पोखराबाट जोमसोमका लागि उडेको ताराको ट्विनअटर विमान सम्पर्कविहीन

काठमाडौं ः कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज ११ बजिसक्दा पनि सम्पर्कमा आएको छैन ।
तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार उक्त विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए । उक्त जहाजमा १३ नेपाली, ४ भारतीयसहित २ अन्य देशका नागरिक थिए । पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जहाज टावरको सम्पर्क बाहिर भएको पुष्टि गरे ।
यस्तै मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले धौलागिरि आसपास पाँच जिल्लाका सुरक्षा अधिकारीहरुलाई अलर्टमा रहन निर्देशन दिएको जानकारी गराए ।








