जुम्लामा झाँगिँदै लागुऔषधको जालो

जुम्ला ः लागुऔषधको प्रयोग बढ्न थालेपछि जुम्लामा नयाँ समस्या थपिएको छ। अभिभावकहरू आफ्ना बालबच्चालाई लागुऔषधको दुर्व्यसनमा पर्ने हुन् कि भन्ने चिन्तामा छन् भने प्रहरी अधिकारीहरू नियन्त्रणमा सफलता कसरी पाउने भन्ने चिन्तामा।

कर्णालीमा अनेकन समस्या रहँदै आए पनि लागुऔषधको ठूलै परिमाणमा कारोबार देखा परेको छैन। माथिल्लो कर्णालीका जुम्ला, कालिकोट, मुगु, हुम्ला, डोल्पाका नागरिक आयातीत लागुऔषधका बारे खासै जानकार छैनन्। स्थानीयस्तरमा पाइने चरेसका (अत्तर, भाङ) का विषयमा मात्रै जानकारी रहेको पाइन्छ। तर, यी पनि कानुनी रूपमा सेवन र बिक्री वितरणमा बन्देज छ।

तर, मंगलबार कालिकोटको नाग्म हुँदै जुम्लाबजारतर्फ आउँदै गरेका एक २५ वर्षीय युवा आठ ग्राम ब्राउनसुगरसहित पक्राउ परे। भ्यानमा आउँदै गरेका ती युवा लागुऔषधसहित पक्राउ परेपछि जुम्लाका सुरक्षा अधिकारीहरू जिल्लामा लागुऔषधको कारोबार ठूलै समस्याका रूपमा झाँगिइसकेको निष्कर्षमा पुगेका छन्।

०६२ सालपछि सुर्खेत, कालिकोट, जुम्ला, मुगु र जाजरकोट हुँदै डोल्पा जिल्ला सडक सञ्जालमा जोडियो। त्यसपछि नेपालसँग जोडिएको भारतको रुपैडियासम्म सहज पहुँच भएको हो। यही मार्ग हुँदै पछिल्लो समय सवारीसधानमार्फत माथिल्लो कर्णालीमा लागुऔषध पुग्ने गरेको पाइएको छ। यसअघि हवाई जहाजबाटै बाँकेको नेपालगज्जदेखि जुम्ला लागुऔषध पुगेको थियो।

लागुऔषधि समाजमा झाँगिन थालेपछि यसलाई नियन्त्रण गर्नका लागि प्रहरी प्रशासन र नागरिकलाई निकै चुनौतीको विषय बन्दै गएको छ। प्रहरी प्रशासनले सचेतनाका कार्यक्रम सञ्चालन गर्नुका साथै बिक्रीकर्ता र प्रयोगकर्ता पक्राउ गर्दै आए पनि समस्या बढिरहेको तथ्यांकले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा यससम्बन्धी दुईवटा मुद्दा दर्ता भएको छ। त्यसक्रममा पाँचजना पक्राउ परेका छन्। आर्थिक वर्ष ०७८/७९ मा ७, ०७७/०७८ मा ५, ०७६/७८ मा ६ तथा ०७५/७६ मा ५ वटा मुद्दा चलेका छन्। यही तथ्यांकले जुम्लाका अभिभावकलाई झस्क्याउन थालेको छ।





error: Content is protected !!