माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपा एकताको प्रयास, प्रचण्डको उत्तराधिकारी बन्लान् विप्लव ?

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुलाई भेट्न नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव ४ मंसिर २०७८ को बिहानै खुमलटार पुगे । भेटवार्ताको चाँजोपाँजो मिलाएका थिए, नेता कृष्णबहादुर महराले ।

झन्डै २ घण्टा लामो भेटघाटमा मूलतः तीनवटा विषयमा विमर्श भएको थियो । एक, वर्तमान राजनीतिक परिस्थिति । दुई, अमेरिकी सहयोग कार्यक्रम एमसीसी । तीन, पूर्वमाओवादीको एकता ।

प्रचण्डको सचिवालयले ४ मंसिर दिउँसो भेटको सूचना मात्र चुहाएन, पार्टी एकताबारे छलफल भएको सम्म भन्यो । विप्लवका साथै उनीनिकट नेताहरूले त्यो सूचनाको प्रतिवाद गरेनन् । त्यसको अर्थ पूर्वमाओवादीको एकताबारे विप्लव तुलनात्मक रूपमा सकारात्मक छन् भन्ने सन्देश दिन्थ्यो ।

त्यसलाई थप बल पुग्ने घटना भोलिपल्टै भइदियो । खुमलटारमा प्रचण्डसँग लामो संवाद गरेका विप्लव भोलिपल्टै अर्का नेता नारायणकाजी श्रेष्ठनिवास हरिसिद्धि पुगे । श्रेष्ठ र विप्लवले लामो समयपछिको भेटको आत्मीयता अँगालो मारेर दर्शाएका थिए । त्यसको पनि खुबै चर्चा भयो । त्यस भेटमा पनि पार्टी एकता र सहकार्यकै विषयमा संवाद भएको थियो ।

यद्यपि, यी दुवै भेटमा भएका छलफलले मूर्त रूप लिएको संकेत देखिइसकेको छैन । तर, एकताको वातावरण बनाउने प्रयासमा भने माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा लागिरहेका छन् । यी दुवै भेटको परिस्थिति पनि महराले नै बनाएका थिए ।

२८ कात्तिक २०७८ मा नेकपाका महासचिव विप्लवले माओवादी केन्द्रसँग एकता गर्न सकिने बताएका थिए । धनगढीमा आयोजित दलित मुक्ति मोर्चाको पाँचौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै विप्लवले एकताको सम्भावना रहेको उल्लेख गरेका थिए ।

यद्यपि, विप्लवको सर्त थियो( जनताको पक्षमा काम गर्न माओवादी केन्द्र तयार हुनुपर्छ । त्यस भेलामा विप्लवले भनेका थिए, ‘माओवादी केन्द्रसँग एकता सम्भव छ, हामी गर्ने नै हो तर त्यसका लागि जनताको पक्षमा काम गर्नुपर्छ । हामी पद, पैसा र कुर्सीको प्रलोभनमा परेर एकता गर्दैनौँ ।’

विप्लवले २८ कात्तिकमा धनगढीमा जे बोलेका थिए, त्यसको अघिल्लो दिन २७ कात्तिकमा काठमाडौंमा नेता धमेन्द्र बाँस्तोलाले माओवादी केन्द्रसँग एकताबारे छलफल नभएको बताएका थिए । त्यस दिन बाँस्तोलाले आउँदो निर्वाचनमा माओवादी केन्द्रको परिणाम राम्रो नआउने भएकाले माओवादी केन्द्रले मात्रै एकता चाहेको उल्लेख गरेका थिए ।

बरु, वैज्ञानिक समाजवादमा जानका लागि मात्रै नेपालमा बृहत् कम्युनिस्ट एकता हुन सक्ने बाँस्तोलाको तर्क थियो । बाँस्तोलाको तर्क आएकै भोलिपल्ट विप्लवले धनगढीमा बोलेपछि विप्लव नेतृत्वको नेकपाका नेताहरूले एकताको सन्दर्भमा केही बोलेका छैनन् ।

बरु, धनगढीमा विप्लवले त्यही सम्बोधनको हप्तादिनपछि प्रचण्डसँग खुमलटारमा भेटवार्ता भएको हो । त्योभन्दा अघि पनि प्रचण्ड र विप्लवबीच भेटवार्ता भएकै थिए । प्रचण्डकी श्रीमती सीता दाहालले विप्लवलाई भेटेर भावुक मुद्रामा टोलाएर हेरेको तस्वीरसमेत सार्वजनिक भएको थियो ।

