हिउँ र वर्षाले बर्सेनि रोकिन्छन् गाडी

सुर्खेत ः भारी हिमपातका कारण सडकमा झन्डै ३ फिटसम्म हिउँ जमेपछि २ सातादेखि मुगुको गमगढी–नाग्मा सडकमा यातायात बन्द भएको छ । सडकअन्तर्गत घुच्चीडाब, सातमोड, बुलबुले, पिनाखोलालगायत ठाउँमा बाक्लो हिउँ जमेपछि गाडी नचलेका हुन् । रुकुम पश्चिमस्थिते भम्पु–खदी सडकमा पनि हिउँ जमेपछि स्थानीयवासी हिँडेरै आउजाउ गर्न बाध्य छन् ।
दुवै सडकमा बर्षेनि हिमपात र वर्षाले झन्डै ३ महिना यातायातका साधन बन्द हुन्छन् । गाडी बन्द भएपछि खाद्यान्न, निर्माण सामग्री र स्थानीय उत्पादन ढुवानीमा समस्या भएको गमगढीका व्यापारी रवि रावतले बताए । ‘पसलमा सामान सकिँदै गएको छ, प्लेन भाडा महँगो छ, कसरी सामान ल्याउने रु’ उनले भने ।
यसअघि २ सातासम्म अवरुद्ध भएको सडकमा सडक डिभिजन कार्यालयले डोजर लगाएर हिउँ पन्छाएपछि खुलेको थियो । फेरि हिमपात भएपछि स्थानीयवासी हिँडेरै आउजाउ गर्न बाध्य छन् । हिमपातले पटकपटक सडक अवरुद्ध भएपछि सुर्खेत र नेपालगन्जबाट निर्माण सामग्री ल्याउन समस्या भएको अर्का व्यापारी रामभक्त रोकायाले बताए । ‘हिउँ र वर्षाले सधैं गाडी रोक्छ,’ उनले भने, ‘सडक खुलेको लामो समय बित्दा पनि कालोपत्रे नभएपछि व्यवसायमा घाटा खानुपर्ने बाध्यता छ ।’ उनले निर्माण सामग्री ल्याएर आएका झन्डै २ दर्जन गाडी जुम्लाको नाग्मा, गोठिज्युला र कालीकोटमा रोकिएको जानकारी दिए ।
तराईबाट सामान ल्याएर आएका गाडीहरूबीच बाटोमै रोकिँदा सामान चोरी हुने, हराउने र भिजेर नष्ट हुने समस्या छ । महिनौंसम्म रोकिएपछि केही सामग्रीको म्याद नै सकिने समस्या रहेको उनले जानकारी दिए ।
गमगढी–नाग्मा सडक खण्डअन्तर्गत पिना खोलादेखि गोठिज्यूलासम्म माथिबाट हिमपहिरो आउने जोखिम छ । हिउँ बाक्लो जमेकाले र घाम नलाग्दा डोजरलाई पनि हिउँ पन्छाउन मुस्किल भएको स्थानीय कमल शाहीले बताए । ‘सडकको हिउँ पन्छाउँदै जाँदा माथिबाट फेरि हिउँ खसेर सडक अवरुद्ध हुने गरेको छ,’ उनले भने, ‘घाम नलागे हिउँ आफै बिलाउने सम्भावना पनि छैन ।’ ढुवानी नभएपछि गोदाममा चामल सकिँदै गएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । सडक अवरुद्ध हुँदा तराईबाट खाद्यान्न ल्याउन समस्या भएको कम्पनीका सूचना अधिकारी पुष्कर भामले बताए ।
गमगढी–चंखेली–दार्म सडकको चंखेली, सातथाप्लेलगायत ठाउँमा पनि ४ फिटसम्म हिउँ जमेको छ । हिमपातका कारण घोडा खच्चडसमेत चल्न सक्ने अवस्था नभएपछि ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य सामान ढुवानीमा समस्या भएको हो । चंखेली लेक आसपासको क्षेत्रमा अत्यधिक हिउँ जम्दा घोडा, खच्चड र मानिससमेत डुब्ने समस्या रहेको स्थानीय हर्क विकले बताए ।
