हिमाली जिल्लातिर पनि देखिन थाल्यो कालाजार, बालबालिका बढी जोखिममा

काठमाडौं ः कालाजार रोग उच्च पहाडी र हिमाली भेगमा देखिन थालेसँगै बालबालिकामा बढी देखिन थालेको छ। तराईमा युवा र प्रौढ उमेरका व्यक्तिमा बढी देखिएको कालाजार उकालो लागेसँगै बालबालिकामा बढी देखिन थालेपछि यसको अनुसन्धान हुनुपर्नेमा जोड दिन थालिएको छ।
सन् २०२० मा देखिएका २१५ कालाजारका बिरामीमध्ये अधिकाशं बालबालिका रहेको बताइएको छ। उच्च भेगका बालबालिकामा कालाजार देखिने क्रम बढ्दै गएपछि अनुसन्धान त्यतातिर गर्नुपर्नेमा जोड दिइएको हो।
नेपालमा पहिलो पटक सन् १९६० मा कालाजार रोग भेटिएको रिर्पोट भएको थियो। सुरुवाती दिनमा पर्सा, बारा, रौतहट, सर्लाही, मोहत्तरी, धनुषा, सिरहा, उदयपुर, सप्तरी, सुनसरी, मोरङ र झापा गरी १२ वटा जिल्लामा कालाजारका बिरामी देखिएका थिए। पछिल्लो समय यी जिल्लामा बिरामीको संख्या कम हुँदै गएको छ भने पहाडी र हिमाली जिल्लामा बिरामी देखिन थालेका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ओखलढुंगा, कालिकोट, सुर्खेत, डडेलधुरा र पाल्पा उच्च संख्यामा कालाजारका बिरामी देखिएका प्रमुख पाँच जिल्ला हुन्।
सन् २०२० को तथ्यांक अनुसार देशभर २१५ कालाजारका बिरामी भेटिएका थिए। प्रदेशगत रुपमा सबैभन्दा धेरै कर्णाली प्रदेशमा ५१ जना, सुदूरपश्चिम प्रदेशमा ४९ जना, प्रदेश १ मा ४३ जना, लुम्बिनी प्रदेशमा २९ जना, बागमती प्रदेशमा २० जना, प्रदेश २ मा १३ र गण्डकी प्रदेशमा ९ जनामा कालाजार पुष्टि भएको थियो। एक जना विदेशीमा पनि २०२० कालाजार पत्ता लागेको थियो। जसमध्ये ओखलढुंगामा २९, कालिकोटमा २६, सुर्खेतमा १०, डडेलधुरामा ९ र पाल्पामा ९ जना कालाजारका बिरामी रिर्पोट भएका थिए।
पछिल्ला दिनमा बिरामीको संख्या घट्दै गएपनि उच्च भेगमा कालाजारका बिरामी भेटिनुले सरकारले राखेको २०३० मा कालाजार उन्मुलनको लक्ष्य पुरा हुन चुनौति देखिन्छ।
नेपालमा पछिल्लो २० वर्षको तथ्यांक हेर्दा कालाजार कम हुँदै गएको देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलले सन् २०२० मा ४९ जिल्लामा कमसेकम एक जना कालाजारका बिरामी भेटिएको बताए। उनका अनुसार २०२० बागलुङ र तनहुँ कालाजारका नयाँ बिरामी भेटिने नयाँ जिल्ला थिए भने कालिकोट र ओखलढुंगामा कालाजारको ‘आउटब्रे’ भएको थियो।
यसैबिच, कालाजार रोग निवारणमा अनुसन्धानको योगदान विषयक पाँच दिने कार्याशाला गोष्ठि आयोजना गरिएको छ। भोलिसम्म चल्ने उक्त कार्यशालामा इन्टोमोलोजि र भेक्टर कन्ट्रोल, उपचार र नीतिगत तहमा कालाजार विषयमा छलफल भइरहेको छ।
गोष्ठिमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले पछिल्लो समय जलवायु परिवर्तनका कारण उच्च पहाडी र हिमाली भेगमा तापक्रम बढ्दै जाँदा कीटजन्य रोग पनि देखिन थालेको बताए। उनले पछिल्लो समय उच्च भेगमा कीटजन्य रोग बढेपछि त्यसको नियमित रिर्पोटिङ भने नभएको जानकारी दिए।
