निजी क्षेत्रको पहलमा अब वीरेन्द्रनगरमा नगरबस

सुर्खेत ः कर्णाली प्रदेशको राजधानी भएर पनि अहिलेसम्म नगर बस सञ्चालनमा नआएको सुर्खेतको वीरेन्द्रनगरमा निजी क्षेत्रको पहलमा नगरबस सञ्चालन हुने भएको छ ।
नगरपालिकासँग समन्वय गरी शुक्रबारदेखि वीरेन्द्रनगरमा नगरबस सञ्चालन हुन लागेको हो । नगरबस नहुँदा अटो रिक्साले मनलाग्दी भाडा असुल्ने गरेको भन्दै चर्को विरोध हुँदै आएको थियो ।
काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाका अनुसार पहिलो चरणमा १० वटा फोर्स गाडीबाट सेवा प्रदान गरिने छ । नगरबसका लागि वीरेन्द्रनगरको धुलियाविट–मंगलगढी–मुलपानी–प्रदेश अस्पताल–कुमाइचोक भएर हिलेखालीचोकबाट बांगेसिमल र पुनः सोही रूट भएर गाडी फर्कने गरी तोकिएको छ ।








