एमसीसी रोक्न प्रचण्डको अन्तिम प्रयास, देउवाले नमाने आजै सरकार छाड्ने

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमसीसी टेबल हुनबाट रोक्न अन्तिम प्रयासमा जुटेका छन् । त्यसका लागि अध्यक्ष प्रचण्ड पार्टी संसदीय दलको बैठक लगत्तै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन् ।
बालुवाटार पुगेर प्रचण्डले गठबन्धनमै सहमति नजुटेकाले एमसीसी टेबल नगर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्ने दलको बैठकमा आफ्ना सांसदलाई जानकारी गराएका छन् । यदि प्रधानमन्त्री देउवाले प्रचण्डको आग्रह अस्वीकार गरी एमसीसी टेबल गरिए गठबन्धन र सरकार छाड्ने माओवादीको तयारी छ ।
माओवादी संसदीय दलको बैठकले यथास्थितिमा एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ । सोही निर्णय सुनाउन र देउवालाई मनाउन प्रचण्ड अन्तिम प्रयासस्वरुप बालुवाटार पुगेको माओवादी केन्द्रका सांसद रामेश्वर राय यादवले रातोपाटीलाई बताए । अर्का सांसद तथा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले गठबन्धनमै सहमति नभई एमसीसी अघि बढे माओवादीले गठबन्धन र सरकार दुवै छोड्ने निर्णय भएको जानकारी दिए ।








