सालीको बिहेमा झगडा हुँदा न्याय , उपचारमा हिडेका दिपक सहित १२ मृत्यु
हेमन्त केसी
जाजरकोट ः जाजरकोटको छेडागाड नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा गाडीका चालक भगवतीमाइ गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र सोही वडाका अर्का अम्मर खड्का रहेका छन् ।
त्यसैगरी जारजरकोट छेडागाड नगरपालिका वडा नं ५ का दीपक अधिकारी, सोही वडाकी नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निसा अधिकारीको मृत्यु भएको छ । त्यस्तै घाइते जैभान अधिकारीको उपचारका क्रम्मा सुर्खेत स्थित प्रदेश अस्पतालमा मृत्यु भएको छ । सोही नगर वडा नं ६ वीरबहादुर खत्रीको मृत्यु जिल्ला प्रहरी कार्यालय जाजरकोट डिएसपी सन्तोष निरौँलाले बताउनुभयो ।
कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको निजी जीप छेडागाड नगरपालिका वडा न ३ जेवाबाट सोही नगरको वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको भिरबाट खसेको थियो ।
बिहेमा विवादपछि प्रहरीमा उजुरी दिन हिँडेका थिए दिपक
छेडागाड नगरपालिका ५ लेवाका दिपक अधिकारीको ससुराली हो झल्कुवा । साली सम्झनाको विहेको भोज खान उहाँ आइतबार त्यहाँ पुग्नुभएको थियो । बिहेमा रमाइलो गर्दा गर्दै आइतबार दिपक र छेडागाड नगरपालिका ४ भल्कुवाका महेश थापाको बीचमा बिवाद भयो ।
विवाद बढ्दा जाँदा दिपक र महेशको बीचमा कुटाकुट भयो । दिपक घाइते भए । गाउँलेहरुले झगडा छुट्याए । तर दिपकलाई उक्त झगडामा आफूलाई अन्याय भएको भन्दै सोमबार इलाका प्रहरी कार्यालय वडावनमा जाने र त्यसपछि थलह बजार गएर उपचार गर्ने भन्दै दैलेखबाट जन्ती लिएर आएको जिपद्धारा प्रहरी कार्यालय सम्मा पुर्याइदिन आग्रह गनुभयो ।
दिपकसँगै बिहेमा भोज खाना आएका अन्य सर्वसाधारणहरु पनि सोही जिपमा फर्केने क्रम्मा उक्त जिप दशेराको भिरमा दुर्घटना भयो । उपचार र न्याय माग्न वडावन जाने दिपक सँगै अन्य विहे भोज खाना आएका १२ जनाको मृत्यु हुन पुग्यो ।