नगर प्रमुखमाथि ज्यान मार्ने धम्की दिएको आरोप

सुर्खेत ः डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ छल गाउँका कर्णचन्द्र रोकायले आफूलाई नगर प्रमुख जनचन्द्र रोकायले ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन्।
त्रिपुरासुन्दरी नगरपालिका–७ छलगाउँमै घर भएका ५५ वर्षीय नगरप्रमुख जनचन्द्र रोकाय, उनका छोरा २० वर्षीय छोरा बलचन्द्र रोकाय र २४ वर्षीय कृष्ण रोकायले आफूलाई गाउँनिकाला गर्ने र नमाने मारेर फालिदिने धम्की दिएको पीडितले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनमा उल्लेख छ।
पीडित कर्णचन्द्रले भने, ‘म नगर प्रमुखको राजनीतिक विचारधाराभन्दा फरक विचारधारा भएकोले पटकपटक गाउँ निकाला गर्छु, यदि नमाने कसैले नदेख्ने गरी मारेर फालिदिन्छौ भनी बाबुछोराले धम्की दिने गरेकाले आफ्नो सुरक्षाको लागि अडियो क्लिपसहित २०७९ माघ १८ गते जिल्ला प्रशासनमा निवेदन दिएको तर सुनुवाइ भएको छैन।‘
पीडितले निवेदन दिएको केही दिनमै तत्कालीन प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी मीनराज रिजाल दुवैको सरुवा भएकाले निवेदन उपरको सुनुवाइमा केही ढिला भएको प्रशासनले जनाएको छ।
सरुवा भएर आएका नयाँ सहायक प्रमुख जिल्ला अधिकारी देवी ज्ञावलीले आफू आएलगत्तै निवेदन र अडियो क्लिपसहित जिल्ला प्रहरीमा अनुसन्धानको लागि पठाइ सकिएको बताए। उनले भने, ‘कुनै पनि नागरिकलाई गाउँनिकाला गर्न कानुनले दिँदैन, त्यसैमा पनि नगर प्रमुख जस्तो व्यक्तिले नागरिकलाई ज्यान मार्ने धम्की दिनु शोभनीय हुँदैनरु पीडितले निवेदनसहित अडियोसमेत पेश गरेकाले अनुसन्धान भइरहेको र दोषी ठहरिए कानुनी कारबाही हुन्छ।‘
त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख रोकाय भने, पीडित भनिएका रोकाय नाताले मेरा भाइ हुन्। तर आफूले कुनै पनि किसिमको धम्की नदिएको र राजनीतिक प्रतिशोध साट्न झुटो आरोप लगाएर आफूहरू विरुद्ध उजुरी दिएका हुन उजुरीमा सत्यता छैन।‘
सिंगो गाउँलेले पीडित भनिएकालाई गाउँ निकाला गर्नुपर्छ भन्दा आफूले त्यस्तो गर्नु हुँदैन भनेर उल्टै सम्झाएको तर मेरा छोराहरूले भने मोवाइलमार्फत केही भनाभन गरेको सत्य भए पनि मारेर फाल्छु नभनेको नगरप्रमुख जनचन्द्र रोकायले बताए।
वैशाख ५गते मात्र आफूविरुद्ध उजुरी परेको कुरा जिल्ला प्रहरी कार्यालयमार्फत प्रहरी चौकी त्रिपुराकोटमा बास्तविकता बुझ्नु भनी पीडितको निवेदन आएको जानकारीपछि मात्र थाहा भएको पनि प्रमुख रोकायले बताए।










