सेवा प्रवाहसँगै मजबुत बन्दै नलगाड नगरपालिका


सुर्खेत / भौतिक संरचना सहित सेवा प्रवाहमा समेत जाजरकोटको नलगाड नगरपालिका अब्बल भएको छ । सबै वडाहरुमा वडा कार्यालय निर्माण गरि आफ्नो भवनबाट सेवा प्रवाह गरेको नलगाड नगरपालिकाले सबै वडाबाट स्वास्थ्य सेवा समेत दिएको छ ।
आफ्नै भवन सहित स्वास्थ्य सेवा दिएको नलगाड नगरपालिकाले वडा नम्वर ९ र १३ मात्र सडक पुर्याउन बाँकी रहेको छ । वडा नम्वर १ र १२ उच्च व्यवस्थापन सहितको सेवा दिनका लागि नयाँ भवन निर्माण कार्य समेत जारी रहेको छ । वडा नम्वर ७ र ११ मा उच्च व्यवस्थापन सहितको सेवा प्रवाह भइसकेको नगरप्रमुुख डम्वर रावतले जानकारी दिनुुभयो । अब वडा नम्वर ४ र १० मा समेत नयाँ प्राविद्यि जडान गर्नका लागि भवन निर्माणको काम गरिने उहाँले जानकारी दिनुुभयो । त्यस्तै एम्वुलेन्स सेवा समेत नगरपालिकाले ल्याइसकेको छ । भाडाको भरमा चलेको सबै कार्यालयहरु आफ्नै भवनमा सञ्चालनमा आएपछि सेवा लिन र दिन समेत व्यापक सजिलो भएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिनुभयो ।
स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा समेत सबै पालिकालाई उछिन्दै नलगाड एक नम्वरमा आएको छ । सामाजिक सुरक्षा भत्ता वितरण जस्तो जनतासँग जोडिएको कार्यलाई नगरपालिकाले बैंकको सहभागितामा सबै वडाबाट बितरण गरेको छ । बैंक आउन नसक्ने , आउन र जान मात्र धेरै समय लाग्ने ठाउँका जेष्ठ नागरिकलाई घरमै पुुगेर भत्ता हातमै पारिएको छ । शान्ति सुरक्षालाई भरपर्दो बनाउका लागि मुकाम क्षेत्रमा प्रहरीको सहकार्यमा सिसिटिभी क्यामरा जडान गरी शान्ति सुरक्षामा हुन सक्ने समस्यलाई हल गर्ने काम समेत नगरपालिकाले गरेको छ ।
आर्थिक रुपमासमेत कमजोर भएकाले आफ्नो उपचार गराउन नसक्ने अपाङग, अशक्त तथा असहाय बालबालिकाको जाजरकोटको नलगाड नगरपालिकाले उपचार गर्न थालेको छ। पहिलो चरणमा नलगाड नगरपालिका–४ स्थित जनता प्रावि पिपलचौरका ७ जना विद्यार्थीलाई बनेपास्थित अस्पतालमा लगेर उपचार गरिएको छ । दोस्रो चरणमा फागुन १४ गते पालिकाभित्रका शारीरिक रुपमा अशक्त तथा असहाय सबै बालबालिकालाई नगरपालिकास्थित दल्लीमा शिविर सञ्चालन गरेर उपचारमा लगिँने छ ।
दल्लीमा उपचार सम्भव नभएका बालबालिकाको बाहिर लगेर उपचार गरिने प्रमुख रावतले बताउनुभयो । उपचार गर्ने आर्थिक हैसियत नभएका अभिभावकले समेत नगरपालिकाले सबै उपचार निःशुल्क गरिदिने भएपछि खुशी भएको बताएका छन्। यसअघि नगरपालिकाले आर्थिक रुपमा कमजोर परिवारका सदस्य बिरामी भए वा जटिल रोग लागे उपचारका लागि आर्थिक सहयोग गर्दै आएको थियो।
कार्यविधि बनाएर उक्त सहयोग गर्दै आएको अधिकृत गिरीले जानकारी दिनुभयो । नगरपालिकाकै पहलमा अहिले पालिका स्तरमै आँखाको उपचार सेवासमेत शुरु भएको छ। आँखाको उपचार गर्न सदरमुकाम आउनुपर्ने बाध्यता अन्त्य भएसँगै यहाँका सर्वसाधारण घर, आँगनमै जाँच गरि सेवा लिइरहेका छन्। पशु चौपायलाई समेत पिपिआर खोप देखि अन्य सेवा समेत सबै वडामै गएर दिइएको छ ।
