बाढीपहिरो रोक्न गाउँवासीको कचहरी

कालीकोट, असार २ गते । कालीकोटको पलाँता गाउँपालिकामा पर्यावरणीय कृषि प्रणाली र बाढीपहिरो न्यूनीकरण गर्न कचहरी बसेको छ । किर्डाक नेपालले पलाँता गाउँपालिकाको समन्वय र मिसन इष्टको प्राविधिक सहयोगमा बाढी पहिरोबाट जोगिन गाउँस्तरवाट कसरी प्रयासका विषयमा छलफल गर्न कचहरी गरेको हो ।
कचहरीमा पलाँता
कचहरीमा पलाँतामा पर्यावरणीय कृषिको प्रवर्द्धन बाढीपहिरो न्यूनीकरणका लागी पालिका, सङ्घ संस्था र सरोकारवालाको भूमिकाका बारेमा छलफल भएको छ । पलाँता गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकायाले आगामी वर्षको नीति तथा कार्यक्रम कृषि र बाढी पहिरो प्रभावित क्षेत्रको पुनरुत्थानलक्षित गरेर ल्याउने बताउनुभयो ।
कचहरी ९सामूहिक छलफल० मा सहभागी जनप्रतिनिधिले पलाँता गाउँपालिकाको विपद् प्रतिकार्य योजना बनाउने, विपदबाट पूर्ण र आंशिक रूपमा क्षतिग्रस्त घरहरूको पुनर्निर्माणका लागि प्रदेश र सङ्घ सरकारसँग पहल गर्ने, पलाँता गाउँपालिका भित्रका क्षतिग्रस्त सिँचाइ कुलो र पोखरीको मर्मत र निर्माणका लागि आगामी वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा प्राथमिक रूपमा राख्ने प्रतिबद्धता गरेका छन् ।
कचहरीमा उठेका विषयमा छलफल गर्दै अध्यक्ष रोकायाले आगामी वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा क्षतिग्रस्त जमिनको पुनर्निर्माणलक्षित बजेट ल्याउने, जलवायुमैत्री कृषि प्रणालीको प्रवर्द्धनका लागि आगामी वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा जोड दिने, उत्पादकत्व वृद्धिका लागि आगामी वर्ष माटो परीक्षणको काम गर्ने, पकेट क्षेत्रको कार्यक्रमलाई निरन्तरताका साथै विस्तार गर्ने र सङ्घ संस्थासँग सहकार्य गरी कृषि र बाढीपहिरो न्यूनीकरणका काम गर्नेबारेमा पालिका सहमत भएको बताउनुभयो ।
लामो समयदेखि विकासका साथै क्षमता विकासको क्षेत्रमा काम गरिरहेको किर्डाक नेपालका परियोजना संयोजक पदम कठायतले जिविकोपार्जनउन्मुख कार्यक्रम सञ्चालनका लागि गाउँपालिका तयार रहेकाले आफ्नोतर्फबाट सहयोग रहने बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्मसिंह बमले पलाँतामा गैरसरकारी संस्थाको राम्रो भूमिका रहेको बताउनुभयो ।








