जगदुल्लाको विद्युत खरिद गर्न प्राद्यिकरणसँग सहमति

हेमन्त केसी
सुर्खेत ः डोल्पामा निर्माण हुने जगदुल्ला जलविद्युत आयोजनाको १०६ मेगावाट विद्युत नेपाल विद्युत प्राद्यिकरणले विद्युत खरिद ,विक्री गर्ने सहमति भएको छ । चैत १९ गते भएको उक्त सम्झौता अनुसार विद्युत खरिद ,विक्री गर्न सहमत भएको सहमति पत्रमा उल्लेख गरिएको छ । अहिले आयोजना स्थलमा सडक, पुल तथा भवन निर्माणका कामहरु चलिरहेका छन् । उक्त निर्माण गर्नका लागि चार बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को अगुवाइमा चार बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने तय भएको आयोजनाका प्रोजेक्ट सञ्जय सापकोटाले बताए ।


जगदुल्ला हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको उक्त आयोजनामा बैंक तथा वित्तीय संस्थाबाट हुने ऋण लगानी व्यवस्थापनका लागि एक महिनाभित्र सम्झौता हुने सापकोटाले बताए । सापकोटाले निफ्राको अगुवाइमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभपलमेन्ट कम्पनी (एचआइडिसिएल), कर्मचारी सञ्चय कोष र नबिल बैंकले ऋण लगानी गर्ने सहमति गरिसकेको बताएका छन् ।
“बैक तथा वित्तीय संस्थाले कुल लगानीको ७० प्रतिशत अर्थात् १६ अर्ब ९२ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता प्राप्त भएको छ,” उनले भने, “बाँकी सात अर्ब २५ करोड रुपैयाँ स्वपुँजी जुटाइनेछ ।” आयोजना सम्पन्न गर्न २४ अर्ब १७ करोड ४८ लाख ९२ हजार रुपैयाँ लागत अनुमान गरिएको कम्पनीले जनाएको छ ।
आयोजनाको निर्माण आगामी आर्थिक वर्ष (२०८०÷०८१) देखि निर्माण सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको छ । अहिले आयोजनास्थलसम्म पुग्ने पहुँच सडक खोल्ने कार्य भइरहेको छ । पहुँचमार्ग पूरा हुनेलगतै आयोजनाको सिभिल संरचनाको काम सुरु हुनेछ । आयोजनाको विस्तृत इन्जिनियररिङ अध्ययन पूरा प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ ।
आयोजनाका लागि आवश्यक जग्गामध्ये पहिलो चरणमा २६० रोपनी जग्गा तथा घर टहराको अधिग्रहण कार्य सम्पन्न गरी सम्बन्धित जग्गाधनीलाई मुआब्जा वितरण भइसकेको सापकोटाले बताए । दोस्रो चरणका लागि ५० रोपनी जग्गा अधिग्रहण गर्न मुआब्जा दर निर्धारण भई वितरणको क्रममा छ । वातावरणीय अध्ययन कार्यअन्तर्गत टिओआर तथा स्कोपिङ मस्यौदा स्वीकृत भई सार्वजनिक सुनुवाइ गरी अन्तिम प्रतिवेदन विद्युत विकास विभागमा पेस गरिएको छ ।

यो प्रतिवेदन स्वीकृत हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आयोजनाको निर्माण २०८६ भित्र सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक ६२३.४७ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । वर्षायाममा ४३०.२३ गिगावाट घन्टा र हिउँदयाममा १९३.२४ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । यही कम्पनीले ८२.३ मेगावाटको जगदुल्ला ‘ए’ को काम पनि अघि बढाएको छ ।
जगदुल्ला जलविद्युत आयोजना निमाण गर्न त्रिवेणीस्थित भेरी नदीको पुल बाधक देखिएको छ । दुइ वर्ष अगाडि क्याराभान कन्स्ट्रक्सनले लिएको ठेक्का आयोजना निर्माण हुने समयमा कामै नगरी अर्कालाइ बिक्री गरेपछि आयोजनासम्म जान र आउन समस्य हुने भएको छ । दुई वर्षपछि अहिले त्रिवेणीमा सामान्य कामबाहेक केही पनि भएको छैन ।
अहिले कम्पनीको प्रमुख कार्यकारी अधिकृतको विज्ञापन गरिएको छ । अधिकृतको लागि अनुभवी तथा आयोजनासँग सम्बन्धित व्यक्तिलाई नियुक्ति गरिएमा मात्र आयोजना छिटो बन्ने डोल्पाबासीको भनाइ छ । डोल्पाका सबै दलले निर्णय गर्दै आयोजनाभित्रकै व्यक्तिलाई कार्यकारी अधिकृत बनाउन माग गर्दै निर्णयसमेत गरिसकेका छन् ।

 





error: Content is protected !!