कृषि क्षेत्रमा आत्मनिर्भर हुन नलगाड नगरपालिकाले १० वटा बालीको पकेट क्षेत्र बनाएर काम गरिरहेको छ । आयतित वस्तुलाई भन्दा आफ्नै उत्पादनमा जोड दिएर कृषिजन्य वस्तु उत्पादन गरी निर्यात गर्ने उद्देश्यले विभिन्न बालीको पकेट क्षेत्र बनाएर काम थालिएको नगरपालिकाका अधिकृत गिरीले जानकारी दिनुभयो । नगरभित्रबाट मह, लसुन, मकैलगायत वस्तु जिल्ला बाहिर बिक्री हुने गरेको उहाँले बताउनुभयो ।
नगरपालिकाले मौरीपालन पकेट क्षेत्रका रूपमा वडा नं १, २ र ४ लाई लिएको छ । सुन्तला पकेट क्षेत्रका रुपमा वडा नं ३, अलैँचीका लागि वडा नं ३, लसुनका लागि ९, १० र ११ वडालाई पकेट क्षेत्रका रूपमा लिइएको छ । त्यस्तै धानका लागि वडा नं ७ र ८, मकैका लागि वडा नं ५, आलुका लागि ३ र ६ नं वडालाई पकेट क्षेत्रकारूपमा लिइएको छ । कागतीका लागि वडा नं ५, फलफूलका लागि वडा नं १३, तरकारी का लागि २, ४, ५, ७ र ८ नं वडालाई पकेट क्षेत्रका लिइएको छ ।
क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत छ हेक्टर जमिनमा हिउँदे आलु, १० हेक्टर जमिनमा उन्नतजातको गहुँको बीउ उत्पादन, एक सय ९० हेक्टरमा उन्ततजातको तोरीको बीउ उत्पादन गरिएको छ । त्यस्तै छ हेक्टर जमिनमा प्याजको उन्तत बीउ, १० हेक्टर जमिनमा लसुनको बीउ लगाइएको छ । त्यस्तै नलगाड नगरपालिका वडा नं ७ मा छ हेक्टरमा गहुँको मूलबीउ उत्पादन भइरहेको छ ।
त्यस्तै वडा नं ४ को ४० हेक्टर जमिनमा तोरीको मूलबीउ उत्पादन भइरहेको कृषि शाखाका बालकृष्ण आचार्यले बताउनुभयो । प्याज, रायो र मुलाको उन्नत बीउसमेत वडा नं ५ को रानीखेतमा उत्पादन भइरहेको छ । स्थानीय सरकार सञ्चालन भएपछि कृषिमा लगानी बढाएसँगै यहाँ उत्पादन दरसमेत बढेको प्रशासकीय अधिकृत गिरीले उल्लेख गनुभयो ।
नलगाडको उत्पादन सुर्खेत, नेपालगञ्ज र काठमाडौँसम्म बिक्री हुने गरेको छ । सिँचाइयोग्य भू–भागमा सिँचाइ सुविधा, कृषिमा यान्त्रिकीकरण र उपयुक्त समयमा मल उपलब्ध गराइएको उनको भनाइ थियो । भेरी करिडोरसँग अधिकांश भू–भाग जोडिएका कारण यहाँ उत्पादन भएको खाद्य सामग्री बाहिर लैजानसमेत सजिलो भएको छ ।
त्यस्तै नलगाड जलविद्युत् आयोजनाले निर्माण गरेको सडकसमेत यही पर्दछ । नगरपालिकाको कूल ३८ हजार सात सय ४४ हेक्टर जमिनमध्ये तीन हजार चार सय ४० खेतीयोग्य जमिन रहेकामा २७ सय ५६ हेक्टरमा खेती गरिएको छ । तेइसवटा महिला कृषक समूह सक्रिय भएर काममा लागेको नगरपालिकाले जनाएको छ । त्यस्तै दुईवटा पुरुष कृषक समूहले पनि काम गरिरहेका छन् । नगरपालिकामा एक सय ६३ मिश्रित कृषक समूह रहेका अधिकृत गिरीले जानकारी दिए ।
आर्थिक वर्ष २०७६÷७७ मा १३ टन, २०७७÷७८ मा १४ टन, २०७८÷७९ मा तीन दशमलव २२ टन मह उत्पादन भएको नगरपालिकाले जनाएको छ । त्यस्तै आव २०७६÷७७ मा ३५ टन, २०७७र७८ मा ३५ टन, २०७८÷७९ मा २५ टन सुन्तला उत्पादन भएको थियो । आव २०७६÷७७ मा ८० टन, २०७७÷७८ मा एक सय टन, २०७८÷७९ मा एक सय ५० टन लसुन उत्पादन भएको थियो ।



