सल्यानका सात स्थानीय तहमा ३ अर्ब २० करोडको बजेट

सल्यान — बजेट सार्वजनिक गर्ने सरकारको नीतिअनुसार जिल्लाका १० स्थानीय तहमध्ये सात स्थानीय तहले मात्र आब ०८०र०८१ का लागि बजेट सार्वजनिक गरेका छन् । जिल्लाको शारदा नगरपालिका, दार्मा, कपुरकोट, त्रिवेणी ,छत्रेश्वरी, कालिमाटी, सिद्धकुमाख गाउँपालिकाले ३ अर्ब २० करोड ५० लाखभन्दा बढीको बजेट सार्वजनिक गरेका हुन् ।

सात स्थानीय तहले सार्वजनिक गरेको बजेटमा पुँजीगततर्फ १ अर्ब १७ करोड ६७ लाख ६० हजार रहेको छ भने चालुमा २ अर्ब २ करोड ४० लाख रहेको छ । सात स्थानीय तहले स्वास्थ्य, शिक्षा, कृषि, पुर्वाधार, खरको छानामुक्त अभियानलाई प्राथमिकता दिएका छन् ।

कपुरकोट गाउँपालिकाका प्रुमख प्रशासकीय अधिकृत भरतकुमार ओलीले कृषिअन्तर्गत न्यूनतम समर्थन मूल्य कोष र उत्पादनमा आधारित कृषक उपदान र तीन वर्षमा खरको छानामुक्त अभियानका साथै शिक्षा, स्वास्थ्यलाई पनि प्राथमिकता दिएको बताएका छन् । कूल बजेट ४४ करोड ३६ लाख २० हजारमा पुँजीगतमा १६ करोड ११ लाख ९१ हजार र चालुमा २८ करोड २४ लाख २९ हजार रुपैयाँ विनियोजन गरेको उनले जानकारी गराए ।

यस्तै कालिमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले आव ०८०र०८१ का लागि ४३ करोड १ लाख बजेट सार्वजनिक गरेकोमा पुँजीगतमा ११ करोड ६४ लाख ७ हजार र चालुमा ३१ करोड ९४ लाख ४० हजार रकम विनियोजन गरेको बताए । उनले पूर्वाधारलाई विशेष प्राथमिकता दिएको जानकारी दिए ।

त्रिवेणी गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले यस आवका लागि ४० करोड ७० लाख बजेट सार्वजनिक गरेको बताए । उनले पुँजीगतमा १२ करोड ६९ लाख र चालुमा २८ करोड १२ लाख रकम विनियोजन गरेको जानकारी दिए । उनका अनुसार स्वास्थ्य र पूर्वाधारलाई विशेष प्राथमिकता दिएका छौं ।

यता छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले पनि चालु आवका लागि ५० करोड ३ लाख २९ हजार बजेट सार्वजनिक गरेकोमा ३० करोड रुपैयाँभन्दा बढी चालुमा र अन्य पुँजीगतमा रहेको बताए । उनले शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधारलगायत सबैलाई आवश्यकताअनुसार प्रथमिकता दिएको जानकारी गराए ।

यता शारदा नगरपालिकाकी उपप्रमुख सुस्मिता सापकोटाले कूल बजेट ६८ करोड ६३ लाखमा संघीय सरकारबाट प्राप्त हुने अनुदानमा समानीकरण अनुदान ११ करोड ५० लाख, ससर्त अनुदान ३२ करोड ७ लाख , समपुरक अनुदान ८० लाख, विशेष अनुदान ९० लाख र राजस्व बाडफाँटबाट ११ करोड ९ लाख ६७ हजार गरी ५६ करोड ३६ लाख ३७ हजार रुपैयाँ रहेको बताइन् ।

उनले प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा प्रदेश समानीकरण अनुदान १ करोड ३३ लाख, ससर्त अनुदान ४ करोड ७६ लाख, समपुरक अनुदान १ करोड ४४ लाख, विशेष अनुदान ४० लाख, राजस्व बाडफाँटबाट २५ लाख ६७ हजार गरी ८ करोड १९ लाख ४३ हजार र आन्तरिक स्रोतबाट २ करोड ६३ लाख, स्थानीय तह राजस्व बाँडफाटबाट ४५ लाख, बैंक मौज्दात ९९ लाख, कूल आम्दानी ६ करोड ६५ रहेको जानकारी दिइन् ।

बजेटमा नगरका १५ वडामा २५ लाखका दरले वडास्तरीय योजना तथा कार्यक्रमका लागि ३ करोड ७५ लाख, विपद् व्यवस्थापनमा ५० लाख, श्रीनगरस्थित आधुनिक बसपार्क निर्माण तथा मल निर्माणका लागि १ करोड ९० लाख, शिक्षातर्फ १ करोड, स्वास्थ्यतर्फ ५० लाख, विद्युतीकरणमा ५० लाख, नगर प्रहरी व्यवस्थापनमा ४० लाख, सवारी खरिदमा १ करोड, नगरबस सञ्चालनका लागि २० लाख विनियोजन गरेको उनको भनाइ छ ।

सल्यानका तीन पालिका बाग्चौर, बन्गाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिकाले असार १० गतेसम्म बजेट ल्याउन सकेका छैनन् । विवादका कारण उनीहरूले समयमै बजेट ल्याउन नसकेका हुन् ।





error: Content is protected !!