उनले कतिपय अनुसन्धानहरु हुने तर त्यसको डकुमेन्टटेसन नहुने समस्या औँल्याए। २००५ मा नेपाल, भारत र बंगलादेशबिच कालाजार निवारणका लागि त्रिदेशीय सम्झौता भएको थियो। उक्त सम्झौतापछि जेनेभास्थित विश्व स्वास्थ्य संगठनको ‘स्पेसियल प्रोगाम फर रिर्सच एन्ड ट्रेनिङ इन ट्रपिकल डिजिजेज’ को सहयोगमा कालाजारलाई कसरी निवारण गर्न के के अनुसन्धान हुनुपर्छ, ती अनुसन्धानलाई नीति र रणनीतिमा राख्यो भने निवारण कार्यक्रम सफल हुन्छ भनेर तीनै देशका अनुसन्धानकर्ताहरु मिलेर अनुसन्धान समेत हुँदै आएको छ।
नेपालका तर्फबाट उक्त अनुसन्धानमा संलग्न त्रिभुवन विश्वविद्यालयको माइक्रोबायोलोजी विभागका सहप्रध्यापक डा मेघराज बञ्जाराले कालाजारको डायग्नोस्टिक टेष्ट के हुनुपर्छ, उपचारमा चाहिने औषधि केके हुनुपर्छ भनेर अनुसन्धान पछि संशोधन गर्दै आएको बताए।
उनले पछिल्लो समय उच्च क्षेत्रमा बालबालिकामा किन कालाजारको बढी देखिन थालेको छ भन्नेबारे अनुसन्धान गर्नेबारे छलफल भइरहेको जानकारी दिए। ‘कालाजार निवारण गर्ने भने एक्टीभ केस डिटेक्ट गर्नुपर्छ। स्वास्थ्य संस्थामा आएका मात्र नभई समुदायमा भएको लक्षण बिहिन केस पनि सर्च गर्ने र उपचार गर्नुपर्ने हुन्छ। नत्र ती केसले रोग सारिरहेका हुन्छन्,’ उनले भने।
अहिले केस घटिरहेको अवस्थामा कालाजारको मात्र बिरामी खोजेर खर्चिलो हुने भएका सँगसँगै अन्य कीटजन्य रोग समेत राखेर एकीकृत रुपमा अनुसन्धान गर्नुपर्नेमा उनले जोड दिए।
हरेक वर्ष तिनै देशका अनुसन्धानकर्ताहरुको बैठक बसी आगामी कार्यक्रम र अहिलेसम्मको अवस्थाबारे छलफल हुने गरेको छ। कोभिडका कारण अघिल्लो वर्ष बैठक बस्न सकेको थिएन। यसपटक बस्ने तयारी भइरहेको डा बन्जाराले जानकारी दिए।
कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका प्रमुख डा यदुचन्द्र घिमिरे सरकारी स्तरमा कीटजन्यरोग विशेषज्ञ नभएकाले यसतर्फ ध्यान दिनुपर्ने बताए।
नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा राजेश सामाबाजिराव पाण्डवले नेपाल, भारत, बंगलादेशसँग भुटान र थाइल्याण्ड पनि कालाजार रोग नियन्त्रणको क्षेत्रीय प्रयासमा रहेको बताए।
उनले पछिल्लो समय जिल्लाहरुमा कालाजारका बिरामी देखा पर्न थालेको र कालाजार आउटब्रेक भइरहेकोले यसले कालाजार निवारणमा चिन्ता थपेको बताए।
उनले भने,‘कालाजार रोग पछिल्लो समय पहाडी र हिमाली जिल्लामा बढिरहेको छ। उपचार भएका बिरामीमा पनि फेरि रोग देखिन थालेको छ। कालाजारको रुपमा अन्य रुपमा जस्तै छालाका कालाजार धेरै देखिनुले यो रोगमा अनुसन्धानका लागि पर्याप्त क्षेत्रहरु रहेका छन्।’
इपिडिमिलोलोजि तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा बाबुराम मरासिनीले नेपालमा भेक्टर बर्न सर्वे गर्न अत्यावश्यक भएको बताए। उनले नेपालमै रहेका र बाहिरबाट आएका व्यक्तिसँगै आएको रोगबारे पनि अनुसन्धान हुन जरुरी रहेको जानकारी दिए।










