हिउँ छिचोलेर वडाध्यक्षको टोली लिमीमा

हुम्ला ः नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीका वडाध्यक्ष पाल्जोर तामाङको टोली न्यालुको हिउँ छिचोलेर लिमी पुगेको छ । मेशिन लगाएर हिउँ पन्छाएर सडक सुचारु गर्ने प्रयास असफल भएपछि अध्यक्ष तामाङको टोली न्यालु क्षेत्रको हिउँमै हिंडेर लिमी पुग्नुभएको हो ।

पाँच हजार मिटर अग्लो न्यालु लेकमा जमेको पाँच फिट हिउँ जमेपछि आवतजावतमा समस्या भएको थियो । गत असोज १९ गतेदेखि २४ गतेसम्म परेको हिमपातले न्यालु लेकबाट लिमी जाने बाटो हिमपातको कारण बन्द रहँदै आएकोमा सदरमुकाम सिमकोटमा रहेको वडाध्यक्ष तामाङसहित अन्य चार जनाको टोलीले हिउँ छिचोलेर लिमी पुगेको हो ।

हिउँ नभएको बेला पैदल हिँड्दा पनि तीन दिनमा लिमी पुगिन्छ । तर उहाँको टोलीले यस पटक सिमकोटबाट लिमी पुग्न पाँच दिन लगाएको छ । पहिलो दिन ढाँड केमी पुगेको उहाँको टोली दोस्रो दिन फुचौर, तेस्रो दिन छुसा, चौथो दिन तुम्लिङ र पाँचौं दिनमा लिमी पुगेको थियो । हिउँले सडक बन्द भएपछि मेशिन लगाएर सडकको हिउँ पन्छाउने कार्य सुरु गर्न खोजिएको भए पनि सम्भव नभएको उहाँले बताउनुभयो ।

न्यालुमा बाक्लो हिउँ जमेकाले अब सडक सुचारु गर्न तत्काल सम्भव नभएको जनाएको छ । मङ्सिर ४ गतेको निर्वाचनमा मतदानका लागि खटिने कर्मचारीसमेत यसरी पैदल जान सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।





error: Content is protected !!