मुगुमा पाँच वर्षमा निर्माण भएन टावर

सुर्खेत ः पाँच वर्ष अघि फोरजी टावर निर्माणको लागि सुरु गरिएको काम मुगुमा अहिले सम्मा पुरा हुन सकेको छैन। पाँच वर्षअघि फोरजी टावर विस्तारको जिम्मा पाएको निर्माण कम्पनीले समयमा काम सम्पन्न नगर्दा ग्रामीण भेकका सेवाग्राही फोरजी सेवाबाट वञ्चित भएका छन्।
जिल्लाको ग्रामीण बस्तीमा टावर विस्तारको जिम्मा लिएको जलजला फाउन्डेसन कन्स्ट्रक्सन प्रालि र सीसी एसआई प्रालिले निर्माण कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्दा सबैतिर फोरजी सेवा विस्तार हुन नसकेको नेपाल टेलिकम मुगुका निमित्त प्रमुख गणेश डीसीले बताए ।
फोरजी टावर निर्माण गर्नका लागि सोरु गाउँपालिकाको कचियाकोट, नाथार्पु, खत्याड गाउँपालिकाको गम्था, श्रीकोट , छायानाथ रारा नगरपालिकाको पिना, थार्प र मुर्माटप, र मुगमकार्मारोङ गाउँपालिकाको चिमात्त, किम्रीलगायतका ठाउँमा फोरजी टावर विस्तारका लागि जलजला फाउन्डेसन कन्स्ट्रक्सन प्रालि र सीसी एसआई प्रालिले फोरजी टावर निर्माणका लागि आर्थिक वर्ष ०७४/०७५ मै सम्झौता गरेको भए पनि अहिलेसम्म काम सम्पन्न गरेका छैनन्।
निर्माणाधीन नौवटा टावरमा जलजला फाउन्डेसनले छवटा टावरका निर्माण गर्न सामग्री कार्यस्थलमा ढुवानी गरेको र सीसी एसआईले जिम्मा पाएको तीनवटा टावर निर्माण गरिएको भए पनि सञ्चालनमा नआएको डिसीले बताए। समयमै टावर निर्माणका लागि निर्माणकर्तालाई ताकेता गरिएको भए निर्माण व्यवसायीले नटेरको बताए ।
फोरजी टावर निर्माणका लागि सबै सामग्री ढुवानी भइसकेकाले फोरजी उपकरण खरिद गरेर जडान गर्न सकिने अवस्थामा रहेको जलजलाका फाउन्डेसनका सञ्चालक कमल पौडेलले बताए । आफूहरूले फोरजी उपकरण खरिदका लागि टेलिकमसँग रकम माग गरेको भए पनि निकासा नहुँदा काम सम्पन्न गर्न नसकिएको उनको भनाइ छ।
यता जलजलाले मुगमकार्मारोङ गाउँपालिकाको चिमात्तमा टावर निर्माणका सामग्री बाटोमै फाल्दा अलपत्र परेको स्थानीय बमबहादुर बुढाले जानकारी दिए ।










