विदेशी नागरिक बनेर ८ लाख ठगी गरेको आरोपमा ललितपुरकी पोखरेल पक्राउ

विदेशी नागरिक बनेर मायाजालमा पारी ८ लाखभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले ललितपुरको गोदावरी नगरपालिका( ८ बस्ने ४० वर्षीया चण्डिका पोखरेललाई पक्राउ गरेको छ ।
पोखरेललाई सामाजिक सञ्जालबाट चिनजान गरी मन पराउँछु, माया गर्छु र नेपाल आएर विवाह गरी विदेश लैजान्छु भन्दै मायाजालमा पारेर रकम ठगी गरेको आरोपमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पोखरेलले विश्वासमा पारी पहिलो चरणमा सामान पार्सल पठाएको छु भनेर त्यसका लागि कस्टम चार्ज, डलर चार्ज बापतको रकम बुझाउनुपर्ने भन्दै विभिन्न व्यक्तिको नाममा पैसा पठाउन लगाएर ठगी गरेको पाइएको कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । सुरुमा त्यसरी जाहेरी आएपछि यस्तो विदेशी नागरिक को रहेछ भनेर अनुसन्धान गर्दै जाँदा विदेशीको नाम राखेर ठगी कार्य गर्ने ललितपुरका महिला भएको पहिचान भयो, रेग्मीले भने ।
सुरुमा उनले सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, ह्वाट्सएपसमेत चलाउने व्यक्तिहरूलाई सम्पर्क गर्ने र त्यसपछि आफू इङ्ग्ल्यान्डको एल्भिस मार्टिन भएको बताउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।
म नेपालमा आएर तिमीलाई विवाह गरी लैजान्छु, गिफ्ट पठाई दिन्छु, सुनका गरगहना, घडी, आइफोन डलरसहितको लगेज पठाई दिएको छु भनेर पीडतलाई विश्वासमा पार्ने गरेको प्रहरीले जनाएको छ । त्यसबेला उनले पीडितलाई प्रलोभनमा पारी विदेशी जस्तो देखिने नम्बरमार्फत कुराकानी गरी विश्वास जितेपछि सामान पठाइदिएको र सामान पाउनका लागि कस्टम चार्ज, डलर चार्जबापतको रकम विभिन्न व्यक्तिको खातामा रकम पठाउन लगाउने गरेको खुलेको छ ।
उनले पटक–पटक गरी जम्मा ८ लाख ४० हजार रकम पठाउन लगाएपछि ठगिएको थाहा पाएर पीडितहरू प्रहरीमा पुगेका थिए । उनलाई प्रक्राउ गरी ठगीसम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर ललितपुरबाट अहिले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।










