जुम्ला–रारा अल्ट्रा म्याराथन वैशाख ११ मा

जुम्ला ः जुम्ला–रारा अल्ट्रा म्याराथनको चौथो संस्करण आगामी वैशाख ११ गते हुने भएको छ। जुम्ला सदरमुकाम खलंगाको शून्य विन्दु चन्दननाथ मन्दिरदेखि रारातालको छेउ हुटुसम्मको ४९ किलोमिटर दूरीमा म्याराथन हुन लागेको हो।

कर्णाली स्पोर्टस् क्लब जुम्लाले लोकतन्त्र दिवसको अवसरमा जुम्ला रारा अल्ट्रा म्याराथन आयोजना हुने जानकारी दिएको हो। क्लबका अध्यक्ष सरोज शाहीले म्याराथनले कर्णालीको पर्यटन प्रवद्र्धनका साथै पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारमा टेवा पुग्ने बताए ।

उनका अनुुसार खलंगामा सुरु भएर डाँफे लेक,न्यौरीघाट, चौथा, डाब, चुचेमारा, मिलीचौर हुँदै रारातालको छेउ हुटुमा पुगेर अन्तिम विन्दु तोकिएको छ । म्याराथनमा विभिन्न विधामा २८ जना खेलाडी पुरस्कृत हुने समेत आयोजकले जनाएको छ । म्याराथनमा सहभागी हुन विदेशी खेलाडीका लागि सात हजार, नेपाली धावकका लागि तीन हजार रुपैयाँ शुल्क तोकिएको छ ।

म्याराथनमा प्रथम हुनेलाई एक लाख, द्वितीयलाई ७५ हजार, तृतीय हुनेलाई ५० हजार नगदसहित प्रमाणपत्र र मेडल प्रदान गरिनेछ। यसैगरी चौथो र पाँचौ हुनेलाई २०र२० हजार नगद प्रमाणपत्र र मेडल प्राप्त गर्ने शाहीले जानकारी दिए। गिनिज बुक अफ वल्र्ड रेकर्डर एभरेष्ट म्यारथन ह्याट्रिकर हरिबहादुर रोकायको संरक्षणमा म्याराथन हुन लागेको हो ।

यो वर्ष दुई हजार खेलाडी सहभागी गराउने आयोजकले बताएको छ। म्याराथनका लागि २२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।





error: Content is protected !!