शिवालयका ६ वर्ष ः प्रमुख प्रशासकीय बदल्नमै ध्यान

जाजरकोट ः शिवालय गाउँपालिकामा जनप्रतिनिधि आएको ६ वर्षमा १० जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । शुरुमा निमित्त कार्यकारी अधिकृत भएर गुल्मी जिल्लाबाट गोमा पन्थी २०७३ फागुन ३० गते आएर १० दिन मात्रै बसेको शिवालय गाउँपालिकाको तथ्यांकमा उल्लेख छ । तर गोमा पन्थीले आफू शिवालय गाउँपालिकामा अहिलेसम्म नगएको दाबी गर्छिन् ।
गाउँपालिकाको तथ्यांक बोर्डमा उनको नामक शुरुमै राखिएको छ । ‘गोमा पन्थी पद निमित्त कार्यकारी अधिकृत जिल्ला गुल्मी अवधि २०७३ फागुन ३० गतेदेखि चैत १० गते’, बोर्डमा लेखिएको छ । उनको सरुवा भएको भोलिपल्ट देखि नै बाँफिकोट गाउँपालिका ६ रुकुमबाट लोक बहादुर कुसारी आए । उनले जसोतसो सात महिना कटाए । उनी २०७३ चैत ११ गते आएर २०७४ असोज १९ गते अन्य जिल्लामा सरुवा भए ।
उनको सरुवा भएको भोलिपल्ट देखि नै रुकुमबाट रविन्द्र बुढा क्षेत्री गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा आए । बुढा क्षेत्री २०७४ असोज २० गते आएर २०७५ जेठ २० गते सरुवा भए । उनी करिब नौ महिना गाउँपालिकामा बसे । उनको सरुवापछि अर्घाखाँचीबाट नुमानन्द दमासे प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएको तथ्यांकमा उल्लेख छ ।
उनी २०७५ जेठ २१ गते आएर साउन २७ गते नै सरुवा भए । उनी सरुवा भएकै दिन गाउँपालिकाले स्थानीय प्रमुख प्रशासकीय अधिकृतका रुपमा धनिराम शर्मालाई पायो । शर्मा २०७५ साउन २८ गते आएर २०७७ असार १५ गते सरुवा भए । उनले दुई वर्ष १० महिना गाउँपालिकामा काम गरे ।
उनको सरुवा भएको भोलिपल्टदेखि नै दैलेखबाट अनिल कुमार पाण्डे गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आए । २०७७ असार १६ गते आएका पाण्डेको २०७८ वैशाख ३१ गते सरुवा भएको गाउँपालिकाले जनाएको छ । उनले करिब १० महिना गाउँपालिकामा काम गर्ने अवसर पाए ।
पाण्डेको सरुवापछि बर्दियाबाट नरबहादुर विक २०७८ जेठ एक गते शिवालयमा आए । तर उनी आएको रेकर्ड पालिकामा भए पनि सरुवा भएको रेकर्ड नभएको गाउँपालिकाका सूचना अधिकारी प्रमोद न्यौपाने बताउँछन् । यस्तै विक पछि भेरिनगरपालिका जाजरकोटबाट सुदिप सिंह सुनार २०७८ पुस २१ गते आए । उनी पनि आएको रेकर्ड छ तर सरुवा भएको रेकर्ड गाउँपालिकासँग छैन । उनको सरुवा भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिका ४ का राजेन्द्रकुमार चन्द २०७८ चैत २१ गते आए । आएको पाँच महिनापछि उनी पनि शिवालयबाट अन्य जिल्लामा सरुवा भए ।
हाल शिवालय गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा जाजरकोट भेरी नगरपालिका २ का दल बहादुर बाँठा कार्यरत रहेका छन् । उनी २०७९ भदौ एक गते आएका हुन् । बाँठा पनि शिवालयमा कति समय टिक्छन् भन्ने कुनै टुंगो छैन् ।
यसरी हेर्दा पछिल्लो छ वर्षको अवधिमा गाउँपालिकामा १० जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । स्थानीय धनिराम शर्मा बाहेक अरु सबै एक वर्ष पनि टिक्न सकेनन् । स्थानीय सरकारको मुख्य प्रशासनिक काम गर्ने व्यक्ति नै पालिकामा टिक्न नसक्दा विकास निर्माणका साथै अन्य प्रशासनिक कामकाज र गाउँसभा र गाउँकार्यपालिकाले गरेका निर्णय कार्यान्वयनमा समस्या देखिएको छ ।