त्यस दिनको भेटमा विप्लव सीतालाई ‘आमा’ भन्दै निकै भावुक रूपमा प्रस्तुत भएका थिए । प्रचण्ड र विप्लवको भावनात्मक एवं पारिवारिक सम्बन्ध दर्शाउन उक्त भेटपछि पनि यी नेताबीच दुईपटक भेट भयो र एकताको सन्दर्भमा छलफलले तीव्रता पाएको हो ।

माओवादी केन्द्रका नेताहरूको भनाइमा माओवादीको पुसको दोस्रो साता हुने राष्ट्रिय सम्मेलनले विप्लवसँगको एकताका लागि वातावरण बनाउनेछ । अर्थात् वैचारिक र राजनीतिक एजेण्डाहरू विप्लवको स्वीकारोक्ति हुनेगरी राष्ट्रिय सम्मेलनमा सम्बोधन गरिनेछ ।

माओवादी केन्द्रका एक नेताको दाबीमा विप्लवलाई महासचिवको हैसियतमा पार्टीमा भित्र्याउनेबारे शीर्ष तहमा अनौपचारिक छलफल भएको छ । त्यसको अर्थ प्रचण्डको उत्तराधिकारीको रूपमा विप्लवलाई अगाडि बढाउने गरी एकता हुने ती नेताले शिलापत्रसँगको संवादमा दाबी गरेका छन् । तर, माओवादी केन्द्रका नेताहरू जनार्दन शर्मा, वर्षमान पुनहरू विप्लवलाई स्वीकार गर्न तयार नहुँदा एकता प्रयास भंग हुन सक्ने आकलन पनि गरिएको छ ।

त्यसैले, एकताका लागि माओवादी केन्द्रभित्र अनौपचारिक संवादमा बढोत्तरी भए पनि त्यो संवाद दोस्रो तहमा झरिसकेको छैन । शीर्ष तहमा अनौपचारिक सहमति जुटेपछि दोस्रो तहका नेतामा झर्ने माओवादी केन्द्रका एक नेताको दाबी छ । दोस्रो तहका नेता शर्मासँग प्रचण्ड रुष्ट छन् । अर्का नेता वर्षमान पुन स्वास्थ्यका कारण चीनमा उपचारत छन् । त्यसैले पनि प्रचण्डले विप्लवसँगको संवादमा महरालाई मात्रै साथमा राखेका छन् ।

शर्मासँगको अन्तरद्वन्द्वका कारण हेमन्तप्रकाश ओलीले माओवादी केन्द्र छोड्न बाध्य भएका थिए । त्यसैले पनि अहिले शर्माकै कारण ओली पुनः माओवादी केन्द्रमा फर्किन्छन् कि फर्किंदैनन् भन्ने प्रश्न छ । यद्यपि, अघिल्लो साता मात्रै प्रचण्डनिवासमा प्रचण्ड र ओलीबीच भेटवार्ता भएको थियो ।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले पूर्वमाओवादीबीच एकताका लागि पहल भइरहेको तर अहिले नै परिणाम आइहाल्ने अवस्थामा नभएको बताए । शिलापत्रसँग कुरा गर्दै महराले भने, ‘माओवादीबाट फुटेका शक्तिहरूबीच एकता हुनुपर्छ भनेर छलफलहरू भइरहेका छन्, अहिले नै परिणाम आइहालेको छैन ।’ नेता महराले अनौपचारिक छलफलहरू भइरहेको बताए पनि धेरै खुल्न चाहेनन् ।

विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोला माओवादी केन्द्रसँगको एकता नकार्न नसकिने बताउँछन् ।  नेता बाँस्तोलाले एकता र सहकार्यका लागि छलफलहरू भएका छन् र कम्युनिस्ट मात्र होइन, समाजवादीहरूको एकतामा जोड दिनुपर्ने आफूहरूको प्रस्ताव रहेको उल्लेख गरे । बाँस्तोलाले भने, ‘अहिले प्रचण्डजीहरूलाई पूर्वमाओवादी मिल्यो भने चुनाव जितिन्छ भन्ने लागेको छ, हाम्रो प्रस्तावचाहिँ चुनाव जितेर केही हुँदैन । व्यवस्था फेर्न समाजवादीहरू एक होऔँ भनेका छौँ ।’





error: Content is protected !!