सेनाको पश्चिम हवाइ सेवा स्थापनापछि धेरैको ज्यान जोगियो

हेमन्त केसी
जाजरकोट / नेपाली सेनाको पश्चिम कमाण्डले सञ्चालन गरेको हवाइ सेवाले धेरै सर्वसाधारणको ज्यान बचाएको छ । विकेन्द्रीत संरचनामा गएको सेनाले पछिल्लो समय पश्चिम कमाण्ड अन्तरर्गत सुर्खेतको बीरेन्द्रनगरबाट हवाइ सेवा सुरु गरेपछि धेरैको ज्यान बचेको हो ।
कर्णाली , सुदुरपश्चिम तथा लम्विनीका दुइ जिम्मामा पश्चिम कमाण्डले काम गदै आएको छ । सुत्केरी तथा प्रकृतिक प्रकोप र विपदमा परेका सर्वसाधारणलाइ नेपाली सेनाको पश्चिम कमाण्ड अन्तरर्गतको हवाइ सेवा मार्फत उद्धार गरि सुविधा सम्पन्न ठाउँमा ल्याइ उपचारमा सहयोग गर्दै आएको छ । २०७६ भदौ १७ मा पश्चिम कमाण्ड अन्तरर्गत नेपाली सेनाले बीरेन्द्रनगरमा पश्चिम हवाइ सेवा स्थापना गरि उद्धार कार्यलाइ प्रभावकारी बनाउन सुरु गरेको थियो । सुरुमा काठमाडौँबाट हुने उडानहरु २०७६ भदौ १७ देखि सुर्खेतबाट नै तीनवटा प्रदेशमा हुँदै आएको छ ।

तीन वटा प्रदेशलाइ जोडेर सेनाले पश्चिम कमाण्ड स्थापना गरेको हो । लुम्विनीको बाँके , बर्दीया र सुदुरपश्चिम र कर्णालीको पुरै भागलाइ समेटेर पश्चिम एयर वेशबाट उडानका काम हुँदै आएको छ । उद्धारका लागि तीन वटा हेलिकोप्टर सहित उडान दलक समेत तयारी हालतमा राखिएको पश्चि कमाण्डका प्राविधिक प्रमुख सेनानी रचन श्रेष्ठले बताउनुभयो । यो वर्ष मात्र गर्भवती र सुत्केरीको मात्र हाल सम्मा ४८ जनाको उद्धार गरि सुविधा सम्पन्न ठाउँमा ल्याइएको छ ।
२७ वटा अन्य उद्धारका काम भएको पश्चिम हवाइ सेवा कार्यालयले बताएको छ । २०७७ मा ३४ गर्भवती र अन्य २३ र २०७६ मा ३५ गर्भवती र अन्य १९ जनाको उद्धार गरिएको प्रमुख सेनानी श्रेष्ठले बताउनुभयो । पश्चिममा एयर वेश स्थापना सँगै उद्धारमा छिटो ,छरितो भएको स्थानीयबासीले बताएका छन् । पश्चिम क्षेत्रमा सवारी दुर्घटना , बाढी पहिरो, हिउँ पहिरोमा परि घाइते भएकालाइ समेत सेनाले हेलिकोप्टरबाट उद्धार गर्दै आएको छ ।
त्यस्तै राहत वितरणमा समेत नेपाली सेनाले उडान भर्दै आएको छ । प्राकृतिक विपतीमा आफ्नै मेडिकल टिम खटाएर समेत सेनाले जनसेवा गर्दै आएको पश्चिम कमाण्डका मेजर जनरल प्रेम शाहीले बताउनुभयो । पश्चिम कमाण्डको एयर वेशलाइ अझैँ पुर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने यस क्षेत्रका सर्वसाधारणको माग रहेको छ । पश्चिम एयर वेशबाट सबै भन्दा बढी डोल्पा , हुम्ला , मुगु र जाजरकोटबाट गर्भवतीको उद्धार गरिएको छ ।

राष्ट्रपति महिला उद्धार कोष मार्फत सेनाले उक्त उद्धारका काम गर्दै आएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम आर्थिक वर्ष २०७५/ ७६ देखि सुरु भएको थियो । दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या सिर्जना भई ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गरी तोकिएको अस्पतालमा पुर्याउने काम सेनाले गर्दै आएको छ । सेनाले उद्धार गरि गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थामा ल्याएर ज्यान बचाउने गरेको छ ।
हवाई उद्दारका लागि कार्यविधि २०७५ साल कात्तिक ३० को मन्त्रीस्तरीय निर्णयबाट कार्यान्वयनमा ल्याइएको थियो । हवाई उद्धार गरी सुविधा सम्पन्न अस्पतालसम्म ल्याइएकी ज्यान जोखिममा परेकी महिलाको सुत्केरी पोषण स्याहार तथा यातायात सहयोगका लागि एकमुष्ट बीस हजारउपलब्ध गराउने व्यवस्था समेत रहेको छ ।
पुर्ण रुपमा हवाइ उद्धार हुने १८ जिल्लाहरुमा ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, मनाङ, मुस्ताङ, रुकुमपूर्व, रुकुम पश्चिम,जाजरकोट, डोल्पा, कालिकोट, मुगु, हुम्ला, बाजुरा, अछाम र दार्चुला रहेका छन् । त्यस्तै आंशिक रूपमा २९ जिल्लामा पनि उद्धार हुँदै आएको छ ।

डोल्पाको फोक्सुन्डो गाउँपालिकाका उपाध्यक्ष धावा सम्डुक गुरुङले हाम्रो जस्तो सञ्चारदेखि सडक सुविधा नभएको ठाउँमा यो कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताउनुभयो । उहाँले यो कार्यक्रम नभएको भए धेरै गर्भवतीको ज्यान सक्थ्यो भन्दै अझै प्रभावकारी बनाउनुपर्ने बताउनुभयो , “हाम्रो जस्तो आर्थिक अवस्था कमजोर भएको जिल्लामा सबैको पहुँचमा सञ्चार छैन, फोन गर्न एक दिन हिँडेर जानुपर्छ, जनप्रतिनिधिको सूचनाका आधारमा अहिलेसम्मका सुत्केरीको उद्धार भएको छ, त्यसैले यहाँका सबै नागरिकलाई समान रूपमा समेट्ने प्रयास यो कार्यक्रममार्फत गर्ने प्रयास गरेका छौँ ।”
के के आउछन् त उद्धार गर्दा समस्या ?
हेलिकोप्टरबाट उद्धार कार्य आफैँमा जटिल कार्य हो । हेलिकोप्टर अवतरण गर्ने ठाउँ , भुगोल र मौसम बारे जानकारी नहुँदा हरेक उडानमा समस्या हुँने गरेको छ । तोकिएको समय भन्दा बढी समय लाग्दा हवाइ यात्रामा धेरै पटक जटिलता आउने गरेको प्रमुख सेनानी श्रेष्ठले बताउनुभयो ।

अधिकांश ठाउँमा हेलिकोप्टर अवतरण गर्दा ठाउँ नै नभएको अवस्था हुने गरेको समेत उहाँले बताउनुभयो । छिनछिमकै मौसम परिवर्तन हुदा अर्को समस्या आउने गरेको छ । सूचना सही नपाउदा हैरान समेत खेप्नु परेको थुरै उदाहरण रहेको उहाँले बताउनुभयो । उडान गर्दा लामो समय हुँदा हेलिकोप्टरमा इन्धनको समस्य देखि हाइअल्टिच्युट हुने खतरा बढ्ने गरेको छ ।







