प्रधानमन्त्री देउवा आज बेलायत जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं ः प्रधानमन्त्री शेरबहादुर देउवा ग्लासगोमा आउँदो नोभेम्बर १–२ मा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप २६) पक्षहरूको २६औँ सम्मेलनको विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलायत प्रस्थान गर्ने भएका छन्।

देउवा नोभेम्बर १ (कात्तिक १५) मा कोप २६ को उद्घाटनमा सहभागी हुनेछन् र विश्वका नेताहरूको सम्मेलनमा सम्बोधन गर्नेछन्। साथै, प्रधानमन्त्री देउवाले राष्ट्र प्रमुखहरू र सरकार प्रमुखहरूसँग द्विपक्षीय साइडलाइन वार्ताहरू गर्नेछन्।

त्यसअघि, अक्टोबर ३० ९कात्तिक १३० मा प्रधानमन्त्री देउवा अल पार्टी पार्लियामेन्टरी ग्रुप फर नेपाल (एपीपीजी–एन) र यूके–नेपाल ट्रेड एन्ड इन्भेस्टमेन्ट फोरमले आयोजना गरेको स्वागत कार्यक्रममा उपस्थित भई सम्बोधन गर्नेछन्।

बेलायतमा रहँदा प्रधानमन्त्री देउवाले बेलायत–नेपाल समाज, गैरआवासीय नेपाली संघ र यूकेमा रहेका नेपालीहरूसँग भेटघाट गर्नेछन्। देउवा अक्टोबर ३१ ९कात्तिक १४०मा लन्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्। यस्तै, गोर्खा भेटेरान्स संगठनका सदस्यहरू, बेलायती सांसदहरू र नेपाली डायस्पोराका अरू सदस्यहरूसँग भेटघाट गर्नेछन्।

प्रधानमन्त्री देउवा नोभेम्बर १ (कात्तिक १५)को साँझ बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले राष्ट्र र सरकार प्रमुखहरूको स्वागतामा आयोजना गर्ने कार्यक्रममा उपस्थित हुनेछन्। नोभेम्बर २ मा बेलायती प्रधानमन्त्री जोन्सन र स्कटल्यान्डका फस्ट मिनिस्टरले आयोजना गर्ने ‘ब्रेकफास्ट रिसेप्सन’मा सहभागी हुनेछन्।​

नोभेम्बर ३ (कात्तिक १७) मा प्रधानमन्त्री देउवाले रोयल बोटनिक गार्डेन भ्रमण गर्ने कार्यसूची छ। त्यहाँ उनले उपस्थितहरूलाई सम्बोधन गर्नेछन्। प्रधानमन्त्री देउवाले नेपाली गार्डेनमा बिरुवा रोप्नेछन्।

नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्री देउवाको साथमा वन तथा वातावरणमन्त्री रामसहाय यादवसहित नेपाल सरकारका वरिष्ठ अधिकारीहरू हुनेछन्। नेपाली प्रतिनिधिमण्डल नोभेम्बर ३ (कात्तिक १७) मा यूकेबाट फर्कनेछ भने नोभम्बर ४ (कात्तिक १८) मा नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

कोप २६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म स्कटल्यान्डको ग्लासगोमा हुँदै छ।





error: Content is protected !!