सिंन्जा विकासका लागि चासो

सुर्खेत ः नेपाली भाषाको उद्गम स्थलमा रुपमा आफूलाई विश्वभर चिनाएको जुम्लाको सिन्जा पर्यटकको पखाइमा रहेको छ । ११ वटा गाविसमा फैलिएको यो क्षेत्र अहिले तीन वटा पालिकामा विभाजित भएको छ । सिन्जा प्राकृतिक सुन्दरता र सांस्कृतिक परम्पराको र इतिहासको नमुना रुपमा आफूलाई संसारमा उचो नाम राखेको छ । यहाँ नेपाली भाषाको ताम्रपत्र, स्वर्णपत्र, शिलालेख मात्र होइन प्राचीन तथा ऐतिहासिक सम्पदा सुरक्षित अवस्थामा रहेको पाइन्छ ।
कनकासुन्दरी–४ का वडाध्यक्ष धनमानसिंह हमालका अनुसार बाइसे–चौबिसे शासनकालमा सिन्जा एक शक्तिशाली राज्य रहेर काम समेत गरेको थियो ।
ह्यांगा देवता मन्दिर, लेकपर लामा मन्दिर, कनकासुन्दरी मन्दिर, पान्डव गुफा, बुढुमष्टा, कनकासुन्दरी नौधारा मन्दिर, विराट दरबार, नाख्या दुला, बातामालिका महादेव मन्दिर लगायत तीन दर्जन बढी साना–ठूला धार्मिकस्थल छन् ।

त्यस्तै सिन्जा, सिहु बाघ, ठूलाठूला ढुंगामा कुँदिएका चित्रकला, संकेत अक्षर र अंकहरू लेखिएका शिलालेख अहिले संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको बताइन्छ । झन्डै ३४६१ वर्षअघि अर्थात् इसापूर्व १ मा राजा जालन्दरले सिन्जा राज्य स्थापना गरेका थिए। राजा जालन्दर शिवका भक्त थिए। शिवको अघिल्लो अक्षर शि र आफ्नो नामको अघिल्लो अक्षर जा लाई जोडेर सिन्जा नाम रहन गएको जनश्रुति भेटिन्छ। खस राजा नागराज र उनका उत्तराधिकारीले सिन्जा राज्यमा झन्डै ३ सय वर्षसम्म शासन गरेको इतिहास छ।

खस राजाले पूर्वमा नेपाल उपत्यकामा दुई पटक आक्रमण गरी करत राज्य बनाएका थिए भने पश्चिमको कुमाउ, गडवालसम्म सिन्जा राज्यको क्षेत्र भएको इतिहाससम्बन्धी जानकार रमानन्द आचार्यले बताए। राजा बलिराजका पालामा जुम्ला राज्य समृद्ध र शक्तिशाली रहेको थियो, उनले भने, नेपाल एकीकरणको अभियानमा शिवनारायण खमी नेतृत्वको गोर्खाली सेनाले १८४६ असोज ३ गते कब्जा नगरुन्जेल सम्म सिन्जा राज्यको अस्तित्व कायमै थियो।आचार्यका अनुसार नेपाली भाषा, सभ्यता, संस्कृति सिन्जाबाटै सुरु भएको हो।

खस भाषा र सभ्यताका संरक्षणका लागि खस शब्दकोश तयार हुँदै छ। शब्दकोश प्रकाशनपछि तत्कालीन सिन्जा राज्यभित्र बोलिने शब्द, भाषा संस्कृति, रीतिरिवाज, खेतीप्रणाली, शिक्षाको अवस्था झल्किने अपेक्षा गरिएको छ । सिन्जा सभ्यता र सिन्जा साम्राज्यभित्रको इतिहास बचाउन पूर्व प्रदेशसभा सदस्य नरेश भण्डारीले सिन्जा सभ्यता संरक्षण तथा विकास विधेयक कर्णाली प्रदेशसभामा दर्ता गराएका थिए। विधेयकमाथि छलफल नहुँदै प्रदेशसभाको कार्यकाल सकिएकाले उक्त विधेयक अहिले निष्क्रिय भएको छ।

अहिले सोही विद्यायक संघीय प्रतिनिधिसभामा समेत टेबुल गर्न गृहकार्य सुरु भएको भण्डारीले बताए ।
सरकारले सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक अगाडि बढाउने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विधेयक अगाडि बढाउन तोक लगाएर अगाडि बढेको सचिवालयले जनाएको छ ।

शुक्रवार प्रधानमन्त्री प्रचण्डले तोक लगाएपछि पर्यटन मन्त्रालयमा अगाडि बढाईएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ। सिञ्जा विधेयक दर्ता भएर पर्यटन मन्त्रालयमा गईसकेको र अन्य प्रक्रियाका लागि काम शुरु हुने भएको छ ।
कर्णाली प्रदेशसभामा जुम्लाबाट प्रतिनिधित्व गर्ने पूर्व सांसद नरेश भण्डारीले कर्णाली सभामा गैर सरकारी विधेयकको रुपमा दर्ता गराएका थिए । कर्णाली प्रदेशसभामा पारित हुन नसकेपछि पूर्व प्रदेशसभा सदस्य भण्डारीले नयाँ सरकार सँग पहल गरेर अगाडि बढाएका हुन्। भण्डारीले विधेयक सरकारले अगाडि बढाएपछि खुशी व्यक्त गरेका छन् । भण्डारीका अनुसार कर्णाली प्रदेश सभामा पारितिको अन्तिम संघारमा पुगेरपनि सामाजिक विकास समितिमा तुहाइएको सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयकले पुनर्जीवन प्राप्त गर्ने भएको छ ।

भण्डारीका अनुसार विभिन्न मन्त्रालयहरूको राय सहमति पश्चात मन्त्रिपरिषदबाट पारित भएर संघीय व्यवस्थापिकामा पेश हुनेछ । विधेयक अगाडि बढ्दा कर्णालीवासीहरु खुशी भएका छन् ।










