१२ वर्षदेखि घण्टाघरको सुई ठप्प

सुर्खेत ः २०४५ मा चीन सरकारको सहयोगमा बनेको घण्टाघरको घडीको सुई १२ वर्षदेखि रोकिएको छ । घण्टाघरको सुईले स्थानीयलाई समयको अड्कल लगाउन सहज बनाएको थियो ।

१२ वर्षअघिसम्म घण्टाघरमा जति बज्यो त्यतिपल्ट धुन बज्थ्यो र घडीको सुई सर्‍थ्यो । वीरेन्द्रनगर–३ का ५५ वर्षीय रामबहादुर खत्रीले घण्टाघरको सुई बन्द हुँदा घण्टाघरको पहिचान नै सकिएको बताए । ‘नाम घण्टाघर भएर के गर्ने, घडीको सुई नै सर्दैन,’ उनले भने, ‘घडी बजे कम्तीमा कति बज्यो भनेर आन्दाज त हुन्थ्यो ।’ उनले अहिले मोबाइलको जमाना भए पनि घडीको महत्त्व छुट्टै भएको बताए ।

साक्षर नभएका मानिसलाई घडीको महत्त्व छुट्टै हुने उनी बताउँछन् । ‘पहिला घडीको घन्टीले समयको अड्कल दिन्थ्यो, अहिले दिन र रात भन्ने मात्र आकलन गर्न सकिन्छ,’ उनले भने, ‘घण्टाघरको घडीको ध्वनीले कुनै बेला बेग्लै आनन्द दिन्थ्यो ।’

३ वर्षअघिसम्म घण्टाघर सर्वसाधारणका लागि खुला थियो । घण्टाघरका पार्कसमेत छ । ‘सुर्खेतका लागि घण्टाघर नै धरहरा हो,’ स्थानीय रामु आरसीले भने, ‘घण्टाघरको सबैभन्दा माथिल्लो तलाबाट वीरेन्द्रनगरको अधिकांश ठाउँ देख्न सकिन्छ ।’ सर्वसाधारणका लागि घण्टाघरको भवनमा प्रवेश रोकिएको ३ वर्षयता भवनको मर्मतसमेत हुन नसकेको स्थानीय कमल केसीले बताए । उनका अनुसार अहिले घण्टाघरका भित्ताहरू चर्किन थालेका छन् ।

घण्टाघरमा चारै दिशामा १र१ वटा घडी राखिएका छन् । कर्णाली प्रदेशको पहिचानका रूपमा रहेको घण्टाघर सुर्खेतको प्रमुख पर्यटकीय गन्तव्य भएको केसी बताउँछन् । ‘यहाँको काँक्रेविहार, देउतीबज्यै र बुलबुलेपछि घण्टाघर नै पर्यटकीय गन्तव्य हो,’ उनले भने, ‘न पार्क व्यवस्थित छ न घण्टाघर नै ।’

यसपटकको स्थानीय तह निर्वाचनमा पनि पनि अधिकांश उम्मेदवारले घण्टाघरको व्यवस्थापनलाई एजेन्डाको रूपमा राखेका थिए । मजदुरी गर्नेहरूका लागि घण्टाघरको सुई र घण्टी महत्त्वपूर्ण रहेको वडा नं। ६ की बास्मती भण्डारीले बताइन् । ‘घण्टाघरले काम जाने र फर्कने समयको ख्याल हुन्थ्यो,’ उनले भनिन्, ‘घण्टाघरको सुई चल्दासम्म सुर्खेत बजारभरि आवाज सुनिन्थ्यो ।’ घण्टाघरको संरक्षणको जिम्मा वीरेन्द्रनगर नगरपालिकाको भए पनि हालसम्मे मर्मतसम्भार हुन नसकेको २०६८ सालदेखि घण्टाघर पार्क भाडामा लिएका चिन्तामणि शर्माले बताए ।

उनले आफ्नो पहलमा पर्यटन मन्त्रालयलबाट ४० लाख रुपैयाँ विनियोजन भए पनि काम हुन नसकेको बताए । ‘२ पटक आएको बजेट नै फ्रिज भयो,’ उनले भने, ‘सुरुमा नगरपालिकाले काम गर्ने भन्ने थियो पछि उपभोक्ता समितिलाई जिम्मा दिइयो, तर ढिलो गरी अख्तियारी आउँदा कामै हुन सकेन ।’ उनका अनुसार २०७७ सालमा परेको चट्याङले घण्टाघरको संरचनामा क्षति पुर्‍याएको छ । वीरेन्द्रनगर नगरप्रमुख मोहनमाया ढकालले घण्टाघरलाई व्यवस्थित बनाउन गुरुयोजना बनाइए पनि बजेट अभावमा कार्यान्वयन हुन नसकेको बताइन् ।





error: Content is protected !!