संघीय सरकारको बजेट ः कर्णालीमा के के समेटियो ?

हेमन्त केसी
सुर्खेत , १६ जेठ ः संघीय सरकारले आर्थिक वर्ष २०७९/ ८० को लागि ल्याइएको बजेटमा कर्णालीका महत्वपुर्ण क्षेत्रहरु समेटिएका छन् । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा अधिकांश योजनाहरुको बजेट भने तोकिएको छैन ।
केही क्रमगत योजनाहरु समेटिएका छन् भने केही नयाँ समेत समावेश गरिएको पाइएको छ । कर्णाली प्रदेश सरकारले अर्गानिक प्रदेश भनेर समेटेको योजनालाइ संघीय सरकारले अंगिकार गरी कर्णालीको कृषि क्षेत्रलाई बजेटमा प्रमुख प्राथमिकता दिइएको छ ।

कर्णाली प्रदेशमा रैथाने बाली , जैविक खेतीको संरक्षण र विकास गर्नुका साथै कृषिको आधुनिकीकरण , व्यवसायिकिरण ,विविधिकरण , विशिष्टिकरणका माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि मुल्य श्रखला विकासमा सहलगानी सामुदायिक कृषि पुर्वाधार विकास एवं कृषि उपजको बजारीकरणमा सहयोग गर्न कृषि विकास क्षेत्र कार्यक्रम लागु गरिएको छ । कर्णालीको कागुनो , चिनो ,सिमी ,फापर , उवा मासी ,जस्ता उत्पादनको प्रशोधन , प्याकेजिङ गरी बजारीकरण गर्न प्रदेश सरकारसँग सहकार्य गरिने उल्लेख छ । त्यस्तै कर्णालीका हिमाली जिल्ला स्याउ उत्पादन र प्रशोधन केन्द्र बनाउन कार्यक्रम लागु गरिने भएको छ ।

कर्णालीमा मोडिफाइड एटमोस्फेयर कोल्ड स्टोर निर्माण गरिने बताएको छ । जलवायु परिवर्तन अनकुलन कार्यक्रम अन्तरर्गत मगु, जम्ुला र कालीकोट जिल्लामा जलवायु खाद्य संकटासन्न बासिन्दाहरुको जीविकोपार्जन सुधार र अनुकुलन क्षमता वृद्धि गर्ने कार्यक्रम समेत लागु गरिने भएको छ ।

कर्णालीका हिमाली जिल्लामा स्याउ उत्पादन गर्ने किसानलाई अनुदानको व्यवस्था गरिने छ भने सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गरिने बजेटमा उल्लेख गरिएको छ । दुइ वर्ष अघि देखि जाजरकोटमा समेत जडीवुटी प्रशोधन केन्द्र निर्माण कार्य जारी रहेको छ । यस्तै कर्णाली समृद्धि कार्यक्रमअन्तर्गत जुम्लाको सिंजा उपत्यकाको एकीकृत विकास कार्यक्रम कार्यान्वयन गरिने भनी बजेट भाषणमा उल्लेख गरिएको छ ।

सुर्खेत र जाजरकोटमा रहेको किम्मती तथा अर्धकिम्मती पत्थर उद्योग सञ्चालनमा एवं निर्माण गरिने उल्लेख गरिएको छ । यो पटक कर्णालीको पर्यटन क्षेत्रको विकासका लागि पनि थुप्रै आयोजनाहरु समेटिएका छन् । डोल्पाको धो र तिन्जेमा सुक्खा बन्दगाह निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने भएको छ । कर्णालीको रारा , हुम्ला , शे फोक्सुण्डो , छायानाथ लिमी र त्रिपुरासुन्दरीलाइ पर्यटकीय स्थलमा रुपमा विकास गरिने भएको छ ।

सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिकाको रामघाटमा प्रादेशिक विमानस्थलको काम अगाडि बढाइने पनि उल्लेख गरिएको छ । राजधानी वीरेन्द्रनगरमा रहेको विमानस्थलको काम अघि बढ्ने सम्भावना नभएपछि प्रदेश सरकारले ‘च्याप्टर क्लोज’ गरेको थियो । यो पटक भने नयाँ ठाउँमा विमानस्थल बनाउने योजना अघि बढेको हो ।

