वर्षदिनमै जीर्ण बन्यो मध्यपहाडीलोक मार्ग ः सडक भासियो, पर्खालहरू भत्किए

जाजरकोट /  मध्यपहाडी लोकमा अन्तरर्गत जाजरकोट सडक खण्डको कुल ८३ किलोमिटर सडक मध्ये कुदु देखि स्याउली बजार सम्मको १७ किलोमिटर क्षेत्रमा सडक धेरै जीर्ण बनेको छ ।

कुदु देखि स्याउली (गिमा) सम्म पिचको काम पूरा भएपनि सडक भत्किदै गएको छ । सो क्षेत्रको आधा दर्जन भन्दा बढी क्षेत्रमा सडक भास्सिएको छ । केही ठाउँमा खाल्डा नै पर्न सुरू गरेको छ । कमजोर निर्माण सामग्री प्रयोग भएकै कारण सडक जीर्ण बनेको हो । ह्युमपाइप, पर्खाल र नाला निर्माण गरिएका क्षेत्रमा सडक बढी जीर्ण बनेको योजना कार्यालय दैलेखले जनाएको छ ।

गुणस्तरहीन सिमेन्ट प्रयोग गरेका कारण पर्खाल भासिएको हो भने माटो भेरेर ह्युमपाइप राख्दा सडक भत्किन पुगेको आयोजनाका इन्जिनियर हुमनाथ पौडेलले बताए । मापदण्ड विपरित निर्माण गरिएका पर्खालहरू भत्काएर पुनर्निर्माण गर्न लगाएको उहाँले बताउनुभयो ।

‘इन्जिनियरको आँखा छलेर गुणस्तरहीन निर्माण गरिएका संरचनाहरू भत्काएर पुनःनिर्माण गरिएको छ’, उहाँले भने, ‘अब पनि गल्ती हुन नदिन ल्याव टेष्ट गर्न लगाएका छौँ ।’ कुदुदेखि गिमासम्मको खण्डमा कमसल सामग्रीका कारण केही पर्खालहरू भत्किएकाछन् । भत्किएका ति पर्खालहरू पुनःर्निर्माण गर्न थालिएको छ ।

कमसल सामग्री प्रयोग गरेर निर्माण गरिएका पर्खालहरू ठेकेदारले पुनःर्निर्माण गर्न लागेको उहाँले बताउनुभयो । ‘प्राविधिक समस्यले कमसल सामग्री प्रयोग भएको ठाउँमा पुनःनिर्माण गर्न थालेका छौँ’ सडक निर्माणको ठेक्का लिएको सिंह एण्डब्रोदर्स कम्पनीका प्रतिनिधि विश्वास उप्रेतीले भन्नुभयो, ‘जानाजान गल्ती भएको होइन, प्राविधिक कारणले त्रुटी भएका ठाउँमा सच्चाएका छौँ ।’ कुनै ठाउँमा प्राविधिक कमजोरी भएपनि अधिकांश ठाउँमा जमिन कमजोर भएका कारण सडक भासिएको उहाँको भनाइ छ । गुणस्तरहीन सामग्री प्रयोग गरिएर बनाइएका पर्खाल भने पुनर्निर्माण गर्न थालिएको उप्रेतीको बताउनुभयो । एक÷दुईठाउँमा मात्रै गल्ती बस गुणस्तरहीन सामग्री प्रयोग भएको उहाँको दाबी छ ।

तर स्थानीयले भने कुदुदेखि गिमासम्मको अधिकांश क्षेत्रमा कमसल सामग्री प्रयोग आरोप लगाउँदै आएका छन् । ठेकेदारले सडक निर्माणमा कमसल निर्माण सामग्री प्रयोग भएकै कारण वर्ष दिन नपुग्दै सडक भासिने, अधिकांश पर्खालहरू भत्किने र ह्युमपाइप राखिएका ठाउँहरू जीर्ण हुने गरेको स्थानीय बताउँछन् । ‘वर्षदिन नहुँदै सडक ठाउँ–ठाउँमा भासिएको छ, कतै खाण्डाखुल्डी पर्न सुरू भएको छ’ भेरी नगरपालिका ८ का भद्रबहादुर शाहीले भन्नुभयो, ‘कमसल सामग्री प्रयोग गरेकै कारण सडक भासिने र पर्खालहरू भत्कने गरेको हो ।’

ठेकेदारले पुरानो सिमेन्ट र कमजोर सरिया प्रयोग गरेर पर्खाल बनाएको तर स्थानीय सरकार र सम्बन्धित निकायले प्रभावकारी निरीक्षण नगरेको उहाँको भनाइ छ ।

कुदुदेखि गिमासम्मको खण्डमा ठेकेदारले कमसल सामग्री प्रयोग गरिएको भन्दै त्यस क्षेत्रका स्थानीयले काम नै अबरूद्ध पारेका थिए । आफूहरूले ठेकेदारको विरोध गर्दा पनि वडा कार्यालय र आयोजनाले कुनै वास्ता नगरेको अर्का स्थानीय नरबहादुर शाहीले बताउनुभयो । ‘सुरूमै निर्माण सामग्री कमसल भयो भनेर हामीले विरोध गरेका थियौँ तर कसैले वास्ता गरेनन्’, उहाँले भन्नुभयो, ‘उ बेला आयोजना र स्थानीय सरकार चुपचाप बसे ।’ तर निर्माण कम्पनीले भने स्थानीयले भने गुणस्तरीय सामग्री प्रयोग भएको दाबी गर्दै आएको छ ।

