कर्णालीमा अझै भेटिएन सहमतिको चुरो

सुर्खेत , ८ साउन ः सत्तासाझेदार दलहरु बीचमा पटक ,पटक छलफल भएपनि कर्णाली प्रदेशमा प्रदेशसभा बैठक सुचारु गर्ने विषयमा ठोस प्रगती भएको छैन ।

साउन ३ देखि अवरुद्ध प्रदेशसभाको बैठक अझै सुचारु गर्ने विषयमा सहमति हुन नसकेको नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभाकी सचेतक कृष्ण शाहले जानकारी दिइन् । आफ्ना मागहरुको विषयमा कांग्रेस गम्भिर नदेखिएको उनको आरोप छ । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, काँग्रेसका तर्फबाट मुख्यमन्त्री जीवनबहादुर शाही र एकीकृत समाजवादीका तर्फबाट संसदीय दलका नेता एवं कृषि मन्त्री चन्द्रबहादुर शाही धेरै पटक छलफलमा बसेपनि सहमतिको कुनै आधार नभेटिएको नेताहरुले बताएका छन् ।

सभामुख राजबहादुर शाहीले सोमबारका लागि संसद बैठक आह्वान गरेका छन् । नेताहरुले सकेसम्म गठबन्धनभित्र देखिएको समस्याको समाधान भोलिसम्म गरिसक्ने गरी वार्तालापमा जुटेको बताएपनि यो समाचार तयार पर्दा सम्मा ठोस सहमति भएको छैन ।

यसअघि बुधबार माओवादी केन्द्रले संसदीय दलको बैठकबाट आफूले उठाएका माग सम्बोधन नभएसम्म सरकारका कुनै पनि गतिविधिमा सहभागी नहुने प्रस्ट पारिसकेको छ । माओवादीले सहिद स्मृति भत्ता, घाइते अपाङ्गताका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरेको योजना वर्तमान सरकारले कार्यान्वयन नगरी बजेट फ्रिज गराएको, सरकारकै कारण माओवादी केन्द्रको भागमा परेको अर्थ तथा प्राकृतिक स्रोत समिति नेतृत्व विहीन बनेको, शान्ति पुनःस्थापना, सिंजा सभ्यता संरक्षण, पर्वतीय विश्वविद्यालय, आमसञ्चार विधेयक लगायतका महत्वपूर्ण विधेयक पारित गर्न नखोजेको भन्दै मुख्यमन्त्री जीवनबहादुर शाहीको विरोध गरिरहेको छ ।

मुख्यमन्त्री शाहीले शुक्रबार नेपाली काँग्रेसले आयोजना गरेको कार्यक्रममा आफूलाई कुनै चुनौती नभएको जिकिर गरेका छन् । सत्तासाझेदार दलहरु बीचमा बढ्दै गएको दुरी प्रति नेकपा एमाले भने खुसी भएको छ ।





error: Content is protected !!