मापदण्ड बिपरित गाडिएका पोल हटाउन नगरप्रमुख केसीको चेतावनी

जाजरकोट , ९ असार ः मापदण्ड भन्दा बाहिर गएर जथाभावी गाडिएका विद्युतका पोलहरु तत्काल हटाएर नयाँ पोलहरु गाड्न रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले चेतावनी दिएको छ ।
नगरपालिकाको प्रशासकीय केन्द्र राडी बजार हुँदै क्याम्पस , खारखारामा जथाभावी गाडिएका पोलहरु २ दिन भित्र हटाएर नयाँ पोलहरु गाडन चेतावनी दिइएको नगरप्रमुख रबी केसीले बताए । मेयर केसीका अनुसार ७२ मध्य १५ पोल हटाएर नयाँ पोल गाडन २ दिनको समय दिइएको छ । उक्त पोलहरु गाडने जिम्मेवारी लिएको चौरजहारी बिल्डर्सलाई तत्काल मापदण्ड पुरा गरि पुर्ण काम गर्न चेतावनी दिइएको हो ।
नाफा निकाल्नका लागि पोल गाडदा जथाभावी गाडी दुर्घटना निम्त्याएको भन्दै तत्काल मापदण्ड भित्र रहेर काम गर्न निर्देशन दिइएको मेयर केसीले बताए । नेपाल विद्युत प्राद्यिकरणलाई समेत सो कुरा जानकारी गराएको छ । दुइ दिन भित्र पोल हटाएर नयाँ पोलहरु मापदण्ड अनुसार गाडने काम नभएर नगरपालिकाले एक्सनमा उत्रने समेत उनले बताए । यो भन्दा अगाडी सडक समेत मापदण्ड अनुसार नभएको भन्दै मेयर केसीले सडक नै भत्काइदिएका थिए ।
आठबीसकोटका सबै वडामा केन्द्रीय प्रशारण अन्तरर्गतको ११ केभी प्रशारण लाइनको विद्युत पुर्याउनका लागि काम भइरहेको छ । निर्माण व्यवसायीले गरेका कामहरु मापदण्ड अनुसार भएको वा नभएको निगरानी गर्न सबैलाई आग्रह गरिएको नगरप्रमुख केसीले बताए । पोल गाड्दा जमिन मुनी कम गाडिएको , जमिन भन्दा माथी पोल अड्याउने सम्मको काम मात्र गरेको पाइएको उनले बताए ।
सरकारी रकम पचाउने तर काम गुणस्तर नहुँुने कुरा आठबीसकोट नगरपालिकालाई मान्य नहुने समेत उनले बताए । उत्ता निर्माण व्यवसायीले मेयर केसीको कुरालाई समर्थन गर्दै गलत भएको ठाउँमा काम सच्याउन तयार भएको बताएका छन् । राडी देखि खारखारा सम्म मुख्य सडक रहेको छ ।