स्टामेट विपरित काम भएपछि भुक्तानी रोकियो
मध्यपहाडी लोकमार्ग अन्तरर्गत जाजरकोटकोट मन्टाभिरमा स्टमेट अनुसार काम नभएपछि भुक्तानी रोकिएको छ । वर्षाँैदेखि मन्टाभिरको काम स्टमेट अनुसार नभएपछि आयोजनाले ठेकेदारलाई भुक्तानी दिएको छैन । ‘ठेकेदारले सम्झौतामा उल्लेख भएको स्टामेट अनुसार काम गरेन्’, मध्य पहाडी लोकमार्ग योजनाको कार्यालय दैलेखका प्रमुख युवराज पोख्रेलले भन्नुभयो, ‘स्टमेट अनुसार काम नहुँदा सम्मा भुक्तानी दिन मिल्दैन ।’ अब स्टामेट अनुसार काम नगर्दा सम्मा भुक्तानी नदिने बरू ठेक्का नै तोड्न सक्ने कार्यालयको भनाइ छ ।

ठेकेदार कम्पनीले भने स्टामेट अनुसार काम गरिरहेको दाबी गरेको छ । रकम भुक्तानी नभएपछि हालः सडकको सो क्षेत्रमा बाँकी काम रोकिएको छ । लोकमार्ग अन्तरर्गत जाजरकोट खण्डमा पर्ने कुल ८३ किलोमिटरमध्ये ५० किलोमिटर कालोपत्रे भइसकेको छ ।

जसमध्ये मन्टाभिरमा मात्रै ट्रयाक खोल्न बाँकी छ । ट्रयाक खुल्न बाँकी रहेको मन्टाभिर सहित ३३ किलोमिटर खण्डमा कालोपत्रे हुन बाँकी छ । कुल खण्डमध्ये ५४ किलोमिटर सडक निर्माणको जिम्मा सिंह एण्डब्रोदर्स कम्पनीले लिएको छ । कुल ५५ करोड ६३ लाख ३ हजार ४७६ रूपैयाँमा २०७८ माघ ४ गते सम्म सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । तर कोरोना महामारी कारण आयोजनाको म्याद थप गरेर २०८० असार २६ गते सम्म म्याद थप गरेको हो । तर भुक्तानी नभएकै कारण बाँकी खण्डको काम रोकिएको निर्माण व्यवसायीले बताएको छ । मापदण्ड अनुसार काम भएका क्षेत्रको कुल ४५ करोड ४६ लाख ९ हजार १५७ रूपैयाँ आयोजनाले ठेकेदारलाई भुक्तानी दिइसकेको छ ।

ठेकेदारबाट ठगियौँ ः स्थानीय
यता सडक निर्माणको काममा खटिएका स्थानीयले भने आफूहरू ठगिएको बताएका छन् । सम्पूर्ण ज्याला नदिएर ठेकेदारले ठगेको स्थानीयले बलबिर चन्दले बताए । ‘कालापहाड जान छोडेर सडकको काम गरौँ’उनले भने, ‘तर ठेकेदारले पुरै कामको ज्यालादिएन ।’ भेरी नगरपालिका ८ भद्र शाहीको २ लाख ५० हजार, निलु चन्दको ५५ हजार, ललित शाहीको २ लाख ५२ हजार रूपैयाँ ठेकेदारले नदिएको गुनासो गरे । तर ठेकेदार उप्रेतीले सबैलाई ज्याला दिइसकेको दाबी गरे ।

दश वर्ष सम्मा भेरीमा पुल निर्माण नहुँदा ठेक्का तोडियो


मध्यपहाडी लोकमार्ग अन्तरर्गत जाजरकोट भेरी नगरपालिका–१३ र रुकुम पश्चिम चौरजहारी नगरपालिका बीचमा रहेको भेरी नदीमा निर्माण गर्ने भनिएको पुलको ठेक्का तोडिएको छ । १० वर्ष सम्मा निर्माणको जिम्मेवारी लिएको कम्पनीले काम नगर्दा ठेक्का तोडिएको हो ।
२०६९ असार २९ गते वाईपि कन्ट्रक्सन प्राली ललिपुलसँग भ्याटसहित १४ करोड ८४ लाख २७ हजार ८ सय ८९ रुपैयाँ ५० पैसामा सम्झौता भएको उक्त पुल १० वर्ष सम्मा पनि काम नभएपछि बल्ल ठेक्का तोडिएको छ । २०७३ चैत्र १० गतेसम्म १८ प्रतिशत काम गरेर २ करोड ७० भुक्तानी समेत लिएको निर्माण व्यवसायीले पटक पटक तोकता गर्दा पनि काम नगर्दा समस्य हुँदै आएको थियो । ठेक्का सम्झौता तोडिएसँगै नयाँ ठेक्काको प्रकृया अगाडी बढाइएको लोकमार्ग योजना कार्यालय दैलेखले जनाएको छ।





error: Content is protected !!