जाजरकोटमा तीनवटा ठुला सडकको स्तरउन्नती जारी

हेमन्त केसी
सुर्खेत , ४ असोज ः ः दुर्गम तथा पिछडिएको पगरी गुथाइएको जाजरकोटमा तीन वटा ठुला सडक निर्माण कार्य जारी रहेको छ ।
भेरी करिडोर अन्तरर्गत छिन्चु– जाजरकोट हुँदै डोल्पा सडक , मध्यपहाडी लोकमार्ग र लुम्विनी – रारा सडकको निर्माण कार्य जारी रहेको छ । यि सबै सडकको स्तरउन्नतीको काम भैइरहेको छ । जाजरकोट हुँदै जुम्ला जोड्नका लागि सुरुङ मार्गको समेत सम्भाव्यता अध्ययनको काम जारी रहेको छ । मध्य पहाडी लोकमार्गको जाजरकोट खण्ड भित्र रहेको ८३ किलोमिटर सडकको काम समेत जारी रहेको छ ।
यो सडक खण्ड भित्र रहेको सर्वाधिक कठिन ठाउँ मन्ताभिरमा समेत ट्याक औपनको काम सम्पन्न भएको निर्माण कम्पनी सिंह एण्ड ब्रोदर्सका विश्वास उप्रेतीले जानकारी दिनुभयो । ब्रोदर्सले लिएको ठेक्का मध्य जाजरकोट कुदु देखि स्याउलीबजार सम्माको १७ किलोमिटरमा पिचको काम सम्पन्न भइसकेको छ । त्यस्तै स्याउली देखि कार्कीगाउँ सम्माको १७ किलोमिटरमा पिचको काम जारी रहेको छ । कार्कीगाउँबाट थलह सम्माको २० किलोमिटरमा समेत काम जारी रहेको छ ।
मन्ताभीर फोडेर कामलाई तिव्रता दिइएको उप्रेतीले जानकारी दिनुभयो । थलह देखि दैलेखकको सिमाना सम्मा २९ किलोमिटर सडकको पिचको काम सकिएको छ । थलह बजारमा रहेको नदीमा पुल निर्माण नहुँदा निर्माणका सामग्री लिन समस्या भैइरहेको निर्माण कम्पनीले बताएका छन् । यो आर्थिक वर्ष भित्र मध्यपहाडी लोकमार्ग अन्तरर्गत जाजरकोट खण्डको काम पुरा गर्ने लक्ष्य रहेको छ ।
त्यस्तै भेरी करिडोर अन्तरर्गत जाजरकोट– डोल्पा सडक खण्डको पासागाड रिम्ना सडक खण्डको पिच यही अर्थिक वर्ष भित्र पुरा गरिने एती बिल्ड्रस प्रालि सातदोबाटो ललितपुरका गोरखबहादुर केसीले जानकारी दिनुभयो । १७ किलोमिटर लम्वाइ रहको यो सडकलाई दुइ खण्डमा बिभाजन गरेर पिच गर्न लागिँएको उहाँले बताउनुभयो ।
३६ महिना भित्र निर्माण कार्य पुरा गर्ने भन्दै रिम्ना –तल्लु सम्माको काम समेत सुरु भएको छ । ४० किलोमिटर लम्वाई रहेको उक्त सडकमा पिच गर्नका लागि १ अर्बमा ठेक्का भएको थियो । १ अर्बमा श्रेष्ठ कन्टक्सनको ठेक्का लिएको रिम्ना देखि जाजरकोट तल्लु सम्माको सडकमा श्रेष्ठबाट एती बिल्ड्रस प्रालि ललितपुर सातदोवाटोले नै काम गर्ने जिम्मेवारी लिएको केसीले जानकारी दिनुभयो ।

यो सडक समेत यही आर्थिक वर्ष भित्र पुरा गर्ने लक्ष्य सहित कामलाई तिव्रता दिएको केसीको दावी छ । भेरी करिडोरमा रहेका डोल्पा खण्डका त्रिपुराकोट, खदाङ र करपगाडमा बेलिव्रिज पुलहरु निर्माण कार्य पुरा भएर सवारी साधनहरु आवतजावत गरिरहेको सडक डिभिजन चौरजहारीका प्राविधिक सुरेश वस्यालले जानकारी दिनुभयो ।
