कर्णालीमा फैलिँदै लागुऔषधको जालो, एक वर्षमै १६३ जना समातिए

सुर्खेत ः सोमबार मात्र प्रहरीले कर्णालीको प्रवेशद्वार छिन्चु बजारक्षेत्रबाट लागुऔषध (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गर्यो । मोटरसाइकलमा नेपालगञ्जदेखि सुर्खेत आउँदै गरेका ती दुई युवकबाट प्रहरीले पाँच पुरिया लागुऔषध बरामद गर्यो ।
भेरीगंगा नगरपालिका–१०, छिन्चु बजार क्षेत्रमा चेकजाँचका क्रममा पक्राउ परेका उनीहरू दुवै जना वीरेन्द्रनगर-१ का २३ र २७ वर्षका युवा थिए । पछिल्लो यो घटना उदाहरण मात्र हो । कर्णालीमा खासगरी सुर्खेतमा अहिले लागुऔषध प्रयोगकर्ताहरूको संख्या बढ्दै छ ।
सुर्खेतमा मात्रै होइन, बर्सेनि कर्णालीका माथिल्ला जिल्लामा सयौँको संख्यामा युवाहरू लागुऔषधसहित पक्राउ परिरहेका छन् । लागुऔषधको मुख्य ट्रान्जिट बनेको सुर्खेतबाट यातायातको पहुँच बढेसँगै बिस्तारै हिमाली जिल्लामा समेत लागुऔषध प्रयोगकर्ताहरू बढ्दै गएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले कर्णालीमा हरेक वर्ष लागुऔषध प्रयोगकर्ता र कारोबारीको जालो फैलिँदै गएको बताउँछन् । ‘जब यातायात पुग्छ, त्यहाँ यसको कारोबार बढ्दै गइरहेको छ,’ प्रहरी नायब महानिरीक्षक ढकालले भने, ‘यो नियन्त्रणका लागि प्रहरी एक्लैले चाहेर मात्रै केही हुँदैन, यदि तपाईंहरूलाई शंका लागेको खण्डमा प्रहरीलाई खबर गर्ने खालको समुदाय बनाउन जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।’
नेपाल–भारत खुला सिमाना भएकाले भारतीय बजारबाट लागुऔषध नेपालगञ्जको बाटो हुँदै सुर्खेत कर्णालीका अन्य जिल्लामा पुग्ने गरेको ढकाल बताउँछन् । पछिल्ला तीन आर्थिक वर्षको तथ्यांकअनुसार कर्णाली प्रदेशका दश जिल्लामा १ हजार ८ सय ११ जना लागुऔषध सेवनकर्ता छन् ।
त्यस्तै, आर्थिक वर्ष २०७७/0७८ मा प्रदेशभर १ सय ६ पुरुष र १७ महिला, आर्थिक वर्ष २०७७/0७८ मा १ सय ६४ पुरुष र आठ महिला लागुऔषध सेवन र कारोबारीको मुद्दामा पक्राउ परेको प्रदेश प्रहरीको तथ्यांक छ । यस्तै, चालु आर्थिक वर्षको हालसम्म कर्णालीका सोही मुद्दामा १ सय ५० जना पुरुष र १३ जना महिला प्रहरी हिरासतमा रहेको प्रहरी तथ्यांक छ ।
प्रतिशतका आधारमा हेर्दा लागुऔषध मुद्दामा पक्राउ परेकामध्ये ८ प्रतिशत अर्थात् ४३ जना महिला रहेका छन् । नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण, २०७६ का अनुसार नेपालमा १ लाख ३० हजार ४ सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेको देखिन्छ । यसअघि २०६९ मा गरिएको सर्वेक्षणमा ९१ हजार ५ सय ३४ जना लागुऔषध प्रयोगकर्ता थिए । प्रतिवेदनका अनुसार लागुऔषध प्रयोगकर्ताको संख्यामा वार्षिक रूपमा ५ दशमलव शून्य ६ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
चालु आर्थिक वर्ष २०७९/0८० को हालसम्ममा कर्णालीमा प्रहरीले लागुऔषधमा ९३ वटा मुद्दा दर्ता गरेको छ । यसका साथै १ सय ९९ ग्रामभन्दा बढी लागुऔषध (ब्राउन सुगर) बरामद गरिएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेकाहरूमा १ सय ५९ जनालाई मुद्दा चलाएको प्रहरीको तथ्यांक छ ।
प्रहरीले २०७९/0८० को हालसम्ममा ७ सय ६० ग्राम गाँजा, १ सय ६० ग्राम चरेश र १ सय ७० ग्राम हिरोइन बरामदसमेत गरेको छ । यसैगरी, औषधिजन्य लागुऔषधतर्फ १ सय ४४ थान नाइट्राभेट, ५४ थान स्पाज्मो, ६३ थान ट्रामा र १० थान अन्य ट्याब्लेट बरामद भएको कर्णाली प्रदेश प्रहरीको तथ्यांक छ ।
कर्णालीका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जीसीले लागुऔषध जालोलाई तोड्न आवश्यक कानुन, कार्यविधि तथा योजना बनाउन ढिलो गर्न नहुने बताए । ‘अब हामी सरुवा रोगजस्तो लागुऔषधलाई नियन्त्रण गर्न आवश्यक कानुन बनाउने काम गर्छौं । यसलाई न्यूनीकरण गर्न आवश्यक संयन्त्र निर्माण गर्छौं’, उनले भने, ‘यसको नियन्त्रण गर्न लागुऔषधविरुद्ध सामाजिक अभियानकै रूपमा विद्यालय, घरपरिवार र समाजमा लैजान आवश्यक छ ।’
कर्णालीमा लागुऔषध नियन्त्रणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमसहित गाँजा र अफिम खेती नष्ट गर्ने अभियानमा प्रहरी लागेको छ । प्रहरीले सञ्चालन गरेको लागुऔषध खेती नष्ट गर्ने अभियानअन्तर्गत २०७९/0८० मा ८ सय ५ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरिएको छ ।
यसका साथै फरक(फरक स्थानमा ३ सय ४२ रोपनी जग्गामा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको छ । अफिम खेती नष्ट गरिएका जिल्लाहरूमा डोल्पामा १० रोपनी, जाजरकोटमा २ सय ६६ र रुकुम पश्चिममा ६६ रोपनीमा लगाइएको अफिम खेती नष्ट गरिएको हो ।










