प्रजातन्त्र दिवस ः कर्णालीका मुख्यमन्त्रीदेखि मन्त्रीसम्म सरसफाइ कार्यक्रममा

सुर्खेत ः प्रजातन्त्र दिवसको अवसर पारेर कर्णालीका मुख्यमन्त्रीदेखि मन्त्रीहरू बिहानै सरसफाइ कार्यक्रममा जुटेका छन् । उनीहरूले वीरेन्द्रनगरकै पर्यटकीय स्थल सहिद पार्कमा गएर सरसफाइ कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाएका हुन् ।

सहिद पार्क पछिल्लो समय टिकटक र सामाजिक सञ्जालमा भाइरल स्थल हो । कर्णाली प्रदेश सरकारले शुक्रबारदेखिनै विविध कार्यक्रम गर्दै आएको छ । जस अन्तर्गत आज दोस्रो दिन सरसफाइ कार्यक्रम गरिएको हो।

वीरेन्द्रनगरको वीरेन्द्रचोकदेखि त्यो स्थल झण्डै एक किलोमिटर उत्तरतर्फ पर्दछ । सरसफाइ कार्यक्रममा मुख्यमन्त्री जीवनबहादुर शाही,  जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंह , भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकाया, सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसी,  नेपाल प्रहरी, आर्मी लगायतको सहभागिता रहेको थियो । जलस्रोत तथा उर्जा विकास मन्त्री सिंहकै नेतृत्वमा हिजो मन्त्रालयमा व्यापक सरसफाइ गरिएको थियो । त्यसकै सिको गदै आज मुख्यमन्त्रीले पनि सरसफाइमा सहभागीता जनाएका छन् ।

सहिद पार्क पार्क एउटा जङ्गलको बीचमा रहेको छ। पार्कभित्र एउटा सहिद स्तम्भ छ । एउटा पोखरी छ । त्यो पोखरी भित्रको पानीको छिर्काहरुसँग आन्तरिक पर्यटक रमाउने गरेका छन् । विशेष गरी यो पार्कमा युवा–युवती ‘डेटिङ’ गर्न र टिकटक बनाउनका लागि यहाँ आउने गर्दछन् ।

मुख्यमन्त्री शाहीले प्रजातन्त्र दिवसको अवसरमा मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरण नै जनताको चाहना भएको उल्लेख गरेका छन् । यो सहिद पार्क कर्णाली प्रदेश प्राप्तिका लागि आन्दोलनमा ज्यान गुमाउनेहरूको नाममा बनाइएको हो । भैरव सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमर कार्की भन्छन्, ‘आन्दोलनमा हाम्रो वडाका दुई जना (गोपाल रजवार, टिकाराम गौतिक) ले ज्यान गुमाउनुभएको छ । वनको साधारण सभाबाटै हामीले उहाँहरूको नाममा सहिद पार्क बनाउने घोषणा गरेका थियौँ ।’

भँगेरी चौर (अहिले पार्कस्थल)मा विगतमा आवधिक बस्ती थियो । त्यसपछि जिल्ला भू–संरक्षण कार्यालयले नर्सरी स्थापना गरेको थियो । त्यसको अवधि सकिएपछि सो जमिन खाली भएकाले सहिद पार्क बनाइएको उनले बताए ।

कर्णाली प्रदेश सरकारले सहिद पार्क स्थापनाका लागि २ करोड रकम खर्च यसअघि नै गरेको थियो । पार्कभित्र गर्नुपर्ने संरचनाको काम ९० प्रतिशत बाँकी नै छ । चालु आर्थिक वर्षमा ५० लाख रकम विनियोजन गरिएको छ । कर्णाली सरकारले प्रजातन्त्र दिवस ०७८ लाई ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरेर मनाइरहेको छ ।





error: Content is protected !!