यसरी मनाइदै छ कर्णालीमा गणतन्त्र दिवस

सुर्खेत ः आज देशभर १५ औं गणतन्त्र दिवस मनाइदै गर्दा कर्णाली प्रदेश सरकारले पनि बिभिन्न कार्यक्रम तय गरी दिवस मनाउन सुरु भएको छ ।
२०६५ साल जेठ १५ गते मुलुकमा गणतन्त्र स्थापना भएको थियो । सोही दिनलाइ दिवसका रूपमा मनाउन थालिएको हो ।
कर्णाली प्रदेश सरकारले दिवस मनाउने क्रममा अहिले विहान प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगढीचोकदेखि प्रभातफेरी कार्यक्रम गर्दै छ । उक्त प्रभातफेरी कार्यक्रम सिटी हलमा पुगेर समारोहमा परिणत हुने छ ।
दिवसका अवसरमा प्रदेश प्रमुख तिलक परियार र मुख्यमन्त्री जीवन बहादुर शाहीले शुभकामना सन्देश दिएका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाद्वारा राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वधीनता अझ सुदृढ गर्दै संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न उर्जा मिलोस् भन्दै प्रदेश प्रमुख परियारले शुभकामना सन्देश व्यक्त गरेका छन् ।
यस्तै, मुख्यमन्त्री शाहीले जनताको चुल्होको सरकार अर्थात स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले आफ्नो कार्यभार सम्हाल्नु संविधान कार्यान्वयनको ठूलो उपलब्धी भएको बताए । उनले संविधानको संरक्षण र संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकास गरेर मुलुकलाइ आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्नका लागि गणतन्त्र दिवसले प्रेरणा मिलोस् भन्ने विश्वास व्यक्त गरे ।








