पुरानै शैलीमा पुनः निर्माण हुदै ‘ऐतिहासिक लक्ष्मीनारायण धर्मशाला’

–सुशीला रेग्मी
रामपुर (पाल्पा), ७ भदौ ः कालीगण्डकीवेशीकै धार्मिक महत्वका रुपमा रहेको पाल्पा रामपुरको ऐतिहासिक लक्ष्मीनारायण धर्मशाला (गुठी) लाई पुरानै शैलीमा पुनः निर्माण गरिदैछ ।
विसं २०७२ को भुकम्पले भवनमा क्षति पुगेपछि संरचना नै कमजोर बन्दै जादा ईतिहास बोकेको धर्मशाला बेवारिसे जस्तै बन्यो । ढिलै भएपनि अहिले पुरानै शैलीमै धर्मशाला पुनः निर्माणको काम अगाडी बढाएपछि यहाँका स्थानीयवासी उत्साहित बनेका छन् ।
आजभन्दा दुई शताब्दि अगाडी तत्कालिन समयमा बाटो हिड्दा बसोबास गर्ने बटुवाका लागि बास बस्ने धर्मशालाका रुपमा प्रयोजनका निम्ति गुठी बनाइएको हो । तत्कालिन समयमा टाढा टाढा गन्तव्यस्थल सम्म पुग्ने बटुवाले यहीँ धर्मशालामा आएर बास बसेर भोलिपल्ट आफ्नो निश्चित गन्तव्यतर्फ लाग्दथे ।
पछिल्ला वर्षमा सडक सुबिधा, घर वस्ती बढेसंगै यस धर्मशाला प्रयोगबिहिन भएपछि संरक्षणमा कुनै पनि निकायको ध्यान जान सकेन । ०७२ को विनाशकारी भुकम्पले समेत असर पारेपछि अलपत्र अवस्थामा रह्यो ।
झण्डै दुई शताब्दि ईतिहास बोकेको यस धर्मशालालाई पुनः निर्माणमा स्थानीय सरकारको तर्फबाट पनि कुनै काम भने हुन सकेन । धर्मशाला जिर्णो भई पुनः निर्माण नहुदा पुरानै स्वरुप झल्कने गरी धर्मशाला निर्माण गर्न स्थानीयवासीले पटक–पटक आवाज उठाउदै आइरहेका थिए ।
लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाको स्वामित्वमा धर्मशाला (गुठी) को रुपमा सञ्चालन हुदै आइरहेको थियो । पूर्ण जिर्णोद्धार गर्न नेपाल सरकार पुरातात्विक विभागको् बिशेष पहलमा पुनः निर्माण प्राधिकरणको करिव रु दुई करोड ७१ लख ४६ हजार ५५८ वजेट लागतमा पुन ः निर्माण कार्य अहिले अगाडी बढेको छ ।
यस धर्मशाला रामपुर नगरपालिका वडा नं ४ खोप्टार स्थित राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर आडैमा पर्दछ ।
करिडोरको मापदण्ड बाटोको बीच भागबाट २१ मिटर भएकाले पार्टी भवन रहेकै भवनको पूर्वपट्टीको जगलाई छोएर त्यसको पछाडी पट्टी बनाउन यहाँका स्थानीय सरकार, राजनैतिक दल, सामाजिक व्यक्तिले सर्वसहमतीमा निर्णय गरेपछि काम थालनी गरिएको लक्ष्मीनारायण गुठी सञ्चालन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मी बताउनुहुन्छ ।
गुठीको नाममा रहेको जग्गा भोगचलन गर्ने मोहीहरुले गुठीलाई बुझाउनुपर्ने उत्पादन नबुझाउदा पनि यसले समयमा नै निकास पाउन नसकेको उहाँले बताउनुभयो ।
“गुठीको नाममा रहेको जग्गा भोगचलन गर्ने व्यक्तिले गुठीको स्याहार संरक्षण गर्ने गरी परम्परा देखि नै सम्झौता बमोजिम भोगचलन भएपनि पछिल्लो समय मोहीवालाले कर वापतको रकम, अन्नपात नबुझाउँदा गुठी संरक्षणमा समस्या परेपछि वेवारिसे जस्तै बन्यो” उहाँले भन्नुभयो ।
पुरानो धर्मशाला भुईतला सहित तीनतले छ कोठा, दायाँ र बायाँ एक÷एक वटा बालापाली थियो भने, छानो झिघटीले छाइएको थियो । सोही स्वरुपमा नै निर्माण हुने नयाँ धर्मशालाको छानो भने जस्तापाताको रहनेछ । अरु पुरानै स्वरुप यथावत रहनेछ । यसै आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडी बढाइएको छ ।
पौराणिक समयमा धार्मिक तीर्थस्थलका नामले परिचित रामपुरको लक्ष्मीनारायण धर्मशाला (गुठी) तत्कालिन समयमा राजदरबारकै रुपमा लिने गरिन्थ्यो ।
वि सं १८७९ मा साविक रामपुर गाविस वडा नं ८ बस्ने समाजसेवी तुल्सीराम रेग्मीले गुठी निर्माण गर्नुभएको हो । यहाँ तत्कालिन समयमा यस क्षेत्रमा भित्रिने बिशिष्ट व्यक्तिको स्वागत, बसोबास र धर्मशालाका रुपमा गुठी निर्माण गरिएको हो ।
धर्मशाला संगै त्यस आसपासमा लक्ष्मीनारायण गुठी सञ्चालन समितिको नाममा झण्डै १० रोपनी जग्गा रहेको छ । रेग्मी परिवारका सदस्यबाट मात्रै सञ्चालन हुदै आएको यस लक्ष्मीनारायण गुठी समुदायलाई हस्तान्तरण गरेपछि पनि पछिल्ला वर्षमा संरक्षण बिहिन हुन पुगेको हो ।
तत्कालिन समयमा यस धर्मशाला कालीगण्डकी वेशीकै धार्मिक धरोहरका रुपमा निकै चासोको रुपमा लिने गरेको लक्ष्मीनारायण गुठी सञ्चालन समितिका सदस्य मिनराज रेग्मी बताउनुहुन्छ ।
यस गुठीमा पहिले टाढा टाढाका दिनमा ३० जना भन्दा बढी यहाँ बास बस्ने गरेको बुढापाका बताउँछन् । देशका ठुला ठुला शहर, भारतीय मुलुकमा जागिर, अध्ययन, कुनै काम बिशेषले जानेले यहीँ बाटोको प्रयोग गर्ने र रात परेपछि यहीँ बाँस बस्ने गरी मुख्य केन्द्रका रुपमा यात्रा तय गर्दथे ।
बटौली (हालको बुटवल) बजारमा सामान लिन जानेहरु यहीँ बास बसेर आउने जाने गरेको बुढापाकाले सुनाउने गरेको रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य बताउनुहुन्छ ।
यहाँ बाटो हिड्ने बटुवाका लागि खाने, बस्नेको राम्रो प्रबन्ध गरिएकाले पनि धेरैले यहीँ बास बस्ने र अर्को दिन अन्यत्र यात्रा तय गरी आफ्नो गन्तव्यमा अगाडी बढ्दथे ।
अब भने ऐतिहासिक लक्ष्मीनारायण धर्मशाल पुनः निर्माण भएपछि रामपुरको सांस्कृतिक तथा पर्यटन विकासमा यसले थप ईट्टा थप्ने रामपुर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष एकबहादुर नेपाली बताउनुहुन्छ ।