अगाडि बढ्यो सुर्खेतमा मेडिकल कलेज स्थापनाको प्रक्रिया

सातैवटा प्रदेशमा एक एक मेडिकल कलेज स्थापना गर्ने संघीय सरकारको योजना ५ वर्ष अगाडि सुरु भएको थियो । सुर्खेतमा मेडिकल कलेज स्थापनाका लागि लामो समयपछि ९वातावरणीय प्रभाव मूल्यांकन० ईआईए प्रक्रिया सुरु भएको छ । यसले मेडिकल कलेज स्थापना हुने विश्वास बढेको छ ।
कजेज स्थापनाका लागि आवश्यक ईआईए प्रतिवेदन तयार भई अन्तिम स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पुगेपछि कलेज स्थापनाको प्रक्रिया अगाडि बढेको हो । मन्त्रालयले सात दिने सार्वजनिक सूचना निकालेर आयोजना कार्यान्वयन गर्दा कुनै प्रतिकूल असर पर्ने भए लिखित रायरसुझाव पेस गर्न आग्रह गरेको छ ।
ईआईए स्वीकृत भएपछि भौतिक पूर्वाधार निर्माणको डीपीआरको काम अघि बढाउने तयारी छ । सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाले गत वैशाख दोस्रो साता कलेज निर्माणका लागि आवश्यक ईआईए प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरेको थियो । मन्त्रालयले आवश्यक प्रक्रिया पूरा गरेर बुधबार उक्त प्रतिवेदनमाथि राय तथा सुझावका लागि सार्वजनिक सूचना प्रकाशित गरेको हो । कलेज निर्माण आयोजनाले उक्त प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत वन तथा वातावरण मन्त्रालयमा पेस गरेको थियो ।
आयोजनाले मन्त्रालयमा पेस गरेको परियोजना प्रतिवेदन सम्बन्धमा सर्वसाधारण व्यक्ति वा संस्थाको कुनै राय सुझाव भए प्रथमपटक सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आप्mनो राय सुझाव मन्त्रालय वा मातहतका कार्यालयमा पठाउन भनिएको छ ।
कलेज निर्माणका लागि आयोजनाले ईआईए प्रतिवेदन तयार गर्न २०७६ जेठ २ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति पाएको थियो । एकै समयमा मन्त्रालयले मधेश प्रदेशको बर्दिवास, लुम्बिनी प्रदेशको रुपन्देही र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज निर्माणका लागि प्रतिवेदन तयार गर्न सहमति दिएको थियो । मन्त्रालयको अनुमति पाएपछि आयोजनाले पूर्वाधार निर्माण, मेडिकल कलेजको सम्भाव्यता अध्ययन, गुरुयोजना निर्माण, ईआईए र विस्तृत परियोजना प्रतिवेदन डीपीआर लगायतका कामहरु अगाडि बढाएको थियो ।
सोही अनुसारकलेज निर्माणका लागि आयोजनाले झण्डै पाँच वर्ष लगाएर ईआईए प्रतिवेदन तयार पारेको हो । प्रस्तावित मेडिकल कलेज सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा नं। ११ र १३ मा निर्माण हुनेछ । ६ सय शश्यासहित वार्षिक एक सय जना विद्यार्थी क्षमता रहने मेडिकल कलेजको कुल लागत एक अर्ब ७० करोड रूपैयाँ हुने अनुमान गरिएको छ ।
२९ हेक्टर जग्गा आवश्यक
आयोजनाको ईआईए प्रतिवेदनअनुसार प्रस्तावित आयोजनाका लागि २९ दशमलव अठ्ठासी हेक्टर जग्गा आवश्यक पर्छ । आयोजनाका लागि प्रस्ताव गरिएका साइट ‘ए’ र साइट ‘बी’ बीचको दूरी दुई किलोमिटर रहेको छ । आयोजना स्थलसम्म झण्डै चार मिटर चौडाइको पहँुच मार्गसमेत विस्तार भइसकेको छ । आयोजना सुर्खेत विमानस्थलबाट तीन किलोमिटर उत्तर पूर्वमा पर्दछ । आयोजनाको जम्मा क्षेत्रफल ९५ हजार एक सय ६० वर्गमिटर छ ।
साइट ‘ए’ मा १६ दशमलव ५० हेक्टर तथा साइट ‘बी’ मा १३ दशमलव ३९ हेक्टर क्षेत्र आवश्यक पर्छ । प्रशासनिक तथा शैक्षिक भवनहरुका लागि एक दशमलव २४ हेक्टर, अस्पताल भवन क्षेत्रका लागि शून्य दशमलव ९० हेक्टर, आवास तथा छात्रावासका लागि एक दशमलव ९५ हेक्टर, खेलकुद मैदान र पार्कका लागि तीन दशमलव ३५ हेक्टर जग्गा छुट्याइएको छ । त्यसैगरी प्रवेशद्वार, चमेनागृह, फोहोर पानी प्रशोधन केन्द्र आदिका लागि दुई दशमलव शून्य आठ हेक्टर छुट्याइएको छ ।
मेडिकल कलेजभित्र हस्पिटल, एटेन्डेन्स, होस्टेल (सिनियर र जुनियरका लागि छुट्टाछुट्टै), प्रोफेसर क्वाटर, एसोसिएट प्रोफेसर क्वाटर, स्टाफ क्वाटर, गर्ल्स होस्टेल, प्रशासनिक, ब्वाइज होस्टेल, नर्स होस्टेल, गार्ड हाउस, क्याफेटेरिया ब्लकलगायत रहने प्रतिवेदनमा उल्लेख छ ।
रेडियोलोजी, अल्ट्रा साउण्ड, प्याथोलोजी, सर्जरी, युरोलोजी, अन्कोलोजी, नाक, कान, घाँटीसम्बन्धी सेवासँगै उच्चस्तरीय मेडिकल कलेज हुने बताइएको छ ।
मेडिकल कलेज स्थापनाका लागि सुरुको वर्ष आयोजनाले काठमाडौंबाट पूर्वाधार निर्माणका लागि प्रक्रिया अगाडि बढाएको थियो । तर, काठमाडौंबाट सुर्खेतका सरोकारवाला र स्थानीयसँग समन्वय गर्न असहज भएपछि आयोजनाले २०७६ जेष्ठदेखि सुर्खेतमै कार्यालय स्थापना गरेर काम गर्दै आएको छ ।
ईआईए उपर प्राप्त राय सुझावका आधारमा अनुमतिका लागि मन्त्रालयले प्रतिवेदन मन्त्रिपरिषद्मा पठाउँछ । मन्त्रिपरिषद्ले पास गरेपछि मात्रै निर्माण प्रक्रिया अगाडि बढ्ने सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका प्रमुख हेमकुमार ढकाल बताउँछन् । प्रारम्भिक ईआईए, डीपीआर तथा मास्टर प्लानका लागि जग्गा प्राप्त भएको भए पनि आयोजनाको नाममा भने जग्गा आइनसकेको ढकालको भनाइ छ ।










