग्ने हो भने, गाउँमा योजना सम्पन्न गरेर एक हातमा योजनाको स्टमेट तयार गर्ने र सम्झौता गर्ने कागजात अनि अर्को हातमा भुक्तानीका कागजात बोकेर लाईन लागेका अनौठा दृश्य समेत देख्न सकिन्छ । आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीले भने, ‘हाम्रो नगरपालिकामा यस्तो काम एकदन न्युन भैरहेको छ । केही प्राविधिक हिसाबले सम्झौता गर्न छुटेका अथवा केही प्रक्रिया नपुगेकाको हकमा यस्तो अवस्था छैन । तर पछिल्लोपल्ट थपिएर आएको बजेट कार्यन्वयनमा भने यस्तो हुनसक्छ । यो पनि वर्षेनी कम हुँदै गईरहेको छ ।ु
वर्षभरी प्राविधिकलाई काम दिईराख्ने हो भने योजनाको कार्यान्वयनको अवस्था राम्रो हुने बताउँदै मुसिकोटका ईन्जिनियर पुनले अरुबेला योजना कार्यन्वयनको अवस्था कमजोर हुने र असार लागेपछि प्राविधिक जाँचपासको चाप पर्ने भएका कारण योजनामा प्रभावकारिता आउन नसकेको स्वीकारे ।
कृषिसम्बन्धी अनुगमन गर्न पुगेकाहरुले प्रयोग गरेका सवारी । तस्बिर स् महेश केसीरकान्तिपुर
स्थानीय सरकार सञ्चालन ऐनले हरेक स्थानीय तहमा उपाध्यक्षरउप–प्रमुखको संयोजकत्वमा विभिन्न योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गरी सोको प्रतिवेदन बैठकमा पेस गर्ने भन्ने व्यवस्था गरेको छ । यसैमा रहेर आफुहरुले वर्षभरी अनुमगन गर्ने मुसिकोटका उप–प्रमुख विमलकुमार पुनले बताए । आफूहरुले गर्ने अनुमगन प्रभावकारी हुने र यसले नगरपालिकाले कार्यान्वयनमा गर्ने योजना तथा कार्यक्रममा प्रभावकारिता आईरहेको उनले दाबी गरे ।
सुसाशन प्रवर्द्धन तथा सञ्चालन कार्यविधि–२०७४ ले कुनै पनि योजना तथा कार्यक्रमको अनुमगन गर्न तेस्रो पक्षको सहभागिता अनिवार्य गरेको छ । तर तेस्रो पक्षको सहभागिता गराउने विषयमा भने ध्यान नदिएको स्विकार्दै चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीले अगामी दिनमा तेस्रो पक्षको सहभागिता गराउने कुरामा लाग्ने जनाए । उनले भने, ‘हाम्रा योजना तथा कार्यक्रमको अनुमगन त नियमानुसार भैरहेको छ । तर प्रदेश र संघका आयोजना तथा कार्यक्रमको अनुमगन भने प्रभावकारी हुन सकेको छैन । जाने हेर्ने मात्रै भएको छ । यसबाहेक अनुगमनपछि त्यसको प्रतिवेदन र अरु जानकारी भने हामीसम्म आईपुग्दैन ।
सरकारले योजना तथा कार्यक्रमको प्रभावकारी कार्यन्वयन गरेर समयमै सक्ने र त्यसको सुशासनको पाटोलाई पनि प्रभावकारी बनाउने कुरामा जोड दिनुपर्ने रुकुम पश्चिमका सुशासन विषयका जानकार गोकर्ण खड्का बताउँछन् । ‘नाम मात्रको विकास र नामा मात्रको अनुमगनले केही अर्थ राख्दैन । दुवै कुरा प्रभावकारी हुन जरुरी छु उनले भने ।
जिल्लाका विभिन्न योजना तथा कार्यक्रमको अनुमगनको जिम्मेवारीमा रहेको जिल्ला समन्वय समितिका पदाधिकारी एवम् कर्मचारीहरुलाई पनि यतिबेला अनुमगनको कामले भ्याईनभ्याई हुन्छ । प्राय अनुमगनका कार्यक्रममा समन्वयका प्रमुख, उप–प्रमुख सँगै समन्वय अधिकारी र कार्यालयका अरु कर्मचारी समेत हुल बाँधेर जाने गरेका छन् ।रुकुम पश्चिमका जिल्ला समन्वय प्रमुख लुम्बिनी गौतमले आफूहरुले गर्ने अनुमगन प्रभावकारी भैरहेको दाबी गरिन् । ‘हामी प्राविधिक सहित योजना स्थालमा पुग्छौं र त्यसको रेखदेख ताथ अनुमगन गरेर आवश्यक निर्देशन दिन्छौुं उनले भनिन्, ‘तर आर्थिक वर्षको अन्तिममा बजेट रकमान्तर गरेर ल्याउने र हतारमा काम सकेजस्तो गरेर बजेट सक्ने प्रवृत्ति चाही मलाई मन परेको छैन । यसलाई भने सुधार गर्नैपर्छ ।ु










