निकुञ्‍ज कर्मचारीलाई विभागीय कारबाही गर्न वन मन्त्रालयको निर्देशन

काठमाडौँ ः वन तथा वातावरण मन्त्रालयले चितवनमा सडक विस्तार गर्ने क्रममा गैंडाको मृत्यु भएको घटनामा कर्मचारीसमेत दोषी देखिएकाले विभागीय कारबाही गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई निर्देशन दिएको छ ।

गैंडाको मृत्युसम्बन्धि छानबिन गर्न वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवद्वारा गठित समितिले कर्मचारीसमेत दोषी देखिएको र विभागीय कारबाही गर्न सिफारिस गरेकाले मन्त्रालयले सोमबार विभागलाई कारबाहीका लागि पत्राचार गरेको हो ।

विभागका महानिर्देशक रामचन्द्र कँडेलले प्रतिवेदनमा उल्लेख भएअनुसार निकुञ्जका कर्मचारीलाई नसिहत दिने र सजग गराउने प्रक्रिया तत्काल अघि बढाउने बताए । ‘विभागले कारबाही प्रक्रिया अघि बढाउँछ,’ कँडेलले मंगलबार कान्तिपुरसित भने, ‘कर्मचारीबाहेक दोषी ठहर गरिएका अन्य निकायहरुलाई पनि कारबाही हुनुपर्छ भन्ने हाम्रो भनाई हो ।’

मन्त्रालयले प्रतिवेदनमा दोषी ठहरिएका र निर्देशन दिन सिफारिस गरिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायतका निकायलाई पनि मातहतका निकायका कर्मचारीलाई कारबाही गर्न सोमबारै पत्राचार गरेको छ ।

असावधानीपूर्वक काम गर्नेरगराउने, सुरक्षाको प्रबन्धन गर्ने, सरोकारवाला निकायहरुसँग समन्वयन गर्ने सडक डिभिजन भरतपुरका पदाधिकारीलाईसमेत निजामती सेवा ऐन, २०४९ अनुसार विभागीय कारबाहीका लागि भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशन दिन भनिएको छ ।

विभागीय कारबाहीभित्र स्पष्टिकरण लिने र त्यसमा चित्त नबुझे ग्रेड कट्टा र बढुवा रोक्कासम्म हुने व्यवस्था छ । ‘कर्मचारीबट कुन स्तरको कमजोरी भएको हो त्यसै आधारमा कारबाही हुन्छ, ’ विभाग स्रोतले भन्यो ।

खाल्डोमा परेर गैंडा मर्नुमा निकुञ्ज कर्मचारी र सेना पनि दोषी

गैंडाको मृत्युबारे छानबिन गर्न वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक डा।राजेन्द्र केसीको संयोजकत्वमा गठित समितिले ‘सम्बन्धित निकुञ्ज कार्यालयका कर्मचारीहरुलाई प्रचलित निजामति सेवा ऐन, २०४९ तथा अन्य प्रचलित कानुनले तोकेको पदीय दायित्व जिम्मेवारी पूरा नगरेकाले विभागीय कारबाही गर्नुपर्ने’ प्रतिवेदन बुझाएको थियो ।

निकुञ्जको रेन्ज पोस्ट, नेपाली सेनाको सुरक्षापोस्ट, डिभिजन वन कार्यालयका सव–डिभिजन वन कार्यालयहरुको नियमित गस्ती र पट्रोलिङ गरी फिल्डस्तरमा सञ्चालित आयोजनाका बारेमा निगरानी बढाउनुपर्नेमा त्यसो नभएको छानबिन समितिले ठहर गरेको थियो ।

पूर्व–पश्चिम मेहन्द्र राजमार्गको चितवन–भरतपुर–गोन्द्राङ खण्डलाई ६ लेन बनाउन खनिएको खाल्डो नपुर्दा त्यसमा परेर गत माघ ९ गते दिउँसो बयस्क भाले गैंडा मरेको थियो ।

घटनास्थल वन्यजन्तुको जैविक मार्गमा भएको र त्यस क्षेत्रमा लामो समयदेखि सडक बिस्तार गर्ने काम भइरहे पनि निकुञ्ज कार्यालय र सुरक्षार्थ तैनाथ नेपाली सेनाले अनुगमन नगरेको समितिको ठहर छ । प्रतिवेदनमा निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाको खड्गदल गणअन्तर्गतको बीसहजारी पोस्टलाई सचेत गराउनसमेत भनिएको छ ।

सडक विस्तार गर्ने इण्डो सगुन जेभीले पर्याप्त सावधानी नपुर्‍याएको र चरम लापरबाही गरेका कारण गैंडाको मृत्यु भएको ठहर गर्दै उक्त कम्पनीका सम्बन्धित व्यक्तिलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार मुद्दाको अनुसन्धान तथा तहकिकात गरी कारबाही गर्नुपर्ने ठहर गरिएको छ ।

राजमार्गको निर्माणाधीन नालामा अड्केर भाले गैंडा मर्‍यो

चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) हरीभद्र आचार्य र मातहतका कर्मचारीहरुले भने सडक बनाउने क्रममा ठेकेदारबाट लापरबाही भएका कारण गैंडा मरेको बताउँदै आएका छन् । घटनास्थल गैंडा र बाघलगायतका वन्यजन्तु ओहोर–दोहोर गर्ने प्रमुख जैविक मार्ग भएकाले त्यस क्षेत्रमा निगरानी र गस्ती प्रभावकारी बनाउनुपर्नेमा कमजोरी भएको प्रतिवेदनमा उल्लेख छ ।

सडक निर्माण कार्य अघि बढाउनु अघि इण्डो सगुन जेभीले चितवन निकुञ्जसँग लिखित अनुमतिसमेत नलिएको देखिएको र सडक डिभिजन कार्यालय, भरतपुरबाटसमेत सहजीकरण र समन्वय भएकाले मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ अनुसार कारबाही अघि बढाउन ध्यानाकर्षण गराइएको छ ।

कति छन् गैंडा

संसारमा अहिले जीवित ५ प्रजातिमध्ये नेपाल र भारतमा पाइने प्रजातिलाई ठूलो एकसिंगे गैंडा भनिन्छ । यीनको संख्या संसारभर ३५०० को हाराहारी छ । सबैभन्दा धेरै भारतको आसामस्थित् काजिरंगामा २४०० छन् । त्यो पछि नेपालको चितवन निकुञ्जमा ६९४ छन् ।

गैंडाको संख्या बढाउने उद्देश्यले सरकारले विगतमा चितवनबाट बर्दिया र शुक्लाफाँटामा पनि गैंडा स्थानान्तरण गरेको छ । अहिले चितवनसहितपर्सा, बर्दिया, शुक्लाफाँटा निकुञ्जसहितआसपासको जंगलमा २०७७ को गणना अनुसार ७५२ गैंडा छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!