बोल्दै गर्दा बोलिको अर्थ

संगम बस्नेत
बोल्दै गर्दा बोलिको अर्थ नै नहराओस् र
चुप लाग्दा मौनतामा दासत्वको आभास नहोओस्।
आजभोलि, यस्तै केही कुराहरू
मेरा मानसपटलमा आउने गर्छन्
कयौ देखि गुम्सियका सोचहरू यत्रतत्र
छरपस्ट हुन खोज्छन् र
सामाजिक बिभाजन नियाल्दै
अक्रान्त भएका मेरा आँखाहरू
कहिलेकाही यसै अलमलिन्छन्
भने कहिले प्रश्न र उत्तरको संग्राममा
ओझेल पर्ने गर्छन् र
कहिले अधिकार र कर्तब्यको मापनमा
गहिरियर डुबुल्की मार्छन्
पद्धति र प्रणाली मै सिमित भएका असीमित
सपनाहरूको मोल लगाउन लाम लागेका
बथानहरू देख्दा र
निरासापनले गाजिएका उर्जासिल समूह देख्दा
हाम्रो समाजलाई सत्यता र यथार्थताले
गिज्याईरहे झै लाग्छ
त्यसैले,
हामी नदीको एकै किनारमा मात्र सिमित
नभई कहिलेकाही अर्को किनार
तिर बढ्ने जमर्को गरौं
घृणा र संकीर्णताले बजार तातिएको बेला
सद्भभाव र सामिप्यताको लागी ठाऊ बनाएर राखौं
एकाग्र सोचहरूमा विविधतालाई समेटौं
किनकी,
दिनलाई थाहा छ ऊ रात बिना अपुरो छ
बसन्तलाई थाहा ऊ शिसिरबिना अधुरो छ
संघर्षबिना सफलताको महत्व धरासयी छ
तै पनि अझै हामी मपाईको डम्फु फुक्न छाड्दैनौं
सामुहिकतालाई पन्छाएर ब्यक्तिबादको झोला बोक्न छाड्दैनौं
तर अझै बेर भएको छैन
समयले संकेत गरिरहेको छ
त्यसैले आऊ एक अर्काको अस्तित्व स्वीकारौं।




error: Content is protected !!