अपडेट छैनन् सरकारी कार्यालयका वेबसाइट, सूचना अधिकारी बेकामे

सुर्खेत, स्थानीयतहले जनतालाई सुहाउँदो सेवा दिन र प्रविधिमैत्री सरकार सञ्चालन गर्न भन्दै वेबसाइट बनाएका छन् । तथापि, अधिकांश स्थानीय तहहरूले आफ्नो सबै विवरण वेबसाइटमा राखेको देखिँदैन ।

आफ्ना गतिविधिलाई पारदर्शी, सेवामूलक र जानकारीमूलक बनाउन सबै सामग्री अपडेट गर्ने लक्ष्यका साथ स्थानीय तहमा सूचना अधिकारीको समेत व्यवस्था गरिएको छ । उनीहरुले न त इमेलको जवाफ पठाउँछन्, न त वेवसाइट नै अपडेट गर्दछन् ।

दैलेख जिल्लाका अधिकांश स्थानीयले विभिन्न प्रतिवेदन, विद्युतीय सुशासन र सूचना तथा जानकारीमूलक विवरण उल्लेख गरेका छैनन् । कतिपय स्थानीय तहले आफ्नो वेबसाइटमा निर्वाचित जनप्रतिधिको विवरण र बोलपत्र आह्वान गरेको विज्ञापन मात्र राखेका छन् ।

प्रत्येक सरकारी कार्यालयका आ–आफ्नै वेबसाइट छन् । त्यस्ता अनलाइनबाट आमनागरिलाई सूचना प्रदान गर्नेपर्ने सरकारी मान्यता छ । आफूले गरेका काम कारबाहीको सूचना आमनागरिकलाई दिनु कार्यालयको कर्तव्य भएपनि अहिले धेरैजसो कार्यालयका अनलाइन बन्द भएका छन् त कतिका अनलाइन वर्षौँसम्म अपडेट भएका छैनन् ।

दैलेखमा ११ वटा स्थानीय तहका वेबसाइट सँगै जिल्लामा रहेका सरकारी कार्यालय मध्ये करिब ७० प्रतिशत वेबसाइट समयमै अपडेट हुँदैनन् । अपडेट भए भने एक साताभन्दा पछि मात्र हुन्छन् । प्रत्येक कार्यालयमा एकजना सूचना अधिकारी रहने व्यवस्था छ । प्रत्येक स्थानीय तहमा आइटी अफिसर छन् । छुट्टा छुट्टै कम्प्युटर अपरेटर छन् । उनीहरुलाई नै कार्यालयका गतिविधि थाहा हुँदैन ।

कुनै सूचना माग गर्दा वा सूचना अधिकारीलाई फोन गर्दा कार्यालय प्रमुखलाई फोन गर्ने अनुरोध गर्छन् । मंगलबार कोष तथा लेखा नियन्त्रण कार्यालय दैलेखका सूचना अधिकारी प्रकाश खड्कालाई फोन गर्दा फोन रुकुम गयो । फोन रुकुम पुग्नको कारण थियो, उनी दैलेखबाट सरुवा भएको पाँच महिना भइसकेछ ।

तर, कोष तथा लेखा नियन्त्रण कार्यालय दैलेखमा अहिलेसम्म सूचना अधिकारीको नाममा खड्काकै उल्लेख छ । उनी सरुवा भएपछि सूचना अधिकारी लेखापाल लक्ष्मीप्रसाद उपाध्यायलाई दिएको भएपनि कार्यालयको वेबसाइट अपडेट भएको छैन । जिल्लामा बेरुजु तथा बजेट फ्रिजकाबारेमा सूचना लिन कार्यालयको वेबसाइट हेर्ने नागरिकले कार्यालयको अनलाइन नाम मात्रको भएको गुनासो गरेका छन् ।

वेबसाइटमा ‘नतिजामुखी प्रशासन, समृद्धि र सुशासन’ भन्ने नारा राखिएको छ । तर, यो नारा केवल नारामै सीमित छ । वेबसाइटमा सरकारी लोगोसमेत पुरानै देखिन्छ ।

नयाँ लोगो आएपछि सबै सरकारी कार्यालयका साइटमा नयाँ राख्नुपर्ने निर्देशन सरकारले गरे पनि यस कार्यालयमा भने पुरानै लोगो यथावत देखिन्छ । वेबसाइटकाबारेमा बुझ्दा कोष तथा लेखा नियन्त्रण कार्यालय दैलेखका कार्यालय प्रमुख कोष नियन्त्रक हर्कबहादुर शाहीले साइटकाबारेमा राम्रो ज्ञान भएका प्राविधिक नभएकाले अनलाइन अपडेट गर्ने नसकिएको स्वीकारे ।




सम्बन्धित समाचार


error: Content is protected !!