हुम्ला अस्पतालमा औषधि अभाव

हुम्ला — ढुवानी समस्यका कारण हुम्ला जिल्ला अस्पतालमा औषधिको अभाव भएको छ । चालु आर्थिक वर्षमा खरिद गरेको औषधि ढुवानी नहुँदा र प्रदेशबाट प्राप्त हुने औषधि समयमा आपूर्ति नहुँदा औषधि अभाव भएको हो ।
एक साताभित्र औषधि नआए बिरामीको उपचारमा समस्या हुने जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए । उनका अनुसार अस्पताल आएका बिरामीको स्वास्थ्य परीक्षण गरेर फिर्ता पठाउनु पर्ने अवस्था आएको छ । अस्पतालमा १ महिनादेखि अधिकांश औषधिको अभाव भएको उनको भनाइ छ  । अस्पतालमा दैनिक ८० देखि ९० बिरामी जान्छन् । अस्पतालमा भने सिटामोल, खोकीको सामान्य औषधिबाहेक अन्य औषधि नभएको उनको भनाइ छ । ‘इमर्जेन्सीमा चाहिने औषधि नहुँदा बिरामीको उपचारमै समस्या भयो,’ उनले भने, ‘हामीसँग ८०/९० प्रकारका औषधि हुनुपर्ने हो तर अहिले २०/२५ प्रकारका औषधि मात्र छन्  ।’

अत्यावश्यकदेखि सबै प्रकार औषधि खरिद गरेर नेपालगन्ज विमानस्थलमा राखिएको भए पनि समयमा ढुवानी हुन नसकेको उनको भनाइ छ । उनका अनुसार प्रदेश आपूर्ति केन्द्र सुर्खेतसँग २ महिनाअघि ७५ प्रकारका औषधि माग गरे पनि अहिलेसम्म पठाएको छैन । ढुवानीका लागि सबै एयरलाइन्ससँग हारगुहार गर्दा पनि औषधिजस्तो संवेदनशील वस्तुसमेत ढुवानी गर्न नमानेको उनले गुनासो गरे ।

विशेषगरी शल्यक्रियाका आवश्यक पर्ने औषधि, सुत्केरी गराउँदा चाहिने औषधि, दम, निमोनिया, दीर्घरोगीले खाने औषधि अभाव भएको जिल्ला अस्पतालले जनाएको छ । अस्पतालमा औषधि नभएपछि उपचारका लागि आएका बिरामीले निजी मेडिकलमा औषधि किन्नुपर्ने बाध्यता छ । १५ दिनदेखि अस्पतालमा भर्ना भएका खार्पुनाथ–५ का देवबहादुर शाहीले औषधि निजी फार्मेसीबाट ल्याउनुपरेको बताए ।





error: Content is protected !!