ल्यापटप शिक्षकले घरमा लिए, डेस्कटप विद्यार्थीले छुनै पाउँदैनन्

जाजरकोट  ,२३ मंसिर ः जाजरकोट भेरी नगरपालिका– ११ जगतिपुर स्थित शिव शंकर माध्यमिक विद्यालयमा रहेका कम्प्युटर शिक्षकले घरमा लिदा विद्यार्थीले छुन समेत पाएका छैनन । ४५ वटा कम्प्युटर मध्य १३ वटा ल्यापटप र ३२ वटा डेस्कटप बिभिन्न निकायबाट विद्यालयलाई उपलब्ध गराएको थियो । ति कम्प्युटरहरु विद्यार्थीहरुले ढाटैबाट देख्न बाहेक अन्य काम कुनै पनि गर्न नपाएको बताएका छन् । विद्यार्थीका लागि भनेर उपलब्ध भएका ल्यापटपहरु शिक्षकले घरमा लिएर राखेको विद्र्यीहरुले आरोप लगाएका छन् । प्रयोगशालामा राखेपछि बिग्रन्छन् भन्ने बहाना बनाएर ल्यापटपहरु शिक्षकले घरमा लिएको विद्यार्थीको भनाइ छ । विद्यालयलबाट निर्णय नै गरेर १३ जना शिक्षकलाई ल्यापटप दिइएको छ ।

प्रयोगशालामा भएका कम्प्युटर पनि विद्यार्थीले छुन पाउँदैनन् । जनशक्ति र विद्युतको अभावको बहाना बनाउँदै विद्यालयले प्रयोगात्मक अभ्यास समेत नभएको विद्यार्थीको भनाइ छ । विद्यालयले निजी स्रोतबाट एक जना शिक्षक राखिएको छ तर ती शिक्षकले पनि विद्यार्थीलाई पढाउँदैनन् । उनले कहिलेकाँही विद्यार्थीलाई पढाए पनि अधिकांश समय कम्प्युटर सम्बन्धी काम मात्रै गर्ने गरेको विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क नेपाली बताए ।

विद्यालयमा कम्प्युटर चलाउनका लागि पहिले सोलार व्यवस्था गरिएको थिए भने अहिले विद्युत नै जडान गरिएको छ । तर विद्यालयको भद्रगोल व्यवस्थापनका कारण विद्यार्थीहरुले कम्प्युटर छुन पाउँदैनन् । सैद्धान्तिक विषय मात्रै पढेर परीक्षा दिने गरेको विद्यार्थी श्याम शर्मा बताउँछन् । ‘कितावमा जे लेखेको छ, त्यही पढ्छौँ, सोही अनुसार परीक्षा दिन्छौँ’ एक विद्यार्थीले भने, ‘प्रयोगात्मक कक्षा नहुँदा कम्प्युटर खोल्न र बन्द गर्नसमेत जानेका छैनौैँ ।’

पाठ्यक्रम विकास केन्द्रले २०७० देखिनै कक्षा ६ बाटमाथि कम्प्युटर शिक्षालाई अनिवार्य गरेको छ । कक्षा ९ र १० मा ऐच्छिक कम्प्युटर शिक्षा लागु गर्ने भनिएको छ । पाठ्यक्रमअनुसार कम्प्युटर विषयको परीक्षा बनाउँदा ५० प्रतिशत सैद्धान्तिक र ५० प्रतिशत प्रयोगात्मक बनाउनुपर्ने व्यवस्था छ । तर जाजरकोटका जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा देखावटी मात्रै बनेको छन् ।

कम्प्युटर ल्याब छ, जनशक्ति छैनन्
शिव शंकर माविमामा कम्प्युटर ल्याब (प्रयोगशाला कक्ष) छ । विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गराउन शिक्षा विकास कार्यालय र भेरी नगरपालिकाले १४ लाख बढी रकम खर्चेर प्रयोगशाला स्थापना गरिदिएका छन् ।

ल्याबमा शिक्षकले घरमा लिएका ल्यापटप बाहेक ३२ वटा डेस्कटप कम्प्युटरहरु छन् । तर जनशक्ति अभावमा प्रयोगशाला नै प्रयोगविहीन बनेको छ । लामो समयदेखि कम्प्युटर नचलाउँदा १२ वटा डेस्कटप त बिग्रिसकेका छन् ।

२० वटा डेस्कटप चालु अवस्थामा छन् । तर पनि जनशक्ति नभएकै कारण विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गराउन नपाएकोे प्राधानाध्यापक रामलाल आचार्यले बताए । ‘जनशक्ति अभावकै कारण कम्प्युटर शिक्षा प्रभावकारी बन्न सकेको छैन’ उनले भने, ‘प्रयोगात्मक अभ्यास गराउने जनशक्ति त के विद्यालयमा कम्प्युटर विषय पढाउने शिक्षक नै छैनन् ।’ विषय शिक्षक नभएका कारण कक्षा ६ देखि ८ सम्म लेखापालले कम्प्युटर विषय पढाउने गरेका छन् ।

विद्यार्थीका लागि ल्याएको ल्यापटप शिक्षकलाई उपहार
शिव शंकर माविले विद्यार्थीको लागि ल्याएका कम्प्युटर शिक्षकलाई उपहार जस्तै गरेर वितरण गरेको छ । विद्यालयबाट आधिकारीक निर्णय नै गराएर शिक्षकलाई ल्यापटप वितरण गरेको प्राधानाध्यापक  रामलाल आचार्यले जानकारी दिए ।

विद्यालय कर्मचारी प्रशासनको बैठकबाट निर्णय गरेर विभिन्न तहमा कार्यरत १३ जना शिक्षकलाई ल्यापटप वितरण गरेको उनले बताए । कक्षा ११, १२ मा अध्यापन गराउने शिक्षकहरु बिनिता बटाला, रगबहादुर मल्ल, गणेश वली, मावि तहका विरप्रसाद शर्मा, शनत शर्मा र रुद्र रानालाई ल्यापटप वितरण गरेको हो ।

त्यस्तै निमाविका शारदा शर्मा, एमबहादुर रोकाय र सञ्जय भारती र प्रावितर्फका ईश्वरी जैसी र पिताम्बर शर्मालाई वितरण गरिएको हो । वितरण गरिएका १३ वटा ल्यापटपम मध्वटा सामाजिक विकास कार्यालय जाजरकोटले र बाँकी अन्य अनुदान स्वरुप दातृ निकायले दिएका थिए । ल्यापटप पाएका शिक्षकले प्रश्नपत्र बनाउने बाहेक बाँकी घरमा फिलम र गीतहरु सुन्ने काममा प्रयोग गर्दै आएका छन् । शिक्षकको क्षमता विकासका लागि बाँकी कार्यरत शिक्षकका लागि पनि ल्यापटप माग गरिएको प्राधानाध्यापक आचार्यले बताए ।

यता भेरी नगरपालिकाले भने घरमा कम्प्युटर लैजाने शिक्षक र दिने विद्यालयलाई कारबाही गरिने बताएको छ । विद्यार्थीले कम्प्युटर छुनसमेत नपाउने तर शिक्षकले ल्यापटप व्यक्तिगत प्रयोजनका लागि घरमा लिइएको भेटिए कानूनी कारबाही गर्ने नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख अमृत पुनले बताए । विद्यालयमा कम्प्युटर शिक्षक अभाव भए नगरपालिकालाई जानकारी गराउनुपर्ने तर जनशक्ति अभावको बहाना बनाएर विद्यालयको सम्पत्तीलाई दुरुपयोग गर्न नहुने उनको भनाइ छ ।





error: Content is protected !!