स्थानीय निर्वाचनमा सहभागी हुने विप्लव नेकपाको संकेत

काठमाडौं ः निर्वाचन वहिष्कार गर्ने नीति लिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय तह निर्वाचनमा भाग लिने संकेत गरेको छ ।
कपिलवस्तुको शिवगढीमा शुक्रबारदेखि सुरु भएको केन्द्रीय समितिको १२औं पूर्ण बैठकमा पार्टीले स्थानीय निर्वाचनमा जाने संकेत गरेको हो ।
बैठकमा पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले स्थानीय निर्वाचनमा सहभागिता जनाउनुपर्ने प्रस्ताव राखेका छन् । बैठकमा सम्बोधन गर्दै उनले वैशाख ३० गतेको लागि तय भएको स्थानीय निर्वाचनमा जाने प्रस्ताव राखेको बैठकमा सहभागि एक नेताले जानकारी दिए । राजनीतिक प्रतिवेदनमा निर्वाचनलाई उपयोग गर्ने नीति अनुरुप स्थानीय निर्वाचनमा भाग लिने महासचिव विप्लवले उल्लेख गरेका छन् । विप्लवको प्रस्तावमा पक्ष र विपक्षमा नेताहरू विभाजित छन् । बैठकमा महासचिव विप्लवले राजनीतिक प्रतिवेदन पेश गरेपछि स्थगित भएको हो । अब बैठक शनिबार बस्ने भएको छ ।
७० जनाभन्दा बढी नेताहरु सहभागी केन्द्रीय समिति बैठकमा निर्वाचनमा जाने प्रस्ताव आएको नेता धर्मेन्द्र बाँस्तोलाले जानकारी दिए । ‘बैठकमा महासचिवको प्रतिवेदनमा स्थानीय निर्वाचनलाई उपयोग गर्ने उल्लेख गरिएको छ । अधिकांश नेताहरुले धारणा राख्ने क्रममा निर्वाचनमा जानुपर्छ भन्ने मत राख्नु भएको छ’, बाँस्तोलाले भने, ‘केही नेताहरुले निर्वाचनमा जानु हुन्न भन्ने मत पनि राख्नु भयो । त्यो मत सानो छ । छलफल गर्दै जाँदा बहुमत केन्द्रीय सदस्य निर्वाचनमा जानुपर्छ भन्नेमा हुनुहुन्छ ।’
बैठकमा विप्लवले समसामयिक राजनीति परिस्थिति अन्तर्गत अहिलेको वस्तुस्थिति अनुसार पनि निर्वाचनमा जानुपर्ने उल्लेख गरेका छन् ।
निर्वाचनमा जाने महासचिव विप्लवको प्रस्तावमा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि सहमत छन् । कतिपय नेताहरु निर्वाचन बहिस्कार गर्ने पार्टीको पुरानो नीतिलाई कायम राख्दै एकीकृत जनक्रान्तिको मार्गदर्शनअनुसार अघि बढ्नुपर्ने बताएका छन् ।
२०७३ सालमा मोहन वैद्यसँग छुट्टिएर विप्लवले नेकपा बनाएका हुन् । उनले एकीकृत जनक्रान्तिको लक्ष्य लिएर दुईवर्ष भूमिगत आन्दोलन पनि गरेका हुन् । जसमा तीन सर्वसाधारणसहित १३ जनाको मृत्यु भएको थियो । अब बस्ने बैठकले संसद्ले हालै पारित गरेको एमसीसी, निर्वाचनमा भाग लिने नलिनेबारे पार्टीको धारणा तय गर्ने छ ।










