अदुवा भण्डारण गर्न घर

सल्यान — प्रधानमन्त्री कृषि आधुनिकीकरण कृषि परियोजनाले जिल्लाका शारदा र बाग्चौर नगरपालिकाका तीन किसानका घरमा अदुवा भण्डारण घर निर्माण गरेको छ । एक घर एक भण्डारण घर निर्माण अभियान अन्तर्गत शारदा नगरपालिका १४र१५ को माल्नेटा, बाग्चौर नगरपालिका ९ जोखटाकुरा र ७ खारामा परम्परागत शैलीमा निर्माण गरेको हो ।

एक घर, एक भण्डारण घर कार्यक्रम अन्तर्गत अहिले शारदा र बाग्चौर नगरपालिकाको तीन किसानको घरमा निर्माण गरेको र आउँदो वर्षदेखि यसलाई विस्तार गर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाइ कार्यालय सल्यानका प्रमुख श्रीकृष्ण न्यौपानेले बताए । स्थानीय वरपरका किसानले पनि उत्पादन गरेको अदुवा भण्डारण गर्न सक्ने उनले जानकारी गराए ।

एक अदुवा भण्डारण घर निर्माणको लागि १ लाख ११ हजार मात्र खर्च लागेको प्रमुख न्यौपानेले जानकारी गराए । ‘किसानले उत्पादन गरेका अदुवा अहिलेसम्म १५ देखि २० रुपैयाँ प्रतिकिलो बिक्रिी गर्न बाध्य छन् । बिचौलियाको कारण समयमै रकम प्राप्त गर्न सक्दैनन् । बेमौसममा अदुवा प्रतिकिलो सयदेखि १ सय ५० सम्म बिक्री हुने गरेको छ । किसान आफूले उत्पादन गरेको वस्तुबाट बढीभन्दा बढी आम्दानी गर्न सकुन् भन्ने उद्देश्यले अदुवा भण्डारण घर निर्माण गरिएको हो,’ उनले भने ।

एक अदुवा भण्डारण घरमा निर्माण गरेको एक खाडल डेढ घन मिटरका आठ वटा भएकाले एक पटकमा ५० क्विन्टल भण्डारण गर्न सकिने उनले जानकारी गराए । एक पटक भण्डारण गरेको अदुवा ३र४ महिना सजिलै टिक्ने भएकाले कुहिएर खेर जाने समस्या कम हुने मात्र नभइ किसानले बेमौसममा सजिलै बिक्री गर्न पाउने उनले जानकारी गराए । उनका अनुसार जिल्लामा अधिकांश किसानले अदुवा उत्पादन गर्दै आएका र बजारको अभावमा कुहाएर फाल्ने पर्ने अवस्था सृजना भएकाले भण्डारण गरेर बेमौसममा बढी मूल्यमा बिक्री गर्न पाउने भएकाले अदुवा भण्डारण घर किसनलाई आवश्यक छ ।

कार्यालयले बाग्चौर नगरपालिकाको टाटकेमा किसानले उत्पादन गरेको अदुवा संकलनका लागि १४ लाख ११ हजारमा अदुवा संकलन केन्द्र लगायत सिँचाइ पोखरी, बिक्री केन्द्र समेत निर्माण गरेको उनको भनाइ छ ।

विगतमा बिचौलियाका कारण प्रत्येक वर्ष अदुवाको आफूले सही मूल्य तोक्न नसक्दा मारमा पर्दै आएका किसान डण्डवीर डाँगीले अदुवा भण्डारण घर निर्माणबाट धेरै राहत हुने बताएका छन् । अदुवा भण्डारण घर निर्माणबाट खुसी भएका उनले आफूले उत्पादन गरेका मात्र नभइ आसपास बस्तीका किसानले उत्पादन गरेका वस्तु समेत भण्डारण गर्न सकिने जानकारी गराए ।

देशमै सबैभन्दा राम्रो अदुवा उत्पादन हुने सल्यानको माल्नेटाका अदुवा उत्पादक किसान ज्ञानबहादुर घर्तिले एक किसानले प्रत्येक वर्ष ६० देखि सय क्विन्टलसम्म अदुवा उत्पादन गर्ने भएकाले एक व्यक्तिको घरमा मात्र नभइ सबैको घरमा अदुवा भण्डारण घर निर्माण गर्न आग्रह गरेका छन् । परम्परागत रुपमा खाल्डो खनेर अदुवा भण्डारण aगर्न बाध्य भएका उनले इकाइ कार्यालयले निर्माण गरेको भण्डारण घरले राहत हुने जानकारी गराए । विगतदेखि अदुवा भण्डारण घर निर्माणको लागि सम्बन्धित निकायमा माग राख्दै आए पनि कसैले चासो नदेखाएको उनको भनाइ छ ।

जिल्लाका अधिकांश किसान व्यावसायिक अदुवा खेती गर्दै आएका छन् । उनीहरुले प्रत्येक वर्ष २० करोड बराबरको अदुवा जिल्ला बाहिर तथा भारतमा निकासी गर्दै आएका छन् । जिल्लामा उत्पादित अदवा फ्रान्ससम्म पुग्ने गरेको छ ।





error: Content is protected !!