यस्तै कर्णाली राजमार्ग अन्तर्गत दैलेखको राकम कर्णालीमा ट्रमा सेन्टरको स्थापना गरिने योजना यो पटक पनि समेटिएको छ । अघिल्लो आर्थिक वर्षमै बजेट समेत उल्लेख गरिएको यो योजना बजेट भने उल्लेख गरिएको छैन । पाँच वर्ष अघिदेखिको सुर्खेत मेडिकल कलेज स्थापनालाई पनि बजेटमा समेटिएको छ । यो योजना अझै अघि बढ्न सकिरहेको अवस्था छैन् । कर्णाली प्रादेशिक अस्पतालाई पनि मेडिकल कलेजका रुपमा विकास गरिने अर्थमन्त्री शर्माले बताएका छन् । सुर्खेतको सुभाघाट वृहत खानेपानी आयोजना आगामी आर्थिक वर्षमै सम्पन्न गरिने भएको छ। वर्षौंदेखिको उक्त आयोजना सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्थापन गरिएको छ भने प्रदेश अस्पताललाई डायलासिस मेशिन खरिद गर्न २० करोड बजेट व्यवस्थापन गरिएको छ ।

स्वास्थ्य र कृषि क्षेत्रमा मात्र नभई यो पटक खेलकुद क्षेत्रका लागि पनि आवश्यक बजेटको व्यवस्थापन भएको छ । प्रदेश रंगशालालाई पनि समेट्ने प्रयास गरिएको छ भने जुम्लाको टोप्ला पाटनमा हाइअल्टिच्युट ट्रेनिङ सेन्टर स्थापना गरिने मन्त्री शर्माले बताए । शर्माले हुम्ला जिल्लालाई आगामी आर्थिक बर्षमा राष्ट्रिय सडक सञ्जालमा जोड्ने बताए । यो योजना हरेक वर्षको बजेटमा समेटिए पनि सरकारले हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न सकेको छैन् । यद्यपि पुनः पनि यो योजनालाई निरन्तरता दिइएको छ ।

यो पटक दुईवटा सुरुङ्मार्ग स्थापना गरिने बताइएको छ । सुर्खेतको रानीघाट–भूरिगाउँ सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने र जुम्ला तातोपानी इमिल्चा –जाजरकोट कुशे सुरुङमार्ग निर्माण गरिने पनि बजेटमा समेटिएको छ। यद्यपि अघिल्लो आर्थिक बर्षका भनिएको कपासे–डुङ्गेश्वर सुरुङमार्ग निर्माण गरिने योजना गायव भएको छ । राप्ती लोकमार्गको तुलसीपुर–मुसीकोट र सहिद मार्गको घोराही–थबाङ–मैकोट सडकका लागि तीन अर्ब बजेट छुट्याएको छ भने भेरी बबई डाइभर्सन योजनाका लागि दुई अर्ब बजेट विनियोजन गरिएको छ ।

भेरी करिडोरको जाजरकोट दुनै मरिम तिन्जे धो सडक खण्डको निर्माणका लागि बजेट बिनियोजन गरिएको छ । ४१७ मेगावाट जलविद्युत आयोजना नललगाडका लागि लगानी मोडेल र स्रोत व्यवस्थापन गरी निर्माण कार्य अगाडी बढाउने उल्लेख गरिएको छ ।

१०६ मेगावाटको अर्धजलाशय युक्त जगदुल्ला जलविद्युत आयोजनाको कार्यान्वयमा लगिने बताएको छ । नदी बेसीनमा आधारित ४०० केभीमा प्रशारण लाइन भेरी करिडोरमा निर्माण कार्य जारी राखिने भएको छ । बजेटमा हिमाली जिल्लाका दुई स्थानलाई हिमाली सहरको रुपका विकास गरिने योजना समावेश गरिएको छ ।

डोल्पाको डोल्पोबुद्ध र हुम्लाको लिमीलाई हिमाली सहरका रुपमा विकास गरिने भएको हो । त्यसका लागि सरकारले आवश्यक बजेटको व्यवस्थापन गरिएको शर्माले बताए ।





error: Content is protected !!