हिमपातकै कारण ग्रामीण पहुँच कार्यक्रमले निर्माण गरेको गमगढी–चंखेली हुँदै हुम्लाको दार्म जोड्ने सडक र नेपाली सेनाले निर्माण गरिरहेको कर्णाली करिडोरको निर्माणसमेत प्रभावित बनेको छ । सडक खुलाउन सडक डिभिजन कार्यालयसंँग समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । उनका अनुसार डोजर लगाएर सडक खुलाएको २ हप्तामै फेरि हिउँ जमेपछि समस्या भएको हो ।
छायानाथरारा नगरपालिकाले पनि आफ्नो क्षेत्रभित्रको सडक खुलाउन पहल थालेको छ । नगर प्रमुख हरिजंग शाहीले सडक खुलेको एक दशक बित्दासमेत कालोपत्रे नहुँदा समस्या भएको बताए । उनका अनुसार सडक बन्द भएपछि रारा आउने पर्यटकहरू पनि बीच बाटोमै रोकिने बाध्य छन् । अहिले रारा आसपासको ताल्च, सल्लेरी, मिलिचौरलगायत ठाउँमा झन्डै ३ फिटसम्म हिउँ जमेको छ । ‘रारामा हिउँ खेल्न आउनेहरू पनि बाटैमा रोकिए,’ उनले भने, ‘जहाजको उडान नियमित छैन, अब त बिरामीलाई बाहिर पठाउन पनि समस्या भयो ।’
मुस्किलले ३ महिना चल्छ सडक
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–३ का रवीन्द्र बोहराले आनै गाउँ खदी सडक सञ्जालमा जोडिएपछि गाडी किने । घरसम्मै सडक पुगेपछि सकेसम्म बाह्रै महिना नभए ९ महिनासम्म गाउँलेलाई सेवा दिने र केही पैसा कमाउने बोहराको योजना योजनामै सीमित बनेको छ । सदरमुकाम खलंगा र नगरपालिकाको केन्द्र राडीबाट खदीसम्म जाने सडक नियमित नचल्दा बोहराले नियमित गाडी चलाउन पाएका छैनन् । वर्षायाममा हिलो र हिउँदयाममा हिउँले सडक सञ्चालनमा समस्या भएको हो । जसका कारण स्थानीयवासी मुस्किलले ३ महिना मात्रै यो सडकको उपयोग गर्छन् । गाउँदेखि सदरमुकामसम्म गाडी चलाउने धोको हिलो र हिउँले पूरा हुन नदिएको बोहराले गुनासो गरे । उनका अनुसार असारमा हिलो र वर्षाका कारण अवरुद्ध भएको सडक कात्तिकमा खुल्छ । मंसिर वा पुसबाट हिमपात हुने भएकाले सडकमा गाडी चलाउन समस्या भएको उनले बताए ।
बाँफिकोट गाउँपालिका–७ स्थित भम्पुदेखि आठबीसकोट नगरपालिका–३ खदी गाउँसम्म अहिले बाक्लो हिउँ जमेको छ । ठूलो जंगल भएकाले सडकमा परेको हिउँ सजिलै पग्लँदैन । यो सडकको विकल्प पनि खोजिएको छ तर वैकल्पिक सडक निर्माणको काम पूरा भएको छैन । आठबीसकोट–३ का वडाध्यक्ष केशरमान विकले माथिल्ला क्षेत्रका ३ वटै वडा जोड्न अरू दुई सडक निर्माणको काम भइरहेको बताए ।
जाजरकोटको नलगाड नगरपालिकाको रग्दा भएर ३ नम्बर वडाको पाटागाउँसम्मको सडक निर्माण थालिएको छ । ५० लाख रुपैयाँ बजेटबाट यो सडक भर्खर निर्माण थालिएको अध्यक्ष विकले बताए । त्यस्तै, नगरपालिकाको केन्द्र राडीदेखि १ नम्बर वडाको बारंगे सडक र राडी–दाँजे–खदी–बारंगे सडकको लागि पनि टेन्डर गर्न लागिएको हो । ६ करोड रुपैयाँ बजेटबाट निर्माण गरिने २ सडक बनेपछि हिमपात र बर्खार्मा पनि सडक सञ्चालन हुने उनले जानकारी दिए ।