डोल्पा खण्डकै रुपगाडमा मात्र बेलिब्रिज पुल निर्माण हुन बाँकी रहेको छ । त्यस्तै जाजरकोट र रुकुम पश्चिमको बीच तल्लुमा रहेको भेरी नदीमा पुलको काम वर्षा सकिए लगत्तै सुरु हुने उहाँले जानकारी दिनुभयो । जाजरकोटमा रहेको नलगाड नदीमा बेलिब्रिज पुल निर्माण कार्य सम्पन्न भइसकेको छ ।
त्यस्तै लुम्विनी –रारा सडक खण्डको काम समेत जारी रहेको छ ।
सडक निर्माण छिटो भएमा जलविद्युत आयोजनामा सहयोग पुग्ने
भेरी करिडोरको काम जती छिटो सकिन्छ ,त्यति जाजरकोट र डोल्पामा निर्माण कार्य जारी रहेका जलविद्युत आयोजनाको कामले समेत तिव्रता पाउने देखिन्छ । नलगाड जलविद्युत आयोजना ४१७ मेगावाट , जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाट यही सडक खण्डको बीचमा पर्दछन् । भेरी करिडोर सडकको छेउमै रहेको नलगाड नगरपालिका –७ स्थित दल्लीमा नलगाड जलविद्युत आयोजनाको विद्युत गृह निर्माण हुने छ ।
त्यस्तै ताक्सुगाड जलविद्युत आयोजना (७ मेगावाट) समेत भेरी करिडोर भित्र नै पर्दछ । जगदुल्ला जलविद्युत आयोजना (ए) ८२.३ मेगावाट ( बन्दै गरेको डिपिआरले १२१ बन्ने सम्भावना) मेगावाट समेत यही सडकको बीचमा पर्दछ । जाजरकोट र डोल्पाको सिमानामा रहेको त्रिबेणीबाट मुड्केचुला–४ इल (विद्युत उत्पादन गृह स्थल) र जगदुल्ला गाउँपालिका –१ हुरीकोट सम्मा सडक त्रिबेणीबाट नै लिनुपर्ने अवस्था रहेको छ ।
जगदुल्ला जलविद्युत आयोजना यही आर्थिक वर्ष भित्र निर्माणको चरणमा जाने जगदुल्ला हाइडो«पावर कम्पनीका प्रबन्ध निर्देशक प्रकाश अधिकारीले जानकारी दिनुभयो । त्रिवेणीबाट हुरीकोट सम्मको ४५ किलोमिटर सडक रहेको छ । १५ किलोमिटर आइइ बाँकी रहेका कारण सडक निर्माण रोकिएको छ । यो सडकमा कडा चट्टान भएका कारण विस्फोट गरेर मात्र चट्टान फोर्न सकिन्छ । ४५ किलोमिटर मध्य ३० किलोमिटरको कच्ची कटानको काम सकिएको र बाँकी १५ किलोमिटर सडक मात्र कच्ची कटान गर्न बाँकी रहेको छ । १५ किलोमिटर सडक निर्माण गर्नका लागि आइइ बाँकी भएकाले काम गर्न समस्या भएको कम्पनीका प्रोजेक्ट म्यानेजर सञ्जय सापकोटाले जानकारी दिनुभयो ।
प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले उक्त कामलाई सहजिकरण गर्नुपर्ने दायित्व रहेको छ । त्रिबेणी स्थित भेरी नदीको पुल निर्माण कार्य समेत ढिला हुँदा समस्या भएको छ । अब वर्षायाम सकिन बित्तिकै उक्त काम सुरु हुने सापकोटाले जानकारी दिनुभयो । यहाँ अन्य साना पुलहरु ७ वटा निर्माण गर्न बाँकी रहेको छ । यि सबै पुलहरु कम्पनीले नै निर्माण गर्ने छ ।










