बयानकै आधारमा धमाधम लागुऔषध कारोबारी पक्राउ हुँदै

जाजरकोट – लागु औषध कारोरावरमा संलग्न पक्राउ परेकाहरुको आधारमा अन्य कारोबारी पक्राउ पर्ने क्रम बढेको छ । आज विहान पक्राउ परेकाहरुको बयानकै आधारमा भेरी नगरपालिका– ४ निवासी २६ बर्षका शान्तबहादुर विक र बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका –१० स्थायी ठेगाना भई हाल जाजरकोट खलंगामा बस्ने २० बर्षका रमन सिंह पक्राउ परेका हुन् । यस अघि चार जना पक्राउ भैसकेका छन् ।
गत साउन २५ गते लुकाइछिपाई अवैध लागु औषध चरेस लिन थालेका एक भारतीय सहित दुई जनालाई जाजरकोट प्रहरीले पक्राउ गरेको थियो । भारतको प्रभुद्ध नगर नेशनल मार्केट निवासी ३१ बर्षीय मूताविन अहमद र बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका ११ का २० बर्षीय उबेद खानलाई जिल्ला सदरमुकाम स्थित शान्तिचौतारा बसपार्कबाट एक केजी चरेस सहित पक्राउ गरिएको थियो ।
उनीहरुकै बयानका आधारमा चरेस ओसारपसारमा संलग्न भएको आरोपमा भेरी नगरपालिका –२ डिगा निवासी ५० बर्षीय चक्रबहादुर थापा र भेरी नगरपालिका ४ निवासी विजय भारतीलाई प्रहरीले गत भाद्र २ गते पक्राउ गरिएको थियो । यस अघि पक्राउ गरिएकाहरुको बयानका आधारमा थप मानिस पक्राउ हुने क्रम जारी रहेको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए ।










