७१० बुझाउदैँ,घाँस काट्न जाँदै
हेमन्त केसी
जाजरकोट ः सामुदायिक वनमा घाँस काट्नका लागि भेरी नगरपालिका–११ कटीगाउँका दलित समुदायले रु७१० रुपैयाँ तिर्नु परेको छ ।
सामुदायिक वन समुहमा रहेको जंगललाई हेरचाह गर्ने कटुवाललाई तलव दिनका लागि प्रति व्यक्तिले रु ७१० तिर्नुपरेको हो । वर्षमा एक पटक खोलिने जंगलमा रकम बुझाउने व्यक्तिले मात्र घाँस प्रयोग गर्न पाउने गरेका छन् । घाँस छोड्ने दिनमा वन हेर्ने कटुवालले गाउँको अग्लो डाडामा गएर सबैलाई ‘ आज वन छोडिसके , घाँस काट्न जाने भए छिटो आउ , मैले भन्ने धर्म हो , चाँडो आउ हैइ ’ भन्दै सन्देश दिने गर्दछन् । वर्ष भरी कटुवालले यो खवर गरे बार्फत र वन हेरेको गरी रु ५४ हजार बुझछन् ।
यही खर्चबाट बीरबहादुर वर को घर खर्च वर्ष भरी चल्ने गर्दछ । अहिलेको आधुनिक जमानामा पनि कटुवालबाट नै गाउँमा सन्देश पुर्याउने र विवाह लगाएतका खवर गर्ने काम दलित बस्ती मात्र रहेको कट्टी गाउँमा हुँदै आएको छ । अधिकांश साहुको रिण तिर्न नसकेर हैरानी ब्यहोरेका यहाँका दलित समुदाय हरेक मुद्धामा एक जुट हुने गरेका छन् । पशु पालन र खेती किसानी गर्दै आएका कट्टी गाउँबासी दलित समुदायका सर्वसाधारणहरु अहिले सम्मा १ जनाले मात्र एसएलसी पास गरेका छन् । प्रांगरिक मल प्रयोग गरी खेतबारीमा अन्न उत्पादन गर्ने यहाँका सर्वसाधारणलाई ५ महिना खाना पुग्दैन ।
७१० रुपैयाँ शुल्क तीरेर ल्याइएको घाँस , स्याउलाबाट पालिएका पशु चौपाय नै मलको मुख्य स्रोत भएको स्थानीय रमेश वरले बताउनुभयो । दलित समुदायको मात्र वन रहेको कारण आफूहरु संरक्षण र प्रयोग गर्न समय निर्धारण गरेरै काम गरिरहेको वरले बताउनुभयो । घाँस काट्न जाँदा वच्चा समेत सँगै च्यापेर लिएको दृश्यले यहाँको अभाव , र समस्यको खास झल्को दिने गरेको थियो ।
घरमा बच्चाको हेरचाह गर्ने व्यक्ति नहुँदा सिता वरले सधैँ ८ महिनाको छोरी च्यापेर काम गर्नुपरेको बताउनुभयो । श्रीमान कमाइ गर्न भारत गएका कारण सिताले बच्चा लिएर दैनिक घास ,दाउरा गर्नुपरेको उहाँको भनाई छ । अधिकांश पुरुषहरु कमाइ गर्न भारत गएको कट्टी गाउँमा घरको काम सबै महिलाले गर्नुपरेको सिताले बताउनुभयो । सिताको अनुसार साहुको रिण तिर्न नसकेर १४ घर परिवारले गाउँ नै छाडेर भारत बसाइ सर्नु परेको छ ।