जुम्लाका विद्यार्थी चौरमा पढ्न बाध्य

जुम्ला ः कनकासुन्दरी गाउँपालिका- ३ गौरीगाउँमा रहेको नवदुर्गा आधारभूत विद्यालयका विद्यार्थी चौरमा पढ्न बाध्य छन्। कक्षा कोठा अभावमा चौरमा पठनपाठन गर्नु परेको हो।

विद्यालयमा दुई कोठे तीन वटा भवन छन्। तर‚ यी भवन पर्याप्त छैनन्। भएका भवन समेत जीर्ण भएकाले बस्न सक्ने अवस्था छैन। एउटा भवन हिमपातका कारण गत माघ ९ गते भत्किएको छ।

अर्को भवनमा बर्खाको समयमा कक्षाकोठा भित्र पानी पस्छ। ढोका र पर्खालमा राखिएको सबै काठ कुहिन थालेको छ। कोठाको तल सिलिङ गरेको काठ काम नलाग्ने अवस्थामा पुगेको छ। अहिले विद्यालयमा काम लाग्ने भवन एक मात्र छ। त्यो भवनका दुई कोठा छन्। एउटो कोठामा कार्यालय र अर्को कोठा पठनपाठनका लागि प्रयोग गरिएको प्राधानाध्यापक हरिबहादुर बुढा बताउँछन्। कक्षाकोठा नभएकाले पठनपाठनमा असर परेको बुढाले बताए।

विद्यालयमा ३ देखि १२ वर्षसम्मका विद्यार्थी छन्। चौरमा बसेको बेला घामले पोल्ने र वर्षा भएको बेला भिजाउने गरेको कक्ष ५ का विद्यार्थी निराजन बुढाले बताए।

एउटा कोठामा सबैभन्दा साना बालबालिका राखिएको अन्य कक्षा सबै बाहिर नै पढाइँदै आइएको छ। ‘विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुला चौरमा धुलो भएको ठाउँमा बस्छौँ‚’ कक्षा ४ की छात्रा रमिला बुढाले भनिन्, ‘विद्यालय भन्न पनि लाज लाग्छ।’

यस विद्यालयमा ४० घरपरिवारका विद्यार्थीले अध्ययन गर्छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बुढाले विद्यालयको अवस्था हेरेर कतिपय अभिभावकले आफ्ना बालबालिकाहरूलाई निजी विद्यालय पठाउने गरेको बताए।

विद्यालयमा भौतिक व्यवस्थापनका लागि स्थानीय सरकार, कर्णाली प्रदेश सरकार र संघीय सरकारसम्म माग गर्दा पनि सुनुवाइ नभएको अध्यक्ष बुढाले गुनासो गरे। ‘हामी विद्यार्थीको दुःखप्रति संवेदनशील छौँ‚’ उनले भने‚ ‘तर‚ विद्यार्थीको पीडा बुझिदिने सरकार भेट्टाउन सकेका छैनौँ। नजिकैको स्थानीय सरकारले पनि यो विद्यालयलाई उपेक्षा गरिरहेको छ।’

कनकासुन्दरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख नारायण न्यौपाने पनि विद्यालयको भौतिक संरचना जीर्ण भएको बताए। तत्काल एउटा कक्षा कोठा मर्मत गर्न सकिने बजेट प्रदान गरिएको उनले बताए।

उक्त विद्यालयमा दरबन्दीमा दुई शिक्षक छन्। निजी स्रोतबाट एक, इसिडी शिक्षक १ र कार्यालय सहयोगी गरेर पाँच जना कर्मचारी छन्।





error: Content is protected !!