आगोमा जलेर एक महिनेको शिशुको मृत्यु, आमा घाइते

जाजरकोट ः ओछ्यानमा आगो सल्किएर एक महिने शिशुको मृत्यु भएको छ। शिशुलाई बचाउन खोज्दा आमाको दुवै हात जलेर घाइते भएकी छन्।
रुकुम पश्चिम चौरजहारी नगरपालिका–६ शान्तीबजार बस्ने रिमबहादुर रोकायको एक महिने छोराको मृत्यु भएको हो। शिशुलाई चुलोको नजिक सुताएर आमा बाहिर गएको बेला बच्चा सुतेको ओछ्यानमा आगो सल्केको बुझिएको छ।
प्रहरीले दिएको जानकारी अनुसार घाइते आमालाई उपचारको लागि मिसन अस्पताल चौरजहारी लगिएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय चौरजहारी रूकुम पश्चिमबाट प्रहरी टोली खटिएको छ।










