ओली ,प्रचण्ड वान अन वान वार्तापछि दोस्रो तहका नेताहरूसहित आकस्मिक छलफल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
संसद् भवन बानेश्वरस्थित प्रमुख प्रतिपक्षी दलका नेता ओलीको कार्यकक्षमा दुई नेताबीच वान अन वान वार्ता समेत भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
ओली र प्रचण्ड एक्लाएक्लै छलफल गरेपछि दुवै पार्टी दोस्रो तहका नेताहरूसहित छलफल भइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा अध्यक्ष ओलीलाई भेटेर बाहिरिएपछि प्रचण्ड ओलीको कार्यकक्षमा पुगेका थिए ।
भेटमा अहिले एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल तथा माओवादीबाट प्रचण्डका अलावा नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्ति बस्नेत सहभागी छन् ।
एमसीसीका कारण सत्ता गठबन्धन संकटमा परेका बेला ओली र प्रचण्डबीच छलफल हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
यसअघि प्रधानमन्त्री देउवा तथा कांग्रेस महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीसहित एमाले नेताहरूसँग छलफल गरेका थिए ।
ओली र देउवाबीच पनि अन्तिममा एक्लाएक्लै छलफल भएको थियो ।



