सेना र प्रहरीले पुल बनाएपछि घाटसिंजावासीलाई भोट हाल्न जान सहज

जुम्ला ः बाढीले बगाएको पुल निर्माण भएपछि स्थानीयलाई सहज भएको छ। बाढीले कनकासुन्दरी गाउँपालिका वडा नम्बर ४ हाटसिंजामा वडा कार्यालय, विद्यालयसहित प्रशासनिक केन्द्र जाने पुराना काठका पुल बगाएर आवतजावत बन्द भएको थियो।
‘पुल नहुँदा मंसिर ४ गते मतदान गर्न जान त्यहाँका स्थानीयलाई कठिन भएको थियो। त्यहाँ रहेको कालिका आधारभूत विद्यालयमा यसपटक मतदान केन्द्र छ‚’ वडा नम्बर ४ का अध्यक्ष सूर्यमणि हमालले भने।
उनका अनुसार वडाको पहलमा मतदानमा खटिएको नेपाली सेना, हाटसिंजा प्रहरी चौकी, म्यादी प्रहरी र स्थानीयको सहयोगमा एक हप्तामा ३ वटा पुल बनाएपछि आवतजावत सहज भएको छ। काठको पुल बनाएपछि मतदान गर्न जान सजिलो हुने भएको छ।
वडाका अनुसार विशेषगरी सेनाको टोलीले पुल निर्माण गर्न सहयोग गरेपछि कनकासुन्दरी(४ कालिका आधारभूत विद्यालयमा राखिएको मतदान केन्द्र जान सहज भएको हो।
वडाध्यक्ष हमालका अनुसार एक हप्ता लगाएर सेना, प्रहरी, म्यादी प्रहरी र स्थानीयको सहयोगले ३७ मिटर लामो काठको ३ वटा पुल निर्माण भएका छन्।
उनले भने, ‘सो क्षेत्रमा ४ नम्बर वडा कार्यालय, आँखा अस्पताल, पशु शाखा, कृषि शाखा, स्वास्थ्य चौकीमा समेत आवतजावत फेरि शुरु भएको छ।
वडाध्यक्ष हमालका अनुसार सो पुलका लागि नदीले बगाएर ल्याएको काठ च्यात्न र खाजा खर्चबाहेक अन्य सबै काममा सेना, प्रहरी, म्यादी प्रहरी र स्थानीयले सहयोग गरेका छन्।
सेनाको नन्दबक्स गण जुम्लाका गणपति रविन थापाका अनुसार निर्वाचनमा खटिएको नेपाली सेनाका लप्टन आदित्यजंग शाहीको नेतृत्वमा खटिएको ३९ जना सैनिकको टोलीले मतदान केन्द्र जाने पुल बनाउन स्वयंसेवकको भूमिका निर्वाह गरेको छ। सो पुल बनाउन स्थानीय सरकारले १५ वटा जाली बेहोरेको छ।
यसैगरि छोटो अवधिमा पुल बनाएर मतदान गर्न जान सहज बनाउनेदेखि विभिन्न कार्यालयमा जान सजिलो भएको भन्दै सेना, प्रहरी र सहयोगीलाई वडाले टीका र दोसल्लाले सम्मान गरेको वडापालिकाले जनाएको छ।
सो मतदान केन्द्रमा ५९५ जना मतदाता रहेका मतदान अधिकृत हिमालय साउदले जानकारी दिए । उनका अनुसार पुल बनाएपछि सो क्षेत्रमा मतदाताहरू सजिलै आउन जानसक्ने भएका छन्।








