हिउँमा विकासे योजनाको अनुगमणसँगै काम

हेमन्त केसी
डोल्पा , २० वैशाख ः उपल्लो डोल्पामा दुइ दिन देखि हिमपातले गर्दा जनजीवन प्रभावित भएको छ । विकास निर्माणको अनुगमण तथा निरीक्षणका कामहरु समेत हिमपातमै सुरु भएका छन् ।


शे फोक्सुण्डो गाउँपालिकाले बिभिन्न ठाउँमा शिविर तथा योजनाको अनुगमण हिमपात जारी रहदा पनि चालु गरेको छ । पालिका भित्र आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि वस्ती स्तरबाटै योजना छ्नौट तथा तर्जमा कामहरु समेत हिमपातसँगै चलिरहेको प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्मा न्यौपाने बताउनुभयो । माथीबाट हिउँ परेपनि काममा लाग्नुपर्ने बाध्यता रहेको अधिकृत न्यौपानेले बताउनुभयो ।

उहाँले भन्नुभयो ,“ जीवन जोखिममा पारेर भएपनि काम गर्नुपर्ने बाध्यता छ , आज मात्र दुइ जना कर्मचारी हिमपातमा काम गरेकै कारण बिरामी हुनुभएको छ । अक्सिजनको मात्रा अत्यन्तै कम हुने भएकाले काम गर्न गाह्रो रहेको छ । एक बस्तीबाट अर्को बस्तीम जान र आउन हिमाल नै पार गर्नुभएकोले पनि मुस्किल हुने गरेको छ ।”


गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङको नेतृत्वमा एक टोलि परिचालन भएको छ भने अर्को टोली उपाध्यक्ष पेम्मा वाङछेन गुरुङको नेतृत्वमा परिचालित भएर काम भइरहेको अधिकृत न्यौपाने बताउनुभयो । पालिका भित्रका सबै ठाउँमा स्वास्थ्य शिविर , पंञ्जीकरण सम्वन्धी कामहरु , योजनाको सार्वजानिक सुनुवाई , विद्यालय अनुगमणका कामहरु भइरहेको बताएको छ । चिसो मौसमा हुन नसकेका सम्पुर्ण कामहरु यही समयमा गरिरहेको उहाँले बताउनुभयो । यातायातको पहुँच नभएको कारण यहाँ सबै ठाउँमा हिडेर जानुपर्ने अर्को बाध्यता रहेको छ ।

काममा खटिएका कर्मचारी देखि जनप्रतिनिधि सम्मलाई फोन सम्पर्क सम्म गर्न मुस्किल भएको छ । काम गर्दा गर्दै धेरै बिरामी भएमा हेलिकोप्टरबाट समेत उद्धार हुने गरेको छ । छरिरहेको साना,साना गाउँ भएकाले सबै ठाउँमा सेवा दिनका लागि बस्तीमा पुग्दा मुस्किल भएको अधिकृत शर्मा न्यौपानेले बताउनुभयो ।
दुइ दिन देखि अधिकांश कर्मचारी र जनप्रतिनिधिसँग सञ्चार सम्पर्क नभएको समेत उहाँले बताउनुभयो । लगातार हिमपातका कारण बाटो पुरिएकाले तोकिएको ठाउँमा जान भारी समस्या भएको उहाँको भनाई छ । गर्मी तथा चिसो मौसममा एकै खालको वातावरण हुदा दैनिक यहाँका सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । पालिकाको समग्र सेवा प्रभाव , गुनासा सुन्नका लागि गाउँ बस्तीमा पुग्नका लागि फलामको चिउरा चपाएझैँ भएको पालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले बताउनुभयो ।


कस्तो शे फोक्सुण्डो गाउँपालिका ?
साविकका साल्दाङ, भिजेर र फोक्सुण्डो गाविस मिलेर गठन भएको हालको शे फोक्सुण्डो गाउँपालिकाको नामाकरण ऐतिहासिक, धार्मिक, तथा पर्यटकीय पृष्ठभुमि संग जोडिएको छ। साल्दाङ भुभाग स्थित ऐतिहासिक तथा धार्मिक स्थल शे गुम्बा र फोक्सुण्डो रिग्मो गाउँ स्थित पर्यटकीय स्थल शे फोक्सुण्डो तालको नामबाट यस गाउँपालिकाको नामाकरण भएको हो ।
शे फोक्सुण्डो गाउँपालिका २९ डिग्री २० मिनेट ० सेकेण्ड देखि २९ डिग्री ५१ मिनेट ० सेकेण्ड उत्तरी अक्षांश र ८२ डिग्री ५९ मिनेट ० सेकेण्ड देखि ८३ डिग्री ०९ मिनेट ० सेकेण्ड पूर्वी देशान्तरमा फैलिएको छ। समुन्द्री सतहदेखि करिव २३०० देखि ७४२५ मिटर उचाइमा अवस्थित यस गाउँपालिकाको पूर्वमा डोल्पो बुद्ध गाउँपालिका, दक्षिणमा त्रिपुरासुन्दरी नगरपालिका, ठुलीभेरी नगरपालिका र काईके गाउँपालिका र पश्चिममा जगदुल्ला गाउँपालिका र मुगु जिल्ला उत्तरमा चीनको स्वशासीत क्षेत्र तिब्बतको भूभाग बीचमा अवस्थित रहेको छ ।
उच्च हिमाली क्षेत्रमा पर्ने यस गाउँपालिकाको सम्पूर्ण भूभाग हिमाल र डाँडा पाखा र समथर घाँसे मैदान रहेको छ । शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको मध्यवत्ति क्षेत्रमा पर्ने केही भूभागमा पहाडी क्षेत्रको विशेषता रहे पनि अधिकांश क्षेत्रहरु उच्च हिमाल र सु्क्खा क्षेत्र रहेको छ । यहा ठूला ठूला रुख र बोटविरुवा नहुने भएका हुनाले यस क्षेत्रमा अक्सिजन न्यून हुनुका साथै बर्षानी बर्षातको कारण रापा, नाम्दो, किरथाङ, साल्दाङ, तिलिङ, निजाल लगायतका कटान प्रभावित क्षेत्रहरु हुन । जसका कारण उक्त क्षेत्रका उब्जनशिल भूभागहरु कटान भई वगरको रुपमा परिणत हुने गरेको छ ।





error: Content is protected !!