लुकीछिपी यार्सा संकलन गर्न जाने १३ जना पक्राउ

सुर्खेत ः डोल्पाको तोइजुमबाट लुकिछिपी यार्सा गुम्बा टिप्न जाने १३ जना पक्राउ परेका छन् । यार्सा सिजन खुल्नु अगाडि नै पाटनमा छिर्न खोज्ने १३ जनालाई शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र रामवाण गुल्मको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जगदुल्ला गाउँपालिका ४ चौरोकोटका सोमराज रोकाय, मान बहादुर थापा, वसन्त सिंह, कर्मा प्रसाद वि।क र मुड्केचुला गाउँपालिकाका मनोज बुढा, धन बुढा, भिम बुढा, जनम बुढा, धन बहादुर बुढा, मुकु बुढा, सर्वराज बुढा, त्यस्तै जुम्ला गज्याङकोटका प्रकाश बुढा र कालिगार बुढा रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत लाल बहादुर भण्डारीले जानकारी दिए ।
उनीहरु सबै निकुञ्जको तोइजुम पोष्टबाट पक्राउ परेको भण्डारीले बताए । डोल्पामा प्रत्येक वर्ष सर्वदलिय निर्णय गरेर मात्र यार्सा संकलन पाटन खुलाउने गरिन्छ । यार्साका लागि पाटन नखुल्दै उनीहरु अवैध रुपमा पाटन छिर्न खोज्दा पक्राउ गरिएको निकुञ्जले जनाएको छ ।

त्यसैगरी कुनासा र पुनिखा पाटनमा अवैध रुपमा छिरेका ४० जनाको हाराहारीमा रहेको समूहलाई निकुञ्ज र सेनको संयुक्त गस्ती टोलीले चारैतिरबाट घेरा हालेकाले केही समयमा पक्राउ गरिने प्रमुख संरक्षण अधिकृत भण्डारीले जानकारी दिए । यस वर्षको यार्सा संकलन गर्ने समय नजिकिँदै गर्दा एकसाता देखि निकुञ्जका कर्मचारी र सेनाले निकुञ्ज क्षेत्रमा पर्ने यार्सा पाटनमा संयुक्त गस्ती गरिरहेको निकुञ्जले जनाएको छ ।
यार्सा संकलन गर्ने समय अगाडि नै लुकिछिपी पाटन नछिर्न निकुञ्जले सर्वसाधारणलाई आग्रह गरेको छ । नियमित गस्तीका क्रममा पाटनमा कोहि भेटिएमा पक्राउ गरी नियमानुसार कारबाही गरिने समेत निकुञ्जले जनाएको छ ।





error: Content is protected !!