सिटामोलसमेत पाइँदैन हुम्लाका स्वास्थ्यचौकीमा

हुम्ला – हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाका अधिकांश वडामा रहेका स्वास्थ्यचौकीमा सिटामोल अभाव देखिएको छ । स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नियमित रहे पनि सिटामोललगायत अन्य अधिकांश औषधि भने नपाइएको स्थानीयले गुनासो गरेका छन् ।
सामान्य बिरामीले सिटामोलसमेत नपाउँदा गाउँघरको स्थानीय सरकारप्रति असन्तुष्टि जनाउँदै आएका छन् । सर्केगाडका वडा नम्बर १ देखि ८ सम्मका अधिकांश स्वास्थ्य संस्थामा औषधि अभाव रहेको स्थानीयले गुनासो गरेका छन् ।
किर्डाक नेपालले गाउँपालिकाका सबै वडामा सञ्चालन गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले आवश्यक परेको बेलामा कुनै पनि औषधि नपाएको गुनासो व्यापक रुपमा आउन थालेको बताइएको छ ।
‘अस्पाताल ९स्वास्थ्य चौकी०मा गए पनि सिटामोल नै छैन भनेपछि रित्तो हात फर्कनु परेको छ’, एसर्केगाड गाउँपालिका–२ का एक बिरामीले भने, ‘गाउँमा सिंहदरबार आयो भनेको त सबैभन्दा वेथिति त स्वास्थ्य र शिक्षा क्षेत्रमा मौलाएको छ ।’
स्थानीय नागरिक, जनप्रतिनिधि र सञ्चारकर्मीको संयुक्त रुपमा गरिएको अनुगमनका क्रममा समेत स्थानीय स्वास्थ्य संस्थामा आधारभूत औषधि नभएको पाइएको छ । सरकाले स्वास्थ्य संस्थामा ४२ किसिमका औषधि निःशुल्क रुपमा दिने भनिए पनि यस गाउँपालिकाका आठ वडामध्ये अधिकांशमा आधारभूत औषधिसमेत नभएको पाइएको छ ।










